कृषिमा आकर्षण बढ्दै

जिल्लाका कृषकहरूले सरकारले दिने अनुदानका बारेमा आफूहरूले जानकारीसमेत नपाएको बताउने गरेका छन् । सरकारले ल्याउने अनुदान टाठाबाठाहरूले नै पाउने गरेको उनीहरूको भनाइ छ ।
दाङ – पछिल्लो समय कृषिमा आकर्षण बढ्दै गएको छ । विदेश गएर फर्किएका तथा स्वदेशमा रहेकाहरू पनि अहिले कृषितर्फ लाग्न थालेका छन् । अहिले कृषिक्षेत्र युवाहरूको आकर्षणको क्षेत्रसमेत बन्न थालेको छ । वैदेशिक रोजगारीका लागि विदेश गएका रोल्पा थवाङका सन्तोष घर्तीमगर अहिले स्वदेश फर्केर अर्कै जीवन भोग्दै छन्, तरकारी बारीमा । रोल्पाका सन्तोष खाडीमा भन्दा बारीमा सन्तोष छन् । खाडीले भन्दा बारीले उनलाई प्रतिफल दिएको छ । सन्तोषको खाडीमा काम गर्नुपर्दाको पीडालाई तरकारी बारीमा काम गर्दाको आनन्दले भुलाएको छ । अर्काको गुलामीको कमाइमा भन्दा आफ्नै मेहनतको कमाइले उनीहरूको मन खुसी छ । रोल्पा, थवाङ घर भए पनि दाङ झरेर सन्तोष सात जना युवाहरूको समूह बनाएर सामूहिक तरकारी खेतीमा छन् । अहिले सन्तोषसहित ७ युवाहरू २० बिघा जग्गामा लगाइएको तरकारीमा रमाइरहेका छन् । सन्तोषको बिहानैदेखिको दैनिकी घोराही उपमहानगरपालिकामा वडा नं. १३ तरकारी बारीबाट सुरु हुने गरेको छ । साथमा उनका सहलगानीकर्ता साथीहरू पनि छन् । उनको दैनिकी बारीमै बित्ने गरेको छ । “स्वदेशमै केही गर्नुपर्छ भनेर विदेशबाट फर्केको हुँ, यहाँ साथीभाइ मिलेर तरकारी खेती गर्दै आएका छौं,” सन्तोषले भने ।
अहिले रोजगारी पाउन नसकेको भन्दै धेरै युवाहरू बिदेसिने गरेका छन् । तर, सन्तोषसँगै अन्य सात जना युवा मिलेर सात वर्षअघिदेखि कृषिकर्म गरिरहेका छन् । बारीमा तरकारी लहलह बढ्दै जाँदा उनीहरूको मन पनि फुरुंग हुन्छ । घोराही उपमहानगरपालिका–१३ र घोराही–१८ मा गरेर २० बिघा जग्गा उनीहरूले तरकारी खेतीका लागि लिजमा लिएका छन् । अहिले बारीमा विभिन्न जातका तरकारीहरू हुर्किरहेका छन् । बेमौसमी तरकारी उनीहरूको चाहना भए पनि अहिले उनीहरूले बारीमा टमाटर, काउली, सिमी र केराउ रोपेका छन् ।
रोजगारीका लागि विदेश गएका सन्तोषले करिब तीन वर्ष उतै बिताएका थिए । तर, भनेजस्तो नभएपछि स्वदेशमा नै केही गर्नुपर्छ भनेर कृषि पेसालाई अगाडि बढाएको उनी बताउँछन् । “सानैदेखि कृषि पेसा गर्दै आएकाले यसैलाई अगाडि बढाउनुपर्छ भनेर यसैमा लागियो,” सन्तोषले भने । तरकारी खेती गर्नुभन्दा पहिले उनले कुखुरापालन पनि गरेका थिए । तर, कुखुरापालनमा भनेजस्तो फाइदा नभएपछि उनी हाल तरकारी खेतीमा जोडिएका हुन् ।
