Logo

सानो उर्जा बचतमा उद्योगीको बेवास्ता


औद्योगिक उत्पादनको मुख्य लागतमध्येको एक ऊर्जा खपत वर्षेनि बढ्दै गए पनि मुलुकका उद्योगी व्यवसायीहरु ऊर्जा बचतका सन्दर्भमा भने सचेत नभएको पाइएको छ ।
सरकारले गरेको एक अध्ययन अनुसार उर्जा बचतको क्षेत्रमा उद्योगिहरुले त्यति चासो देखाएका छैनन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको उद्योग विभागले हालै गरेको एक अध्ययन अनुसार व्यवसायीमा ऊर्जा व्यवस्थापन सम्बन्धी चेतनाको कमी भएको उल्लेख छ ।
विभागले तीन उद्योगको स्थलगत अध्ययन गरी ‘इनर्जी अडिट’ गरेको थियो । विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीका अनुसार प्रदेश १ को सुनसरी दुहवीमा रहेको एसियन थाई फुड्स प्रालि, बागमती प्रदेशको बालाजु औद्योगिक क्षेत्रमा रहेको हिमाल अक्सिजन प्रालि र मोरङको मालायारोडमा रहेको एमएम प्लाष्टिकमा विभागको टोलीले इनर्जी अडिट गरेको थियो ।
ऊर्जा व्यवस्थापन प्रणाली लागु गर्ने सिलसिलामा गरिएको इनर्जी अडिटको नतिजा अनुसार, उर्जा बचतको क्षेत्रमा उद्योगीले त्यति चासो नदेखाएको उल्लेख छ । यस्तै सानो ठाँममा थोरै विद्युतीय, तापिय उर्जा खेर जाँदैमा खासै फरक नपर्ने भन्ने सोचाइको मानसिकताले उद्योगहरुबाट धरै उर्जा खेर गइरहेको जनाइएको छ । “यसको कारणले ठूलो धनराशीको नोक्सानी व्यहोर्नु परेको तथ्य स्पष्ट देखिन्छ,” प्रतिवेदनमा भनिएको छ ।
सानो र मध्यम खालको लगानीबाट ती पक्षमा सुधार गरेमा उर्जा बचतका कारणले छोटो समयमै लगानीको प्रतिफल प्राप्त हुने उल्लेख छ । यसबाट उद्योगीलाई बढी फाइदा हुन जाने भएपनि उद्योगीले चासो नदेखाएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार एसियन थाई फुड्समा धानको भुसबाट सञ्चालित बोइलरमा बढी हावा मापन गर्ने उपकरणले काम नगरेकाले बोइलरमा बढी हावा प्रवाह भएको थाहा नहुँदा धेरै उर्जा खेर गइरहेको उल्लेख छ । जसमा तुलनात्मक रुपमा थोरै लगानीबाट हावाको प्रवाह मापन गर्ने उपकरण जडान गरी, हावाको प्रवाहलाई नियन्त्रण गरी पूर्ण जलन गराई धेरै उर्जा बचत हुन सक्ने उदाहरण दिइएको छ । सोही उद्योगमा स्टिम लिकेज भइरहेको ठाँउमा ‘फ्लेन्ज भल्भ’ आदिमा इलुष्टेसन गरेमा वर्षभरीको हिसाब गर्दा धेरै उर्जा बचत हुन सक्ने जनाइएको छ ।
हिमाल अक्सिजन प्रालिमा विद्युतीय उर्जाको खपतमा कम गर्न पावर फ्याक्टर सुधारका लागि जडान भइराखेको एपीएफसी नभएकाले सो जडान गरेमा पीएफमा सुधार आई उर्जा बचत हुने उल्लेख छ । यो उद्योगले आफूलाई चाहिने भन्दा बढी विद्युतको विद्युत प्राधिकरणसँँग सम्झौता गरी न्यूनतम महसुल महिनै पिच्छे बढी तिरिरहेको उल्लेख छ । यता, एमएम प्लाष्टिकको हकमा कम्प्रेसरमा भीएफडी स्थापना गरेमा उर्जा बचत हुने प्रष्ट देखिएको उल्लेख छ ।
उद्योगमा मोटरहरुलाई धुलोबाट जोगाएमा मोटरको आयु बढी हुने तथा कम उर्जा खाने भएपनि त्यसो नभएको उल्लेख छ । यस्तै, बढी उर्जा खपत गर्ने चिम लाइटलाई एलईडीबाट परिवर्तन गरेमा प्रष्ट फाइदा हुने तथ्य देखिएको प्रतिवेदनमा उल्लेख छ । आगामी दिनमा अन्य यस्तै प्रकारका उद्योगले प्रयोग गरेका विद्युतीय, तापिय उपकरण तथा मेसिन प्रयोग गर्ने किसिमका उद्योगले यस्ता कुरामा ध्यान दिन सकेमा उर्जा बचतको क्षेत्रमा राम्रो योगदान हुने प्रतिवेदनको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्