सेयर बजारबारे नबुझी बोल्छन् नेताहरू

सेयर बजार निरन्तर ओरालो लाग्ने क्रम जारी रहेको छ । केही समयअघि ३२ सयको हाराहारीमा पुगेको सेयर बजार सोमबार ७९ अंकले घट्दै २२८१ बिन्दुमा आइपुगेको छ । यसै क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले औद्योगिक क्षेत्रमा लगाउनुपर्ने पुँजीको लगानी पुँजीबजारमा हुनु साम्राज्यवादको विकसित रूप भएको अभिव्यक्ति दिएसँगै त्यसको चौतर्फी विरोध भएको छ । दाहालले पछिल्लो समय पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पुँजीबजारमा हुनु साम्राज्यवादको विकसित रूप भएको बताएका थिए । एकाधिकार पुँजीवाद र संशोधनवाद जोडिएर वित्तीय एकाधिकार पुँजीवादमा भूमण्डलीकृत पुँजीवाद बन्दै गएको भन्दै यसलाई निस्तेज गर्ने गरी पुँजीबजारको विषयमा पार्टीको दस्ताबेजमा नै समावेश गराउने बताएपछि सरकारको नेतृत्वमा रहेको पार्टीको प्रमुख व्यक्तिले गैरजिम्मेवार पूर्ण अभिव्यक्ति दिएको भन्दै आलोचना भइरहेको छ । प्रचण्डको सचिवालयले विज्ञप्ति नै निकालेर सुधार्ने प्रयास गरे पनि सोमबार पनि सेयर बजारमा निकै गिरावट देखियो । सेयर बजार ओरालो लाग्नुको कारण र राजनीतिक नेतृत्वले दिएका अभिव्यक्तिले सेयर बजारमा पार्ने प्रभावका विषयमा कारोबारकर्मी सुमित सुवेदीले लगानीकर्ताहरूसँग गरेको कुराकानीको सार :
उच्च पदमा आसीन व्यक्तिले पुँजीबजारको मूल्य–मान्यता नै बुझेका छैनन्
अम्बिका पौडेल
लगानीकर्ता
नेपाल सरकार, सरकारका निकाय, अर्थमन्त्रालय तथा अन्य निकायका उच्च पदमा आसीन व्यक्तित्वहरूले पुँजीबजारको मूल्य–मान्यता, सिद्धान्त नै बुझेका छैनन् । पुँजीबजारले कसरी काम गर्छ, पुँजीबजारले अर्थतन्त्रमा कसरी सहयोग गर्छ, छरिएर रहेको पुँजीलाई कसरी संकलन गरेर उद्यमशिलतामा परिणत गर्छ र उद्यमीको हातमा पु¥याउँछ भन्ने कुरा कुनै पनि व्यक्तिले नबुझ्नुको परिणाम नै हिजोको अभिव्यक्ति हो । नेपालको पुँजीबजारले कुल कर्जाको दुई प्रतिशतभन्दा पनि कम कर्जा खपत गर्छ । त्यस्तो क्षेत्रलाई टार्गेट गर्ने गरिएको छ ।
पुँजीबजारमा आजका मितिमा करिब ५० लाखभन्दा बढी लगानीकर्ताहरू प्रत्यक्ष–अप्रत्यक्ष रूपमा जोडिएका छन् । पुँजीबजारप्रति उनीहरूको धेरै माया छ । उनीहरूले आफूसँग छरिएर रहेको पैसा बचत गरेर सेयरमा लगानी गरेका थिए । त्यसले सरकारलाई राजस्व दिएको थियो । निजी क्षेत्रलाई तरलता प्रदान गरेको थियो । अर्थतन्त्रलाई शक्ति प्रदान गरेको थियो । सबैको अनुहारमा खुसी छाएको थियो । तर, २ प्रतिशत मात्र कर्जा गएको क्षेत्रले पूरै प्रणालीलाई खलबलायो भन्ने भ्रम सिर्जना गरियो । ४७ लाखभन्दा धेरै डिम्याट एकाउन्ट भएको ठाउँमा केही व्यक्तिले यसको फाइदा लिए भनियो । सबैभन्दा बढी पारदर्शी क्षेत्र अर्थात् कसले कति कमायो भनेर सहजै अनुमान लगाउन सकिने भए पनि लगानीकर्ताले कमाएको मात्र देखियो, उसले विगत पाँच वर्षदेखि गुमाएको देखिएन । यही परिवेशमा सरकारका निकायहरू गैरजिम्मेवार हुँदाको परिणाम आजको पुँजीबजार हो । यहाँ राम्रो भइराखेको क्षेत्रलाई डस्नै पर्छ भन्ने छ । अहिले त्यसरी नै डसिएको छ ।