उनीसँगै तरकारी खेती गरिरहेका बालकृष्ण बूढामगरले करिब पाँच वर्षभन्दा बढी इलेक्ट्रिसियन भएर काम गरेका थिए । देशका विभिन्न स्थानमा इलेक्ट्रिसियन भएर काम गरे पनि सन्तुष्ट हुन नसकेपछि उनले त्यसलाई छोडेर कृषि पेसा नै रोजे । “देशका विभिन्न स्थानमा गएर इलेक्ट्रिसियन भएर काम गरियो, जागिर छोडेर अहिले कृषिमा लागेको हुँ,” बालकृष्णले भने । अहिले पनि उनले कसैले बोलाएमा इलेक्ट्रिक काम गर्ने गरेका छन् । आफू स्वतन्त्र भएर काम गर्न पाइने भएकाले आफू कृषि व्यवसायमा लागेको उनको भनाइ छ । “अहिले स्वतन्त्र भएर काम गर्न पाइएको छ, कसैको दबाब छैन,” बालकृष्णले भने, “देशको विकासका लागि कृषिलाई अगाडि बढाउनुपर्छ । नेपालको विकासका लागि कृषिलाई प्राथमिकता दिनुपर्छ ।” तर, धेरैको प्राथमिकतामा कृषि नपर्ने गरेको उनी बताउँछन् ।
राज्यले यसका लागि वातावरण बनाउन सक्नुपर्ने उनको भनाइ छ । “कृषकले उत्पादन गरेको उत्पादनलाई राज्यले उचित व्यवस्थापन गर्नुपर्छ,” बालकृष्णले भने । तर, अहिलेसम्म त्यस प्रकारको कार्य राज्यका तर्फबाट हुन सकेको छैन । “वास्तविक कृषकका लागि राज्यले केही गर्न सकेको छैन,” बालकृष्णले भने । धेरै मेहनत गरेर उत्पादन गरे पनि मूल्य पाउन नसक्दा कृषकहरूले घाटा बेहोर्नुपर्ने बाध्यता रहेको छ, जसले गर्दा धेरै कृषकहरू कृषिक्षेत्रबाट पलायन हुने गरेका छन् ।
उनीहरूले आफूहरूबाहेक घोराही–१३ र १८ मा गरेर ४० जनालाई रोजगारीसमेत दिएका छन् । क्षेत्र विस्तार गर्दै गएमा थपलाई रोजगारी दिन सक्ने उनीहरू बताउँछन् । रोजगारीका लागि बिदेसिने युवाहरूलाई स्वदेशमा नै केही गर्न उनीहरू सुझाव दिन्छन् । अरूको देशमा गएर पसिना बगाउनुभन्दा आफ्नै देशमा पसिना बगाउनुपर्ने उनीहरूको भनाइ छ, जसले गर्दा देशको विकासमा समेत केही मात्रामा भए पनि सहयोग पुग्नेछ । नेपाललाई कृषिप्रधान मुलुक भन्दै कम्तीमा ६५ प्रतिशतभन्दा बढी नागरिक कृषिमा आधारित छन् । तर, नेपाल अझै पनि कृषिमा आत्मनिर्भर हुन सकेको छैन । बर्सेनि अर्बौंको कृषि उपज बाहिरबाट आयात गर्नुपरेको छ ।
बबई गाउँपालिका वडा नंं. २ टवाङ खोलानिवासी अनिशजंग केसीले व्यावसायिक रूपमा बाख्रापालन गर्न थालेको दुई वर्षभन्दा बढी भयो । रोजगारीका लागि विदेश गएका उनले विदेशभन्दा आफ्नै ठाउँमा केही गर्नुपर्छ भनेर ललित बाख्रा फर्म दर्ता गरेर व्यावसायिक रूपमा बाख्रापालन सुरु गरेका हुन् । विदेशमा भनेजस्तो काम पाउन नसकेपछि आफ्नै देशमा काम गर्ने सोच बनाएर अगाडि बढेको उनी बताउँछन् । “हाम्रो क्षेत्रमा अरूभन्दा बाख्रापालनको सम्भावना राम्रो देखेर यस क्षेत्रमा अगाडि बढेको हुँ,” उनले भने । उनले अहिले ४२ वटा बाख्रा पालिरहेका छन् । उनले १० वटाबाट बाख्रापालन गर्न सुरु गरेका थिए । उनीसँगै उनको पाँच जनाको परिवार बाख्रापालनमा संलग्न हुँदै आएका छन् । अहिले बाख्रापालनबाट वार्षिक डेढ लाखसम्म आम्दानी हुन थालेको केसी बताउँछन् । यसरी भएको आम्दानीबाट घर खर्च चलाउने उनले बताए । आफूले अहिलेसम्म कुनै पनि सहयोग पाउन नसकेको उनी बताउँछन् । सरकारले कृषकहरूलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ । बाख्रापालनसम्बन्धी जानकारी नहुँदा समस्या पर्ने गरेको उनले बताए । “प्राविधिक ज्ञान नहुँदा धेरै समस्या भोग्नुपरेको छ,” उनले भने । नजिक पशु प्राविधिक नहुँदा टाढासम्म जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
