दूधको मूल्य बढाउन अध्ययन गरिँदै «

दूधको मूल्य बढाउन अध्ययन गरिँदै

राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य बढाउन अध्ययन अघि बढाएको छ । किसानलाई प्रतिलिटर दूधको लागत मूल्य कति पर्छ भनेर बोर्डले अध्ययन गरिरहेको हो ।
बोर्डका अनुसार मुलुकभरका किसान र उद्योगबारे अध्ययन भइरहेको छ । सरकारले प्रशोधित दूधको मूल्य बढाउने तयारी गरेको छ । किसानको लागत मूल्य बढ्दै गएको र लामो समयसम्म मूल्य नबढेकाले दूधको मूल्य बढाउने गरी प्रारम्भिक छलफल छ । किसान, उद्योगीको मागअनुसार मूल्य बढाउने तयारी गरिएको हो ।
बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले दूधको मूल्य बढाउनका लागि किसानको लागत कति पर्छ भनेर अध्ययन भइरहेको जानकारी दिए । “किसान र उद्योगसँग अध्ययन गरिरहेका छौं,” उनले भने, “किसानको लागत मूल्यको आधारमा मूल्य बढाउनका लागि सिफारिस गर्छौं ।”
सरोकारवाला निकायसँग मूल्य बढाउने विषयमा प्रारम्भिकरुपमा छलफल गरेको जानकारी दिएको छ । बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले दूधको मूल्य बढाउने गरी प्रारम्भिक रुपमा छलफल भएको जानकारी दिए । दुग्ध उत्पादक, किसान, उद्योग र विज्ञहरूसँग यस विषयमा छलफल भएको बोर्डको सिफारिसमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले दूधको मूल्य निर्धारण गर्ने गर्छ । दाना, चोकर, डिजेलको मूल्य बढेकाले दूधको मूल्य बढाउन किसान र उद्योगबाट प्रस्ताव आएको बोर्डको भनाइ छ ।
बोर्ड, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ, नेपाल डेरी एसोसिएसन, नेपाल डेरी उद्योग संघ, दुग्ध विकास संस्थान (डीडीसी)को सिफारिसमा दूधको मूल्य प्रस्ताव गरिन्छ ।
डीडीसीका महाप्रबन्धक रुद्र पौडेलले प्रतिलिटरमा ६ देखि १० रुपैयाँ मूल्य बढाउने गरी छलफल भइरहेको जानकारी दिए । पछिल्लो समयमा दाना, चोकरको मूल्य वृद्धि भएको, बन्दाबन्दीका कारण किसानलाई दूधको बजार नपाएर घाटा बेहोर्न बाध्य भएको र दूधको लागत खर्च निक्कै महँगिएर धान्नै नसक्ने अवस्था आइपुगेको भन्दै केन्द्रीय दुग्ध उत्पादक सहकारी संघले पछिल्लो समयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मूल्य वृद्धिको पैरवी गर्दै आएको छ । सबै वस्तुको मूल्य वृद्धि भए पनि पछिल्लो तीन वर्षदेखि दूधको मूल्य समायोजन भएको थिएन । किसानले प्रतिलिटरमा १० रुपैयाँसम्म वृद्धि गर्न माग गर्दै आएका छन् ।
सरकारी नियमअनुसार दूधको मूल्य वृद्धि हुँदा वृद्धि हुने रकमबाट ६९ प्रतिशत किसानलाई र बाँकी ३१ प्रतिशत उद्योगलाई जाने व्यवस्था छ । नेपालमा वार्षिक २४ लाख मेट्रिक टन दूधको उत्पादन हुन्छ । यसमध्ये औपचारिक क्षेत्रमा १५ देखि १७ प्रतिशत मात्रै दूध आउँछ । बाँकी स्थानीय तहमै खपत हुने गर्छ । पहुँच मार्ग र ढुवानी साधनको अभावका कारण उत्पादित दूध बजारमा आउन सकेको छैन । अहिले किसानले प्रतिलिटर दूधमा ५५ देखि ६० रुपैयाँ पाउने गर्छ । बजारमा उपभोक्ता मूल्य भने प्रतिलिटर ८० रुपैयाँ छ ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार प्रतिव्यक्ति प्रतिवर्ष ९१ लिटर आवश्यक पर्नेमा हाल ७९ लिटर उपलब्धता छ । अझै दूधको उत्पादन बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्