पुँजीबजार अत्यन्तै संवेदनशील क्षेत्र हो । त्यहाँ धेरै प्रकारका मानिसहरूको सहभागिता भएको हुन्छ । बुझेका मानिसहरू पनि हुन्छन्, नबुझेका मानिसहरू पनि हुन्छन् । त्यस्तोमा सरकारले पुँजीबजारलाई उत्पादन प्रोत्साहन गर्ने क्षेत्र, पुँजी संकलन गर्ने क्षेत्रका रूपमा नबुझेर अनुत्पादक क्षेत्र र यो क्षेत्रका कारणले अन्य क्षेत्र धराशायी भएको भनेर बुझिरहेको छ । जसका कारण केही बुझेका मानिसहरू पनि सशंकित भएका छन् । बुझेर लामो समय यस क्षेत्रमा रहेका र यसलाई पेसाको रूपमा लिँदै आएका लगानीकर्ताले सरकारकारको कुदृष्टि प-यो भनेर बुझिसकेका छन् । त्यसैले यो निरन्तर रुपमा घट्यो, अझै पनि घट्छ । किनभने बुझेका मानिसहरूले धेरै नै पहिला सरकारले पुँजीबजारलाई बढ्न दिँदैन भन्ने बुझिसकेका थिए । यो किन घट्यो भनिरहँदा सामान्य लगानीकर्ताले पनि यसलाई बुझ्न थाले ।
त्यसमाथि जिम्मेवार व्यक्तिहरूका पछिल्ला अभिव्यक्तिहरू (विगत ५-६ महिनामा) सुनेपछि पुँजीबजारलाई नै आफ्नो पेसा बनाउँछु भन्ने व्यक्तिले यसलाई निरन्तरता दिन पनि चाहँदैन । यो क्षेत्रमा बस्दैन । अहिलेको कारण पनि त्यही नै हो ।
अहिले करिब १२ खर्ब मार्केट क्यापिटलाइजेसन गुमेको छ । सरकारको अर्बौं राजस्व नोक्सानी भएको छ । त्यसमा कसैले वास्ता नै गरेको छैन । धेरै मानिसले नाफा कमाए भनेर राज्य सञ्चालकहरूको कुदृष्टि परेको छ । त्यसैले यो क्षेत्र माथि उठ्न, सरकारको राजस्व संकलनको भरपर्दै स्रोत बन्न सरकारका निकायमा कार्यरत जिम्मेवार पदाधिकारीहरू बढी जिम्मेवार हुनुपर्छ । पुँजीबजारको मर्म बुझ्नुपर्छ । अन्तर्राष्ट्रिय बजारमा पुँजीबजार कसरी सञ्चालन भएको छ । अन्तर्राष्ट्रिय बजारमा पुँजीबजारले सरकारलाई कसरी फ्यासिलेट गरेको छ । पुँजीबजार मजबुत हुँदा के–के फाइदाहरू हुन्छन् भन्ने विषय हाम्रा राजनीतिज्ञ, कर्मचारीतन्त्रले बुझेपछि मात्र सुधार हुन्छ । हामीहरूले बुझेर मात्र पुग्दैन । उहाँहरूले त हामीलाई धरै कमाउने लुटेराको रूपमा हेर्नुहुन्छ । राज्यमा आर्थिक क्रियाकलाप सञ्चालन गरेको उद्यमीलाई जब सरकारले लुटेराको रूपमा हेर्छ, फटाहाका रूपमा हेर्छ भने त्यो क्षेत्रको विकास हुन्छ त ? हुनै सक्दैन ।