घोराही उपमहानगरपालिका वडा नं. ३ मसोट खोलानिवासी बलबहादुर पुनले पनि करिब तीन वर्ष पहिलेदेखि व्यावसायिक रूपमा बाख्रा पालन सुरु गरे । उनले शुभलक्ष्मी बाख्रापालन फर्म दर्ता गरेर व्यावसायिक रूपमा बाख्रापालन सुरु गरेका हुन् । रोजगारीका लागि करिब ६ वर्ष विदेश बसेर स्वदेश बिताएका थिए । आफ्नै देशमा केही गर्नुपर्छ भनेर बाख्रापालनमा लागेको उनी बताउँछन् । “विदेशमा भन्दा आफ्नै देशमा रमाउनुपर्छ भनेर बाख्रा पालन सुरु गरेको हुँ,” पुनले भने । अहिले आफ्नै देशमा नै दुःख गर्न पाउँदा रमाइलो लागेको उनी बताउँछन् । जे दुःख गरे पनि आफ्नै स्थानमा गर्नुपर्छ भनेर बाख्रापालनमा लागेको उनले बताए । यसलाई नै विस्तार गर्दै अगाडि बढ्ने सोच रहेको उनी बताउँछन् । उनले १० लाख लगानीबाट बाख्रा पालन सुरु गरेका थिए । अहिले उनले ४० वटा बाख्रा पालिरहेका छन् । “जंगल क्षेत्रमा अन्य व्यवसायभन्दा बाख्रापालन उपयुक्त भएकाले बाख्रापालन व्यवसायलाई अगाडि बढाएको हुँ,” पुनले भने । सरकारले कृषकलाई सहज रूपमा ऋण प्रदान गर्ने व्यवस्था गरिदिनुपर्ने उनको भनाइ छ । “सहुलियत ऋणका लागि धेरै प्रयास गरे पनि पाउन सकिएन,” पुनले भने ।
घोराही उपमहानगरपालिका वडा नं. ११ खैरानिवासी निर्मला डिसीले २० वर्षदेखि व्यावसायिक रूपमा बाख्रापालन गर्दै आएकी छन् । निर्मला बाख्रापालन फर्म दर्ता गरेर बाख्रापालन गर्दै आएको उनले बताइन् । कृषकहरूलाई सहुलियत ऋण प्रदान गर्न सकेमा उनीहरूलाई सहज हुने उनको भनाइ छ । अनुदानमा पाइने ऋणका लागि धेरै पटक प्रयास गरे पनि पाउन नसकेको उनी बताउँछिन् । “कृषकले अनुदानमा ऋण नै पाउँदैनन्,” डिसीले भनिन् । अनुदान वास्तविक कृषकले पाएमा उनीहरूलाई हौसला मिल्ने उनले बताइन् । आफैंले केही गर्नुपर्छ भनेर बाख्रापालन सुरु गरेकी उनी आफूले थालेको कार्यमा परिवारको पनि सहयोग रहेको बताउँछिन् ।
घोराही उपमहानगरपालिका वडा नं. ३, रनघरानिवासी प्रेमबहादुर बूढाले पनि विगत चार वर्षदेखि व्यावसायिक रूपमा बाख्रापालन गरिरहेका छन् । बाख्रापालनमा प्राविधिक ज्ञान नहुँदा धेरै समस्या भोग्नुपरेको उनको भनाइ छ । बाख्राहरू बिरामी तथा अन्य प्राविधिक समस्या परेमा धेरै टाढा जानुपर्ने बाध्यता रहेको उनले बताए । प्राविधिकहरूलाई बोलाए पनि नआउने गरेको उनी बताउँछन् । वडावडामा पशु स्वास्थ्य कार्यालय हुन आवश्यक रहेको प्रेमबहादुरले बताए । “राज्यले कृषकलाई सहयोग पुग्ने खालको कार्यक्रम ल्याउनुपर्छ,” उनले भने । आफ्नै स्थानमा केही गर्नुपर्छ भनेर कृषिक्षेत्रमा लागेको उनी बताउँछन् ।
