Logo

चियाको गुणस्तर र उत्पादन वृद्धि गर्न विशेष कार्यक्रम ल्याउँदै बोर्ड


चियाको राजधानीका रुपमा परिचित इलामका किसानहरुलाई चियाको गुणस्तर र उत्पादिन बृद्धिका लागि कार्यक्रम अगाडी बढाइएको छ । चिया तथा कफि विकास बोर्डले चिया किसानलाई लक्षित गरेर कार्यत्रम अगाडी बढाएको हो ।
हाल चियाको उत्पादन बन्द छ । जाडो महिना सुरु भएसँगै चियाको उत्पादन बन्द हुन्छ । तर यहि सिजनमा चियालाई छाँटकाँट गर्नु पर्दछ । चिया छाँटकाँट नमिलाउँदा उत्पादन र गुणस्तर दुवै राम्रो नहुने भएकाले चिया तथा कफी विकास बोर्डले कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
जाडो महिना सुरु भएसँगै चिया कटिङ सिजन सुरु भएको छ ।
यहि अवसरमा बोर्डले जिल्लाका चिया किसानलाई चिया काट्ने तालिम दिने भएको हो । चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले कागजी प्रक्रियामा काम देखाएर चियाको विकास नहुने भन्दै प्रयोगात्मक रुपबाटै अघि बढ्न तालिम आवश्यकता रहेको बताए । उनले यसअघि पनि चियाको लागि धेरै कार्याक्रम भए तर उद्योग लक्षित कार्यक्रम भएका कारण चिया कृषकले केही जानकारी नपाएको गुनासो बढेपछि चरणवद्ध रुपमा किसान लक्षित कार्यक्रम सञ्चालन गरिने भएको हो ।
किसानलाई छाँटकाँट गराउन आउने पुस २ गतेबाट चिया काट्ने तालिम सुरु हुँदैछ । यो कार्यक्रम किसानसँग प्रत्यक्ष सञ्चालन हुने भएकाले फलदायी हुने अपेक्षासमेत गरिएको छ ।
चियाका बिभिन्न चरण छन् । चिया टिपाई मात्र नभएर छाँटकाँट, गोडमेल तथा मलपानी नमिल्दा उत्पादनमा कमी हुने गरेको छ । यस पटक बोर्डले तालिका नै बनाएर सिजन अनुसारको तालिम दिने भएको छ ।
यस कार्यक्रमले किसानहरुको चियाको गुणस्तरको विकास गर्न सकिने र बजारीकरणमा समस्या नहुने अपेक्षा लिइएको छ । बोर्डका कार्यकारी निर्देशक भट्टराई भने, “यो समय चिया कटिङको हो । किसानले चिया कसरी काट्ने भन्ने पनि अहिलेसम्म थाहा नहुँदा चियाको गुणस्तरमा समस्या आएको छ । त्यसैले पनि पहिलो चरणमा चिया कटिङको तालिम आवश्यकता छ । त्यो तालिम हामीले लगत्तै सञ्चालनको तयारी गरेका हौँ ।”
जिल्लाका २७ सय किसान तालिमका लागि छनौटमा परिसकेका छन । आगामी दुई गतेबाट ११ सम्म जिल्लाका १२ ठाउँमा तालिम सञ्चालन गरिने छ । तालिममा १५ देखि ३० जनाको समूह बनाएर तालिम दिइने पनि भट्टराईको भनाइ छ । चिया कृषकलाई प्रमाणपत्रको आधारमा छनौट गरेर नहुने भन्दै प्रयोगात्मक रुपमा तालिम दिइने उनको भनाइ छ । तालिमका लागि कृषक छनौट गर्दा उद्योगसँग आवद्ध कृषकको सूचीका आधारमा छनौट गरिएको छ ।
दीर्घकालिन विकास र बजारीकरणका लागि चियाको गुणस्तर नभए समस्या हुने गरेको छ । अन्तर्राष्ट्रिय स्तरमा नेपालको चिया उत्कृष्ट बनाउन पनि सुधार आवश्यक रहेको बोर्डको ठहर छ । चियालाई दीर्घकालिन रुपमा गुणस्तरीय बनाउनका लागि केहि नीति नियमको पनि आवश्यकता रहेको भन्दै त्यसका लागि पनि बोर्डले प्रक्रिया अघि बढाइसकेको उनले बताए ।
विभिन्न किसिमका तालिम आयोजना सञ्चालन गरी किसानलाई दक्ष बनाउन पहिलो आश्यक रहेको उनी बताउँछन् । कार्यकारी निर्देशक भट्टराईले बोर्डले यो परियोजना सफल बनाई सक्दा चियामा बजारीकरणका लागि कुनै समस्या नरहने ठोकुवा गरे । उनले केही उद्योग अहिले पनि परियोजना भन्दा अलग रहेको भन्दै उनीहरुलाई पनि यो परियोजना व्यक्तिको र कुनै निजी संस्था नभएर सरकारले नै परियोजना सञ्चालन गरेको बुझ्न पनि आवश्यक रहेको बताए ।
सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले चियाको मूल्य समाधानका लागि नगरपालिकाले न्यूनतम मूल्य तोकेरै अघि बढाएपनि केहिी व्यक्तिले त्यसलाई नकारात्मक प्रयोग गरेको बताए । उनले नगरले न्यूनतम मूल्य ४० रुपैयाँ प्रतिकिलो तोके पनि त्यसलाई नकारात्मक रुपमा प्रयोग नर्दै नगरपालिकाले जुनसुकै चियाको मूल्य पनि प्रतिकिलो ४० रुपैयाँ तोकेको भनेर कृषकलाई सन्देश दिएको बताए । उनले भने, “नेपालको चियालाई विश्वबजारमा पुर्याउनका लागि पनि नगरपालिकाले सुरु गरिसकेको छ ।”
इलाममा तीन हजार तीन सय ९३ हेक्टरमा चिया खेती फैलिएको छ भने झापामा सात हजार एक सय ९५ हेक्टरमा चियाको खेती हुने सर्वेक्षणले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्