बजेट सुनिश्चित नहुँदा प्रदेश सभा हलको निर्माण कार्य रोकियो «

बजेट सुनिश्चित नहुँदा प्रदेश सभा हलको निर्माण कार्य रोकियो


लुम्बिनी प्रदेशको सभाहल निर्माणकार्य रोकिएको छ । दाङ जिल्लाको राप्ती गाउँपालिका–३ मसुरियामा निर्माण भइरहेको लुम्बिनी प्रदेश सभा भवनको निर्माण केही दिनदेखि निर्माण कार्य रोकिएको हो । भवन निर्माणका लागि प्रदेश अर्थ मन्त्रालयले थप बजेट स्वीकृत नगरेका कारण निर्माण कम्पनीले आइतबारदेखि काम रोकेको हो ।
लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेका अनुसार प्रदेश सभा भवनको डिजाइन परिवर्तन गरी अर्थ मन्त्रालयसँग थप तीन करोड रुपैयाँ माग गरिएको थियो, तर अर्थले हालसम्म पनि बजेटका लागि स्वीकृति दिएको छैन । प्रदेश सभा भवन निर्माणका लागि हामीले थप बजेट मागेका छौं तर अहिलेसम्म बजेटको सुनिश्चितता भइसकेको छैन् ।
वजेट सुनिश्चितता नहुँदा अहिले निर्माण कम्पनी एमएस ड्रागन बस्नेत जेभीले काम रोकेको घिमिरेले बताए । पाँच करोड २१ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको प्रदेश सभा भवनमा ढुंगाको छानो, सो छानो लगाउँदा आवश्यक पर्ने फलामको पातालगायतका सामग्री थप्न प्रदेश पूर्वाधार विकास प्राधिकरणले १० दिनअघि अर्थ मन्त्रालयसँग थप बजेट माग गरेको थियो ।
“प्रदेश सभा भवनमा ढुंगाको छानोसहितको केही नयाँ संरचना थप गर्नुपर्ने भएपछि बजेट अभाव देखियो,” उनले भने, “आवश्यक बजेट मागसहित हामीले अर्थ मन्त्रालयमा भेरियसन पत्र पठाएको थियौं । बजेट स्वीकृत नभएपछि निर्माण कम्पनीले काम रोकेको छ ।” विभिन्न बहानामा प्रदेश सभाहल निर्माण ढिलाइ भइरहेको थियो । पछिल्लो चरणमा भने निर्माण कार्यले गति लिएको थियो ।
तर अहिले निर्माण कार्य रोकिँदा नागरिकमा निराशा छाएको छ ।
प्रदेश सभाको आगामी वर्षको हिउँदे अधिवेशन स्थायी राजधानी दाङको नयाँ प्रदेश सभा भवनमा बस्ने तयारीका साथ प्रदेश सभा भवन निर्माण तीव्र पारिएको थियो । पछिल्लो समयमा दिनरात गरी दुई सिफ्टमा काम गरिँदै आएको थियो । हालसम्म प्रदेश सभाको सभा हल करिब ६५ प्रतिशत सम्पन्न भइसकेको लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत घिमिरेले बताए । गएको आर्थिक वर्षमा नै सम्पन्न हुनुपर्ने प्रदेश सभा हल विभिन्न बहाना देखाउँदै ढिला हुँदै आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्थायी राजधानीमा
लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकामा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको मुख्य कार्यालय उद्घाटनसँंगै सेवा सुरु गरिएको छ ।
बुधबार राप्ती उपत्यकाको सिसहनियामा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारुले उद्घाटन गरेसंँगै मन्त्रालयको नियमित सेवा सुरु भएको जानकारी दिए । मन्त्रालयले पूर्णरूपले राप्ती उपत्यकाबाट काम सुरु गरेको जानकारी गराउँदै मन्त्री इन्द्रजित थारुले अब छिटोभन्दा छिटो अन्य मन्त्रालयले पनि स्थायी राजधानीबाटै सेवा सुरु हुने उनको भनाइ छ ।
मन्त्री थारुले प्रदेश सरकारको निर्णयअनुसार सबैको सहयोगमा राजधानीको सफलतासँंगै राजधानी कार्यान्वयनमा सहयोग गर्नुपर्ने बताए । संघ सरकार र प्रदेश सरकारको नीतिअनुसार सबै पालिकामा १५ शैयाको अस्पताल, खोप केन्द्र, स्वास्थ्य संस्था निर्माणका लागि काम सुरु भएको बताउँदै स्वास्थ्य सेवामा मध्यकालीन तथा दीर्घकालीन रणनीतिका साथ काम भइरहेको मन्त्री चौधरीले बताए ।
राज्यमन्त्री विमलाकुमारी खत्रीले स्थायी राजधानीमा मन्त्रालयको काम सुरु भएसँंगै नागरिकले सरल र सहज रूपमा सेवा पाउन सक्ने र मन्त्रालयले राम्रो काम गरेर देखाउनु पर्ने समय रहेको बताइन् ।
मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सेवामूलक मन्त्रालय भएका कारण सेवा दिने काममा कमी नहुने बताए ।
निर्देशनालय, आपूर्ति, तालिम र प्रयोगशालाको कार्यालयको छिटो प्रबन्ध गर्दै मन्त्रालयलाई पूर्णरूपमा सेवा दिन तयार बनाइने उनले बताए । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले आफूहरूले स्थायी राजधानीका लागि सहयोग गरेको तर सुस्तसुस्त राजधानीको मेलो सर्दै गरेको बताए । राजधानी व्यवस्थापनका लागि स्थानीय राप्ती–गढवा गाउँपालिका र शीतगंगा नगरपालिकाका नागरिकबाट भरपुर सहयोग रहनेसमेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्