हुन त बजारमा अहिले तरलताको अभाव छ । तर, तरलताको समस्या आउनु पनि सरकारको गैरजिम्मेवारको पराकाष्ठा हो । सरकारले सुझबुझ देखाएको भए यो अवस्था आउने नै थिएन । यो अवस्था आउनुमा पनि सरकारले लिएका आर्थिक नीतिदेखि पुँजीबजारसम्मका नीतिले असर पारेका छन् । त्यसबाहेक अन्य कारणहरू छन् जस्तो लाग्दैन । सरकारका निकायहरू नै गैरजिम्मेवार भएपछि अर्थतन्त्रमा त असर गर्छ नै । अन्यथा नेपालको अर्थतन्त्र त्यति कमजोर छैन । आज पनि हाम्रो डलर भारतको भन्दा टाइट छ । आज पनि रेमिट्यान्सको फ्लो राम्रो नै छ । केही घट्यो भन्दैमा आत्तिनुपर्ने, आकाश नै खस्यो कि जस्तो गर्नुपर्ने कारण छैन । आज हामीले सौखिन र विलासिताका सामग्रीहरू आयातमा नियन्त्रण गर्न सक्यौँ भने सबै समस्या समाधान हुन्छ । हामीहरूले महँगा–महँगा सामानहरू आयात गरेर राजस्व बढाउने भन्ने मनोवृत्ति सरकारका निकायहरूमा छ । उनीहरू त्यसैमा केन्द्रित हुन्छन् । पुँजीबजारमा ५० लाख मानिसहरू छन्, तर सीमित व्यक्तिहरूलाई पोस्ने र एकदमै विलासिताका सामग्रीहरू आयात गरेर राजस्व उठाउन खोजिएको छ । त्यसैले पुँजीबजारलाई तल झार्नु केही व्यक्तिहरूको सुनियोजित षड्यन्त्र हो जस्तो लाग्छ ।
पुँजीबजार पुँजी निर्माणको आधारभूमि हो
दुर्गा तिवारी
लगानीकर्ता
पुँजीबजार बढेर ३२ सयको हाराहारीमा पुगेको थियो । त्यसपछि ४-१२ को नीति आयो । त्यसपछि पुँजीबजार झर्न सुरु भएको हो । त्यसपछि बैंकको ब्याजदर पनि बढ्न थाल्यो । त्यसपछि पुँजीबजार २५ सयसम्म झ-यो । त्यसपछि पुनः ३ सय ६० अंकसम्म माथि जाँदै गर्दा बजारमा पुनः तरलताकोे समस्या देखियो । जसका कारणले बैंकमा ब्याज १० प्रतिशतभन्दा धेरै हुन पुग्यो । पहिले तरलताको समस्या आउनु नै बजार घट्नुको प्रमुख कारण रहन गयो । अहिले बैंकहरूसँग तरलता टाइट छ । कर्जा दिन सक्ने क्षमता पनि छैन । त्यसमाथि कर्जा नहाले पनि तरलता टाइट हुँदा बजारमाथि जान सकेको अवस्थ थिएन ।
सोही अवस्थामा पुष्पकमल दाहालको भाषण आयो । बजार विस्तारै झरिरहेको समयमा त्यसले झनै झर्नलाई मद्दत गरेको छ । सरकारमा रहेको दलको प्रमुख नेताले जुन अभिव्यक्ति दिए, त्यसका कारण आम लगानीकर्ताहरू डराएका छन् । बजारमा भर्खर आएका नयाँ लगानीकर्ताहरूले डेढ–दुई वर्षदेखि बुल मात्र देख्नुभएको थियो । अहिले अचानक बियर देख्नु निकै पीडादायी क्षण हो । ठूला लगानीकर्ताहरूले भने बुल र बियर देखिराखेका कारण बजारको उतारचढावलाई सामान्य हिसाबले लिँदै आएका थियौँ । तर, अहिले बजार एकदमै द्रुत गतिमा बढेको थियो । झर्दा त्योभन्दा पनि व्यापक गतिमा झर्छ जस्तो लागेको थिएन । नयाँ लगानीकर्ताले त बजार झरेको नै देखेका थिएनन् । त्यसैले उनीहरूले झनै यो सोच्ने कुरा नै भएन । उनीहरूलाई त करेक्सन आत्मसात् गर्न नै गाह्रो हुन्छ । हामी नै नयाँ–नयाँ लगानीकर्ता हुँदा पनि त्यस्तै महसुस हुन्थ्यो । त्यसैलाई पार्टीका उपल्लो तहका मानिसहरूले बुझ्ने कोसिस नै गरेनन् । उहाँहरूलाई हामीहरूले पनि बुझाउन सकेनौँ ।