सरकारी अनुदान पाउँदैनन् कृषक
जिल्लाका कृषकहरूले सरकारले दिने अनुदानका बारेमा आफूहरूले जानकारीसमेत नपाएको बताउने गरेका छन् । सरकारले ल्याउने अनुदान टाठाबाठाहरूले नै पाउने गरेको उनीहरूको भनाइ छ । घोराही उपमहानगरपालिका वडा नं. ११ खैरानिवासी निर्मला डिसीले २० वर्षदेखि व्यावसायिक रूपमा बाख्रापालन गर्दै आएकी छन् । तर, अहिलेसम्म उनले कुनै पनि सरकारी अनुदान पाउन नसकेको बताइन् । राज्यले दिने अनुदान वास्तविक कृषकलाई प्रदान गरिनुपर्ने उनले बताइन् । “राज्यले प्रदान गर्ने अनुदान वास्तविक कृषकले पाउँदैनन्,” उनले भनिन् । कृषकहरूलाई सहुलियत ऋण प्रदान गर्ने सकेमा उनीहरूलाई सहज हुने उनको भनाइ छ । अनुदानमा पाइने ऋणका लागि धेरै पटक प्रयास गरे पनि पाउन नसकेको उनी बताउँछिन् ।
घोराही उपमहानगरपालिका वडा नं. ३ मसोट खोलानिवासी बलबहादुर पुनले पनि करिब तीन वर्ष पहिलेदेखि व्यावसायिक रूपमा बाख्रापालन सुरु गरेका छन् । उनले पनि हालसम्म कुनै पनि अनुदान पाउन सकेका छैनन् । सरकारले अनुदान दिने भनेको सुनेको तर अहिलेसम्म अनुदानका लागि जानकारीसमेत नपाएको उनी बताउँछन् । “हामीले अनुदानका बारेमा खबरसम्म पाउँदैनौं,” पुनले भने । आफूहरूको क्षेत्रमा फोनसमेत राम्रोसँग नलाग्ने गरेको उनले बताए । काम गर्ने कृषकहरूलाई अनुदान दिनुपर्ने उनी बताउँछन् । अनुदान दिँदा फिल्डमा पुगेर वास्तविक रूपमा कृषकलाई प्रदान गरिनुपर्ने पुन बताउँछन् ।
घोराही उपमहानगरपालिका वडा नं. ३ रनघरानिवासी प्रेमबहादुर बूढाले पनि विगत चार वर्षदेखि व्यावसायिक रूपमा बाख्रापालन गरिरहेका छन् । उनले पनि सरकारी निकायबाट हालसम्म सहयोग पाउन नसकेको बताए । “कागजी प्रक्रिया पु¥याउनेले अनुदान पाउने गरेका छन्,” उनले भने । आफूजस्ता कृषकहरूले अनुदान पाउन नसकेको उनी बताउँछन् । वास्तविक कृषकलाई राज्यले ल्याउने कार्यक्रमका बारेमा जानकारी समेत नदिने गरेको उनको आरोप छ । “राज्यले कृषकलाई सहयोग पुग्ने खालको कार्यक्रम ल्याउनुपर्छ,” उनले भने ।
साना तथा घरेलु उद्योग दर्तामा वृद्धि
जिल्लामा कोभिडको समयमा पनि एक वर्षको अवधिमा २ हजार ४ सय ५४ जना नयाँ उद्यमी थपिएका छन् । आर्थिक वर्ष २०७७÷२०७८ मा घरेलु तथा साना उद्यमीहरू यो सङ्ख्यामा नयाँ उद्यमी सङ्ख्या थपिएका हुन् । यसरी थपिनेमध्ये १ हजार २ सय ६२ जना पुरुष तथा १ हजार १ सय ९२ जना रहेको घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख उमबहादुर वलीले जानकारी दिए । घरेलु तथा साना उद्योग कार्यालयले उद्योगसम्बन्धी ५ करोडसम्मको कुल पुँजी र वाणिज्यतर्फ २ करोडसम्मको लगानी भएका उद्योग तथा व्यवसाय दर्ता गर्ने गरेको छ । घरेलु तथा साना उद्योग कार्यालय, दाङमा दर्ता भएका घरेलु तथा उद्योगमा यो संख्यामा