सेयर बजारबारे प्रचण्डको अभिव्यक्ति असानदर्भिक : सेयर लगानीकर्ता «

सेयर बजारबारे प्रचण्डको अभिव्यक्ति असानदर्भिक : सेयर लगानीकर्ता


इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिकाप्रसाद पौडेलले पुँजी बजारबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्ति सान्दर्भिक नभएको टिप्पणी गरेका छन् ।
पुँजीबजारको लगानीलाई साम्राज्यवादको विकसित रुप भएको भनि अध्यक्ष प्रचण्डले केही दिन अघि दिएको अभिव्यक्ति बिडम्बनापूर्ण भएको पूर्वअध्यक्ष पौडेलले बताए । पौडेलले उद्योग व्यवसाय गर्न आवश्यक पुँजी निर्माण, बजारमा छरिएर रहेको पुँजी संकलन गर्ने र उद्यमशीलताको विकास पुँजीबजारले गर्छ भन्ने मान्यता राख्ने लगानीकर्ताको लागि प्रचण्डको अभिव्यक्ति समय सान्दर्भिक नभएको बताए । उनले पार्टीको नेतृत्व तहमा रहेका नेताहरुले पुँजीबजारको आवश्यकता हो की होइन भन्ने विषयमा बहस तथा छलफल गर्न आवश्यक भएको तर्क गरे । पौडेलले सरकार नियामक निकाय तथा ठूला नेताहरुलाई नै पुँजीबजारको सामान्य नियम नै नबुझेकाले अहिलेको अवस्था आएको टिप्पणी गरे ।
“सेयर बजारलाई पेशा नै बनाएर, पुुँजीबजार नै अर्थतन्त्रको ऐना भनेर सेयर बजार २० वर्षदेखि लागेका छन्” उनले भने, “पुँजीबजारले उद्योग व्यापार व्यवसायका लागि आवश्यक पुँजी तथा छरिएर रहेको पुँजीलाई संकलन गर्न सक्छ र उद्यमशीलताको विकास पुँजीबजारले गर्दछ भन्ने मान्यता राख्नेहरुलाई प्रचण्डको भनाइ गतल छ ।”
पौडेलले पछिल्लो ७३ दिनमा नेपाली सेयर बजारको पुँजी ३० प्रतिशतले घटेको बताए । उनले बजारमा पुँजी बिस्तारको हिसावले हेर्ने हो भने यो अवधिमा १२ अर्ब ३० करोडको नोक्सानी भएको बताए । पछिल्लो समय लगानीकर्ताले प्रत्येक दिन १६ अर्ब ६६ करोड रुपैयाँ नोक्सानी भोगिरहेको पौडेलले बताए । उनका अनुसार नेपालको इतिहासमा छोटो समयमा सेयर बजार यति धेरै घटेको पहिलो पटक हो ।
सेयर बजार घट्नु तथा बढ्नु लगानीकर्ताले स्वाभाविक रुपमा लिनु पर्ने उनको तर्क छ । नेपालका राजनीतिक दलका नेतृत्वले पुँजीबजारको अर्थ, महत्व, अन्तर्राष्ट्रिय अभ्यासहरु र पुँजीबजारले अर्थतन्त्रमा पारेको प्रभावको बृहत दायरालाई नबुझि टिप्प्णी गर्दा नेपालको पुँजीबजारले परिपक्वता पाउन नसेकेको पौडेलले जिकिर गरे ।
नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले प्रचण्डको अभिव्यक्ति साना लगानीकर्ताको मर्म विपरित भएको बताइन् । अध्यक्ष पोखरेलले सेयरमा लगानी गर्ने लगानीकर्ता पुँजीपति मात्रै नभएको बताइन् । उनले पछिल्लो समय सेयर बजार पुँजीपति वर्गले मात्रै नभएर रोडमा बसेर साग बेच्ने, घरैमा बसेर एउटा घर गृहिणी र विद्यार्थीको लागि समेत भएको बताइन् ।
राजनीतिक नेतृत्वमा रहेका नेतृत्वले यो कुरा बुझिदिनु पर्ने अध्यक्ष पोखरेलले बताइन् । प्रचण्डले दिएको अभिव्यक्ति सेयर लगानीकर्तालाई साँढेको जुधाईमा बाच्छाको मिचाई जस्तै भएको उनको तर्क छ । “नेतृत्व तहमा बसेका व्यक्तिले सेयर बजारका विषयमा गलत टिप्पणी गर्नु लगानीकर्ताको मर्म विपरित हो । विगत लामो समयदेखि माथिल्लो तहमा बस्ने व्यक्तिहरुले सेयर बजारको विषयमा नकारात्मक कुराहरु बोल्ने गरेका थिए” उनले भनिन्, “अहिले नीतिगत तहमा बस्नेहरुले विभिन्न समयमा यस्ता अभिव्यक्ति आउँदा सेयर बजार साच्चै जुवाघर रहेछ की लगानी गर्ने वातावरण नभएको बताउन थालेका छन् ।”
अध्यक्ष पोखरेलले सेयर बजारमा निरन्तर रुपमा विभिन्न तहबाट हुने प्रहारले लगानीकर्ता सेयर बजारबाट बाहिर निस्कन थालेको बताइन् । उनले नीतिगत तहमा बस्नेहरुले पुँजीबजारलाई नकारात्मक रुपमा बुझ्दा बजार निरन्तर रुपमा तीन महिनादेखि घटिरहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्