पुँजीबजार त पुँजी निर्माणको आधारभूमि हो नि । हामीले कति जलविद्युत् आयोजना पुँजीबजारबाटै पुँजी संकलन गरेर निर्माण गरेका छौँ । विदेशी अनुदान लगानीभन्दा हामीहरूसँगै भएको एक–एक रुपैयाँ संकलन गरेर ठूलो आयोजना बनाउन सक्छौँ भनेर उहाँहरूले बुझ्नुभएन । पुँजीबजारबाट नै उद्योगहरू पनि खोल्न सक्छौँ, त्यसबाट आयात प्रतिस्थापन गर्न सकिन्छ, धेरै रोजगारीको अवसर सिर्जना हुन्छ, हाम्रो युवा पुस्ताहरू बाहिर जानु पर्दैन भन्ने कुरा हामीले बुझाउन सकेनौँ र उहाँहरूले बुझ्नु पनि भएन ।
उहाँहरूले दोस्रो बजारको खेललाई मात्र पुँजीबजार सोच्नुभयो । देश सञ्चालन गर्न नेतृत्वमा आएका व्यक्तिहरूले यस्तो कुरा बुझ्नुपर्ने हो, तर उहाँहरूले बुझ्न सक्नुभएको छैन । यसले देशको अर्थतन्त्रलाई नै नकारात्मक असर पारेको छ । सरकारलाई पुँजीबजारबाट कर आइरहेको अवस्था थियो, अब त्यो पनि जान्छ । विगतको कोरोनाकालमा अर्थतन्त्रलाई चलायमान गराउन रक्तसञ्चारको काम नै सेयर बजारले गरेको थियो । त्यो कुरा बिर्सिएर अहिले पुँजीबजारमा राजनीतिक रंग घुस्यो । अहिले एकातर्फका लगानीकर्ताहरू नो भोट भन्ने अभियानमा लागेका छन् भने अर्कातिर राजनीतिक नेताहरू त्यसको विरुद्धमा बोलिरहेका छन् । सेयर बजारमा राजनीति घुसाउने कुरा सही होइन । हिजो हाम्रा साथीहरूले आन्दोलन गर्दा मैले समर्थन नगरेको एउटा बुँदा, अर्थमन्त्री र गभर्नरको राजीनामा थियो । अहिले नो भोट अभियानले कसलाई भोट दिने भन्ने कुरा नै अन्योल भएको छ । यहाँ त एक आपसमा द्वन्द्वको बीजारोपण भएको अवस्था छ ।
पुँजीबजार विशुद्ध आर्थिक क्षेत्र हो । यसका लागि विशुद्ध आर्थिक मागहरू राख्नुपर्छ । विशुद्ध आर्थिक माग राखे हामी सफल पनि हुन्छौं । राजनीतिक दलहरूले पनि पुँजीबजार आर्थिक विकासको मेरुदण्ड हो भन्ने कुरा बुझ्नुपर्छ ।
पुँजी बढेपछि किन आँखा लगाउनु प¥यो
छोटेलाल रौनियार
लगानीकर्ता
हिजोआज ठूला राजनीतिक दलका नेताहरू, सरकारी निकायका पदाधिकारीहरू गैरजिम्मेवार भएर बोल्ने गरेका छन् । एक त पहिला विभिन्न अभिव्यक्तिहरू दिन्छन्, त्यसपछि पुनः सचिने गरेका छन् । हिजो प्रचण्डले अभिव्यक्तिहरू दिनुभयो । त्यसपछि सचिवालयले पुनः सच्याउँदै हिँडेको छ । पहिले बाबुराम भट्टराईले पनि जुवाको घर भन्नुभएको थियो । युवराज खतिवडाले पनि त्यस्तै कुरा गर्नुभएको थियो । गभर्नरले पनि त्यस्तै बोल्नुभएको थियो । धितोपत्र बोर्डले पनि त्यस्तै प्रकारका लिस्टहरू निकाल्यो । त्यसले पुँजीबजारलाई नकारात्मक असर गरेको छ ।