नयाँ उद्यमी थपिएका हुन् । एक वर्षको अवधिमा २ हजार १ सय ८४ वटा उद्योग थपिएका छन्, जसमा २ हजार ५७ वटा प्राइभेट फर्म, ९५ वटा साझेदारी फर्म र ३२ वटा प्रालि दर्ता भएका छन् भने यस अवधिमा २ सय ७ वटा उद्योग बन्द भएका छन् । विभिन्न कारणले उद्योगहरू बन्द गर्न निवेदन आएकाले बन्द गरिएका हुन् । यसरी थपिएका उद्योगहरूमा ४ अर्ब ४८ करोड २३ लाख २१ हजार लगानी भएको निमित्त प्रमुख वलीले बताए । यसरी थपिएका उद्योगमा ८ हजार १ सय ७७ जनाले रोजगारी प्राप्त गरेका छन्, जसमा ५ हजार ५ सय ४२ जना पुरुष तथा २ हजार ६ सय ३५ जना महिलाले रोजगारी प्राप्त गरेको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
कार्यालयमा २०७६÷०७७ मा ७ सय ३१ वटा घरेलु तथा साना उद्योग दर्ता भएका थिए । पछिल्लो समयमा जिल्लामा उद्योगहरू थपिने क्रम बढेको छ । प्रदेश सरकारले घरेलु तथा साना उद्योगहरू निःशुल्क रूपमा दर्ता गर्ने व्यवस्था ल्याएको कारण पनि उद्योगको संख्यामा वृद्धि भएको उनको भनाइ छ । साना उद्यमीहरूलाई सहजता होस् भन्ने उद्देश्यले प्रदेश सरकारले यस प्रकारको नीति ल्याएको बताइएको छ । “पछिल्लो समय युवाहरूमा केही गर्नुपर्छ भन्ने सोचका कारण पनि उद्योग दर्ता गर्नेहरूको संख्या वृद्धि भएको छ,” प्रमुख वलीले भने । केही गर्नेहरूलाई राज्यको तर्फबाट समेत सहयोग प्राप्त हुने भएकाले पनि उनीहरूलाई सहयोग पुग्ने गरेको छ । स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारले केही गर्छु भन्नेहरूलाई धेरै अवसर दिएको प्रमुख वली बताउँछन् । राज्यले विदेशबाट फर्किएर स्वदेशमा नै उद्यमी बन्न चाहनेहरूलाई प्राथमिकता दिने गरेको छ । त्यसै गरेर सबै निकायबाट अनुगमन भइरहनु, दर्ता नगरी सञ्चालन गरेकालाई राज्यबाट प्राप्त हुने सुविधा नपाउनुजस्ता कारणले पनि धेरै दर्ता हुँदै गएको प्रमुख वली बताउँछन् । दर्ता नगरी सञ्चालन गरेमा उद्योगका लागि आवश्यक पर्ने सामग्री ल्याउँदा तथा उत्पादन गरेका सामग्री बिक्री गर्नसमेत समस्या हुने गरेको छ । कार्यालयमा दर्ता भएका उद्योगमध्ये कृषिजन्य उद्योग बढी रहेको उनको भनाइ छ ।
घरेलु तथा साना उद्योग कार्यालयमा एक वर्षको अवधिमा उत्पादनमूलक उद्योगहरू २ सय ७ वटा दर्ता भएका छन्, जसमा प्राइभेट फर्महरू १ सय ८५ वटा, साझेदारी फर्म १४ वटा र प्रालि ८ वटा रहेका छन् । कृषि तथा वनजन्य उद्योगहरू १ हजार ५ सय १२ वटा थपिएका छन्, जसमा १ हजार ४ सय ४२ वटा प्राइभेट फर्म, ५९ वटा साझेदारी र ११ वटा प्रालि रहेका छन् । पर्यटन उद्योगहरू १ सय ६८ वटा थपिएका छन्, जसमा १ सय ६३ वटा प्राइभेट उद्योग र ५ वटा साझेदारी उद्योगहरू रहेका छन् भने सेवामूलक उद्योगहरू २ सय ९७ वटा दर्ता भएका छन्, जसमा २ सय ६७ वटा प्राइभेट फर्म, १७ वटा साझेदारी फर्म र १३ वटा प्रालि रहेका छन् ।