उखुको मूल्य प्रतिक्विन्टल ६ सय तोक्न उत्पादकको माग

सरकारले उखुको मूल्य अर्काे साता निर्धारण गर्ने भएको छ । उखुको क्रसिङ सिजन नजिकिएकाले यस वर्षको उखुको बिक्री मूल्य तोक्न सरोकारवाला निकायसँग छलफल भइसकेकाले आउँदो साता मूल्य निर्धारण गर्न लागिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ ।
वैज्ञानिक र व्यावहारिक ढंगले उखुको मूल्य निर्धारण गरिने मन्त्रालयले बताएको छ । प्रत्येक वर्ष सरकारले उखुको समर्थन मूल्य निर्धारण गर्दै आएको छ । यस वर्षको उखुको मूल्य तोक्न उखुको पकेट क्षेत्र मानिने तराईका १० जिल्लामा गएर स्थलगत अध्ययन गरिएको छ । प्रत्येक जिल्लाबाट ३० भन्दा बढी अध्ययन नमुना संकलन गरिएको मन्त्रालयले जनाएको छ ।
गत वर्ष सरकारले उखुको प्रतिक्विन्टल न्यूनतम मूल्य ५ सय ४४ रुपैयाँ ३३ पैसा तोकेको थियो । उखुको मूल्य ३ सय ८६ रुपैयाँ १६ पैसा, ढुवानी खर्च र मुनाफा ९२ रुपैयाँ ८९ पैसा र सरकारले प्रतिक्विन्टल अनुदान ६५ रुपैयाँ २८ पैसा थियो । गत वर्ष अघिल्लो वर्षको तुलनामा क्विन्टलमा जम्मा ८ रुपैयाँ मूल्य बढेको थियो । यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल ६ सय रुपैयाँभन्दा बढी हुनुपर्ने नेपाल उखु उत्पादक महासंघको माग छ । मन्त्रालयले भने किसानको लागत मूल्यअनुसार उखुको मूल्य निर्धारण गरिने बताएको छ ।
मन्त्रालयले मूल्य तय गरेर वाणिज्य मन्त्रालयमा पेस गर्ने र मन्त्रालयबाट मन्त्रिपरिषद्मा पेस गरेर निर्णय गरेपछि उखुको मूल्य लागू गर्ने गरिएको छ । अध्यययन प्रतिवेदनको आधारमा उखुको मूल्य बढाएर तोक्नका लागि प्रस्ताव गरिने मन्त्रालयले जानकारी दिएको छ ।
यो वर्ष उत्पादन लागत निकै बढेको भन्दै महासंघका अध्यक्ष कपिलमणि मैनालीले ६ सय रुपैयाँ बढी मूल्य तोकिनुपर्ने बताए । लागत मूल्य बढेकाले उखुको मूल्य बढ्नुपर्ने उनको भनाइ छ । किसानले उखुको मूल्य समयमा नपाउँदा व्यवसाय नै छाडेर जाने गरेको बताउँदै उनले लागतअनुसार सरकारले उखुको मूल्य निर्धारण गर्नुपर्ने बताए ।
गत वर्ष सरकारले मंसिर तेस्रो साता उखुको मूल्य तोकेको थियो । चिनी मिलहरूले उखु क्रसिङका लागि यस वर्ष तयारी थाले पनि अझै कृषि मन्त्रालयले मूल्य टुंग्याउन सकेको छैन ।
नेपाल चिनी उत्पादक संघले सरकारले उखुको मूल्य निर्धारण गर्न ढिलाइ गरेको भन्दै आपत्ति जनाएको छ । गत वर्ष एक लाख २० हजार मेट्रिक चिनी उत्पादन भएको तथ्यांक छ । मुलुकमा वार्षिक दुई लाख ५० हजार मेट्रिक टन चिनीको माग छ । उत्पादन कम हुँदा यो वर्ष बजारमा चिनीको मूल्य अस्वाभाविकरूपमा बढेको छ । स्थानीय उत्पादनले माग धान्न नसकेपछि व्यवसायीले ठूलो परिणाममा चिनी बाहिरी मुलुकबाट आयात गरिरहेका छन् ।
सरकारले प्रत्येक वर्ष उखुको सर्मथन मूल्य निर्धारण गर्दै आए पनि किसानले भने उद्योगीबाट समयमै उखु बिक्री गरेको रकम पाउन सकेका छैनन् । उखुको भुक्तानी गर्नका लागि किसानले बेलाबेला आन्दोलनसमेत गर्दै आएका छन् ।