अहिले पुँजीबजारमा ४८ लाख लगानीकर्ताहरूले डिम्याट खाता खोलेका छन् । ३८ लाख लगानीकर्ताले मेरो सेयर लिएका छन् । २४ लाख लगानीकर्ताले आईपीओमा लगानी गरेका छन् । ११ लाख लगानीकर्ताले अनलाइन कारोबार गरिरहेका छन् । देशको १५-१६ प्रतिशत जनसंख्या नै कुनै न कुनै रूपमा यसमा आबद्ध छन् । गृहिणीदेखि सरकारी कर्मचारीहरू, सानातिना व्यापारीदेखि ठूला व्यापारीहरूसम्म सबै यसमा लागेका छन् । पछिल्लो दुई वर्षमा त आर्थिक क्रियाकलाप सञ्चालन गर्न पुँजीबजारले नै मद्दत गरिरहेको छ । सरकारलाई राजस्व संकलन गर्न पनि टेवा पु¥याइरहेको छ । सरकारले गत वर्ष पुँजीबजारबाट मात्र १४ अर्ब २३ करोड रुपैयाँ अर्थात् मासिक १ अर्ब २० करोड रुपैयाँको राजस्व उठायो । सबै राम्रो तरिकाले गइरहेको थियो । पुँजीबजारको विकास विस्तार पनि भइरहेको थियो । अचानक डाउनफल सुरु भयो ।
त्यसमाथि नेपालमा मात्र पुँजीबजार बढेको अवस्था थिएन । नेपालमा मात्र नभएर कोरोनाले अतिप्रभावित क्षेत्रमा पनि पुँजीबजारमा व्यापक वृद्धि भएको थियो । त्यस्तो अवस्थामा नेपालमा पुँजी बढेपछि किन आँखा लगाउनु प-यो । ११ सय बाट १८ सयसम्म गएको थियो । त्यसपछि ३२ सयमा पुगेको थियो । भारतकै सन्दर्भमा हेर्ने हो ६४ हजारसम्म पुगेर यो वर्षमात्रै ११ हजारले बढेको छ । त्यहाँ खुसी भएर खुसी साटासाट गर्छन् । तर, नेपालमा कसरी घटाउ भनिन्छ ।
प्रचण्डले हिजो लेनिनवाद, मास्कवादका अनुसार यस्तो हुन्छ भनेर भन्नुभयो । मास्कवाद लेलिनवादको सुरुवात हुँदा पुँजीबजारको प्रचलन नै थिएन । उहाँले के देखर यस्तो कुरा गर्नुभयो । उहाँले अभिव्यक्ति दिएपछि पछुताउनुबाहेक अन्य विकल्प नै छैन । तीरबाट कमान्ड निस्किएपछि त्यो फिर्ता आउँदैन ।
यो सय, २ सय जनाको मात्र पुँजीबजार होइन, यहाँ ४० लाख लगानीकर्ताहरू छन् । विदेशमा श्रम बेच्न गएका ६० लाख दाजुभाइहरूले विदेशमा बचाएर नेपाल पठाएको पैसा यसमा लगानी भइरहेको छ । यो कुरा नबुझी निकै गैरजिम्मेवार पूर्ण तरिकाबाट आफ्नो अभिव्यक्ति दिनुभयो, बडो दुःख लाग्यो । ४४ खर्बको पुँजीबजार ३२ अर्बमा झरिसकेको छ । त्यसमाथि यो निकै संवेदनशील बजार हो । यस्तोमा मनपरि बोल्दा त्यसले बजारलाई निकै असर गर्छ । पछि बोली सच्चिए पनि बजार सच्चिँदैन ।
त्यसमाथि अहिले सेयर बजारमा सबैभन्दा धेरै प्रभावित भएका नै साना लगानीकर्ताहरू हुन् । उनीहरूले घरखर्च चलाउने पैसासमेत सेयरमा लगानी गरेका छन्, कतिले बैंकबाट ऋण लिएर सञ्चालन गरिरहेका छन् । बजार यसरी नै घट्दै जाने हो भने त्यस्ता व्यक्तिहरूले गलत कदम नउठाउलान् भन्न सकिँदैन । त्यसैले यसको संवेदनशीलतालाई बुझ्नुपर्छ ।
उहाँले उत्पादनशील भएन भन्नुभयो । सेयर बजारमार्फत बैंकमा लगानी भइरहेको छ । होटल व्यवसायमा लगानी भइरहेको छ । ऊर्जामा लगानी भइरहेको छ । के ती सबै अनुत्पादनशील क्षेत्र हुन् त ? उनीहरूले त रोजगारी दिइरहेका छन् । उत्पादन दिइरहेका छन् । त्यसले अर्थतन्त्रको मेरुदण्डको रूपमा विकसित भइरहेको पुँजीबजारलाई थिचोर्नुभन्दा अझै सुधारमा लाग्नुपर्छ ।
