पाँच वर्षमा दोब्बर डेटा प्रयोगकर्ता «

पाँच वर्षमा दोब्बर डेटा प्रयोगकर्ता

नेपालमा पछिल्लो आधा दशकमा २ करोड डेटा सेवाग्राही थपिएका छन् । सूचना प्रविधिको बढ्दो पहुँच, सर्वसाधारणको आवश्यकता र सेवाप्रदायक बीचको तीव्र प्रतिस्पर्धाले पाँच वर्षमा दुई करोड सेवाग्राही थपिएका हुन् । पछिल्ला वर्षमा कोभिड महामारीले अन्य क्षेत्र प्रभावित बने पनि सूचना प्रविधि क्षेत्रमा चुनौतीसँंगै सम्भावनाका अवसर पनि खुला भएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत असोज मसान्तसम्म नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या तीन करोड ४३ लाख ३२ हजार पुगेको छ । पाँच वर्ष अगाडिको सोही समयमा एक करोड ४३ लाख सात हजार रहेको थियो । छोटो समयमै ठूलो संख्यामा प्रयोगकर्ता बढ्नु दूरसञ्चार क्षेत्रका लागि मात्रै नभएर समग्र देशका लागि सकारात्मक पक्ष भएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेल बताउँछन् । प्रतिवेदनअनुसार चालू वर्षको असोज मसान्तमा एक करोड २८ लाख फोरजी प्रयोगकर्ता, एक करोड २५ लाख थ्रिजी प्रयोगकर्तासहित कुल इन्टरनेट सेवा लिने ग्राहकको संख्या तीन करोड ४३ लाख पुगेको छ । कुल जनसंख्याको ११३.५७ प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा पुगेको तथ्यांकमा उल्लेख छ ।
प्राधिकरणका प्रवक्ता पौडेलले कोभिडपछि इन्टरनेट प्रयोगकर्ताको संख्यामा अझै वृद्धि भएको बताउँछन् । स्कुल, कलेजदेखि कार्यालयका कामहरू भर्चुअल माध्यमबाट गरिने हुँदा फिक्स्ड तथा मोबाइल इन्टरनेट दुवैमा वृद्धि भएको उनको भनाइ थियो । मासिक तीनदेखि पाँच लाखसम्म ग्राहक कोभिडपछि थपिएका छन् । इन्टनेट सेवा प्रदायक अध्यक्ष सुधिर पराजुली पनि कोभिडकै कारण इन्टरनेट प्रयोगकर्ता बढेको बताउँछन् ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी पनि कोभिडले अन्य क्षेत्रका तुलनामा सूचना प्रविधिमा क्षेत्रमा कम चुनौती थपेको बताउँछन् । यस क्षेत्रमा नयाँ आइडिया, स्मार्टअप कम्पनीदेखि भर्चुअल माध्यमबाट हुने काम बढेको उनको अनुभव छ । यी सबै कामका लागि इन्टरनेट अनिवार्य भएकाले महामारीकै समयमा पनि डेटा प्रयोगकर्ता बढेको बताउँछन् ।
एकातर्फ मोबाइलमा थ्रिजी तथा फोरजी सेवाको प्रयोगमा बढावा त छँदैछ भने अर्काेतर्फ सार्वजनिक स्थलमा वाईफाई प्रयोगलाई नियामक निकायले जोड दिएको छ । सगरमाथा आधार शिविर, अन्नपूर्ण सक्रिट, लुम्बिनी परिसर, जानकी मन्दिर परिसर, पाथिभरा, स्वर्गद्वारी, बराहक्षेत्र, मुक्तिनाथ, जोमसोमलगायतका स्थानमा वाईफाई पु-याउने काम भएको छ । प्राधिकरणका अनुसार सामुदायिक विद्यालयमा सूचना प्रविधिको पहुँच पु¥याउन एक हजार सामुदायिक विद्यायलमा आवश्यक पूर्वाधार पुगिसकेको छ । यसले विद्यालय तहबाट हुने डिजिटल ग्याप कम गर्न सहज भएको प्राधिकरणले जनाएको छ । त्यसैगरी प्राधिरकणले सेवा प्रदायकलाई फ्रिक्वेन्सी प्रदान गर्दा फोरजी सेवालाई कभरेज र गुणस्तरका शर्त राखी २०२२ सम्ममा देशभर सेवा विस्तार गर्ने गरी काम अगाडि बढाएको छ । डेटा सेवामा अर्काे महत्वपूर्ण खुड्किला मानिएको फाइभ– जीको पनि परीक्षणका लागि नेपाल टेलिकमले अनुमती पाइसकेको छ । फाइव जी डेटा फोकस्ड सेवा भएकोले आगामी दिनमा इन्टरनेट प्रयोगकर्ता अझै बढ्ने गुणस्तरीय सेवा पाउने विश्वास गर्न सकिन्छ ।
यता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले दूरसञ्चार पूर्वाधारको सह प्रयोगसम्बन्धी व्यवस्था कार्यान्वयन हुन नसक्दा डेटा सेवाको लागत बढेको जनाएको छ । प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ को दफा ५२ ले दिएको अधिकार प्रयोग गरी महसुल दर निर्देशिका र अन्तरआबद्धता निर्देशिका जारी गरे पनि प्रभावकारी रूपमा लागू हुन नसकेको उल्लेख छ । उक्त निर्देशिकाहरू समय–समयमा परिवर्तन गरेता पनि प्रभावकारी रूपमा लागू हुन भने नसकेको अवस्था छ । यस्तै, दूरसञ्चार पूर्वाधार सहप्रयोगसम्बन्धी नियमावली कार्यान्वयनमा आए पनि प्रभावकारी हुन सकेको छैन । सेवा प्रदायकहरूले निर्माण तथा सञ्चालन गरेको पूर्वाधारहरूमा दोहोरो लगानी गर्ने कार्य नरोकिएको उल्लेख छ । दूरसञ्चार पूर्वाधारसम्बन्धी नियमावली, २०७४ लाई समसामयिक परिमार्जन गरी यसअनुरूप दूरसञ्चार पूर्वाधारको निर्माण तथा सञ्चालन कार्य अगाडि बढाउन आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।

पछिल्लो पाँच वर्षमा डेटा प्रयोगकर्ताको वृद्धि (असोज मसान्त)
२०७८ ३.४३ करोड
२०७७ २.३२ करोड
२०७६ २.७ करोड
२०७५ १.५९ करोड
२०७४ १.४३ करोड
स्रोत– नेपाल दूरसञ्चार प्राधिकरण

प्रतिक्रिया दिनुहोस्