दिगो विकास लक्ष्यका लागि सहकारीको भूमिका बढाइने

सहकारीहरूको छाता संगठन राष्ट्रिय सहकारी महासंघले दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारीको भूमिका वृद्धि हुने गरी संस्थाहरूको क्षमता विकास गर्ने भएको छ । संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा महासंघले प्रारम्भिक संस्थाहरूको क्षमता विकास कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
दिगो विकास लक्ष्यमा प्रदेश नं. २ का सहकारीको भूमिका शसक्त बनाउनका लागि महासंघ र यूएनडीपीबीच सम्झौता भएको छ । यससम्बन्धी सम्झौतामा महासंघका अध्यक्ष केशवप्रसाद बडाल र यूएनडीपीका कन्ट्री डाइरेक्टर रिनाउड मेयरले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार दिगो विकास लक्ष्यको विषयमा सचेतना जगाउन संयुक्त रूपमा पहल गर्ने र सबै स्टकहोल्डर तथा सबै तहका सहकारी संघ÷संस्थाहरूलाई दिगो विकास लक्ष्यका लागि योगदान दिनका लागि पैरवी गर्ने उल्लेख छ ।
यो साझेदारीले दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारीको योगदानलाई अधिकतम वृद्धि गर्नका लागि अन्य विकल्पको समेत खोजी गर्ने बताइएको छ । “राष्ट्रिय सहकारी महासंघ नेपालसँगको यो साझेदारीले दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्न र लक्ष्य प्राप्तिमा उनीहरूको योगदान दिनका लागि देशभरि रहेका सहकारीको विशाल नेटवर्कले महत्वपूर्ण काम गर्ने हामीले विश्वास लिएका छौं,” कन्ट्री डाइरेक्टर मेयरले भने, “सामाजिक–आर्थिक सशक्तीकरण, सहभागीता र समावेशिताको महत्वपूर्ण अंगका रूपमा सहकारी रहेको छ । त्यही अवधारणमार्फत कसैलाई पछाडी नपारी अगाडि बढ्नु नै विश्वव्यापी लक्ष्यको पनि उपलब्धि हो ।”
महासंघका अध्यक्ष बडालले दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न दिशानिर्देश निर्माण गर्न सहकारीहरू प्रतिबद्ध रहेको बताए । “हामी निरन्तर रूपमा सबै तहका सहकारीको क्षमता वृद्धि गर्ने छौं, जसका कारण उनीहरूले दिगो विकास लक्ष्य प्राप्तिका लागि निश्चित भएर योगदान दिन सक्ने छन्,” उनले भने ।
महासंघले आफ्नो गतिविधिमा दिगो विकास लक्ष्यलाई जोड्ने छ । जसले सकारात्मक र दीर्घकालिन योगदान सिर्जना गर्नका लागि भूमिका खेल्ने छ । यूएनडीपी र महासंघबीच दिगो विकास लक्ष्यको प्रगतिका लागि सहकारीलाई स्थानीय तथा प्रदेश सरकार र निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्ने अनुकूल वातावरण निर्माण गर्न योजना बनाइ काम गर्ने सहमति समेत भएको छ ।