प्रचण्डले बोलेको कुरा सही हो भन्न सकिँदैन
हेमन्त बस्याल
लगानीकर्ता
३ हजार २ सय ३७ बाट घट्दै गरेको तीन–चार महिनाको अवस्था हेर्ने हो भने तरलताको अभाव र ओभर हिटेड मार्केटले असर गरेका हुन् । केही क्षेत्रहरूमा ओलभर भ्यालु पनि भएको थियो । त्यसलाई करेक्सन हुँदा पनि केही घटेको हो । सँगसँगै घट्नुको अर्को कारण विस्तारै तरलतामा संकुचन आयो । त्यो कारणले गर्दा पनि लगानीकर्ताहरू केही हतोत्साहित भएको देखिन्छ ।
बजारमा केही करेक्सन आएको कुरालाई नकारात्मक रूपमा लिनु हुँदैन । तर, अहिले जुन तरिकाले बजार घटिरहेको छ, त्यसको गति निकै डरलाग्दो छ । जुन अलि अस्वाभाविक देखिन्छ । अहिले राजनीतिक वर्ग, त्यसमा पनि सरकारमा रहेको पार्टीको नेतृत्ववर्गले दिएको जुन धारणा छ, त्यो धारणा वास्तविकता बुझेर भन्दा पनि नबुझीकन दिएको जस्तो देखिन्छ । उहाँले धितोपत्र बोर्ड, आईएमएफ र एडीबीलाई एउटै बास्केटमा राखेर मूल्यांकन गर्नुभएको छ । तर, यी तीन एउटै बास्केटमा कुनै पनि हालतमा रहन सक्दैनन् । अलिकति राजनीतिक नेतृत्ववर्गले पुँजीबजारमा गरेको लगानी पनि उत्पादनशील क्षेत्रमा गरिएको लगानी हो भन्ने कुरालाई स्पष्ट नबुझेको हो कि जस्तो लाग्यो । नबुझेको होइन तर जसरी बुझ्नुपर्ने हो त्यसरी नबुझेको जस्तो लाग्यो ।
यसमा लगानीकर्ताहरू पनि केही सजग हुनुपर्छ । उनीहरूले कुन परिप्रेक्ष्यमा बोलिरहेका छन् । कार्यकर्ताको बीचमा बोलिरहेका छन् वा नीति–निर्माताहरूको बीचमा बसेर बोलिरहेको छ भन्ने कुराले पनि फरक अर्थ राख्छ जस्तो लाग्छ । अहिले लगानीकर्ता त्रसित भएको बेलामा यस्तो अभिव्यक्ति आउँदा इतिहास दोहोरिने हो कि भन्ने डर लगानीकर्तामा देखिएको छ । त्यही बेलामा स्याल पनि कराउनु कुखुरा पनि हराउनुजस्तै भएको अवस्था पक्कै पनि हो । उहाँले बोलेको कुरा सही हो भनेर त किमार्थ भन्न सकिँदैन । कि त उहाँले फरक तरिकाले हामी १८औँ शताब्दीतिरको कम्युनिस्ट हौँ भन्नुप¥यो । हैन माओवादलाई अनुसरण गर्छौं भन्ने हो भने माओवादलाई जसरी चीनमा अपडेट गर्दै आइयो त्यो कुरालाई लिने कि नलिने भन्ने उहाँहरूको राजनीतिक मुखपत्रले निर्धारण गर्ने कुरा भयो । जब उहाँहरूका हरेक गतिविधि माओदेखि अगाडि आएर ताओसँग मेल खाने किसिमका छन् । पुँजीबजारको विषय मात्र त्यो हुन सक्दैन । यसमा केही राजनीतिक गन्धसहित दिइएको अभिव्यक्ति हो । अर्थतन्त्रको लागि नेतृत्व गर्ने गरी बोलिएको कुरा होइन भन्ने तरिकाले मैले बुझेको छु । त्यसलाई लगानीकर्ताले पनि बुझ्नुप¥यो । जसले त्यसरी भन्नुभएको छ, उहाँ अथवा उहाँका पार्टीका मानिसहरूको पनि ठूलो लगानी पुँजीबजारमा छ । त्यसैले कि उहाँले मेरो पार्टीका कुनै पनि कार्यकर्ताले पुँजीबजारमा लगानी नगर भन्नुप¥यो । हैन भने हामी पनि सामाज्यवादी हौं भन्नुप¥यो ।