क्यान इन्फोटेकको तयारी पूरा

फेडरेसन अफ कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान महासंघ) ले बिहीबारदेखि सञ्चालन गर्ने २४ औं क्यान इन्फोटेकको तयारी पूरा भएको जनाएको छ । महासंघले आइतबार पत्रकार सम्मेलन गरी ६ दिनसम्म चल्ने सुबिसु क्यान इन्फोटेक २०१८ को तयारी पूरा भएको जनाएको हो । एकै स्थानबाट सूचना तथा प्रविधिको अवलोकन गराउने उद्देश्यले महासंघले मेला गर्दै आएको छ । महासंघले यस सस्करणको अफिसियल नाम ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एसोसिएसन विथ मोटोरेला’ दिइएको छ ।
महासंघका अध्यक्ष हेमन्त चौरसियाले आम जनतामा नयाँ नयाँ प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले मेला अयोजना गर्ने गरिएको बताए । उनले मेलामा सहभागी भई पछिल्ला प्रविधि र सूचना तथा सञ्चारका बारेमा जानकारी लिन आग्रह गरेका छन् । यस वर्ष सुबिसुले इन्फोटकमा क्लियर टिभी, इन्टरनेट र सुपर कम्बो अफर ल्याउने भएको हो । सरकारले डिजिटल टीभी प्रणाली लागु गरेकाले सुबिसुले ग्राहकहरूलाई निःशुल्क क्लियर टिभी र सेट अप बक्ससहितको अफर ल्याउने भएको हो । महासंघका अनुसार सूचना तथा प्रविधिको क्षेत्रमा भएका विकास तथा नयाँ प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले गर्न लागिएको इन्फोटेकमा २ सय २२ वटा स्टल रहनेछन् । हार्डवेयर सेल्स, मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसरिज, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, सफ्टवेयर सोलुसन्ससँग सम्बन्धित सबै स्टल बुकिङ भइसकेको महासंघले जनाएको छ ।
महासंघका महासचिव रन्जित कुमार पोदारले इन्फोटेक अवलोकनका लागि अनलाइनबाट टिकट बुकिङ गर्नेहरूलाई २० प्रतिशत छुट हुने जानकारी दिए । इन्फोटेक अवलोकनका लािग सर्वसाधारणका लागि टिकट दर एक सय रुपैयाँ, विद्यार्थीका लागि ५० रुपैयाँ तय गरिएको छ । सरकारी विद्यालयबाट अग्रिम लिखित अनुरोधसहितको नामावली आएमा सम्बन्धित विद्यार्थीहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । हालसम्म मुख्य प्रदर्शन हलभित्र र बाहिर शत प्रतिशत स्टल बुकिङ भइसकेका छन् । माघ १४ गते आइतबारको दिनलाई विजनेस डे घोषणा गरिएको छ ।(रिना खत्री)