रणनीतिक उत्पादनकै निर्यात घट्दै

उत्पादन नै बढ्न नसकेका कारण निर्यातमा कमी आउनु एक प्रकारले सरकारको असफलता नै हो ।
नेपाली उत्पादनको बजारीकरण तथा प्रवद्र्धन गर्न सरकारले विकास साझेदारहरूको सहयोगमा एकीकृत व्यापार रणनीति (एनटीआईएस) बनाएर लागू गरेको लामो समयपछि पनि ती प्रमुख उत्पादनको निर्यात बढाउन भने सरकार असफल रहेको छ । पछिल्लो समयमा नेपालको निर्यात व्यापारमा सरकारको ध्यान जान नसकेको कारण पनि निर्यात बढ्न नसकेको देखिन्छ । रणनीति बनाउँदा सरकार तथा निजी क्षेत्रमा जति धेरै उत्साह थियो त्यो उत्साह बिस्तारै सेलाउँदै गएको पनि देखिन्छ । कारण पछिल्ला वर्षहरूमा लगातार एनटीआईएसभित्र रहेका उत्पादनको निर्यात घट्दै गएको छ
। एकातिर कोरोना कहरका कारुण घट्दो उत्पादन, अर्कातिर सरकारको ध्यान पनि निर्यात व्यापारमा सहजीकरण गर्नेतिर नरहेका कारण पनि रणनीतिको आशातीत प्रतिफल प्राप्त नभएको हो । व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रका अनुसार रणनीतिभित्र परेका छालाका कपडा, कार्पेट, फुटवेयरको निर्यात घटेको छ । उत्पादन नै बढ्न नसकेका कारण निर्यातमा कमी आउनु एक प्रकारले सरकारको असफलता नै हो । किनकि सरकार, विकास साझेदार तथा निजी क्षेत्र बसेर बनाएको निर्यात प्रवद्र्धन योजना तथा त्यसमा भएको सबैको लगानी खेर जानु नेपालमा रणनीति कसरी बन्छ भन्ने उदाहरण पनि हो ।
एनटीआईएसअन्तर्गत अलैंची, अदुवा, चिया, जडीबुटी, फेब्रिक, लेदर, फुटवेयर, पस्मिना र कार्पेट छन् । सरकारले स्वदेशी वस्तुको पहिचान गरेर निर्यात गराउने लक्ष्यसहित नौवटा उत्पादन र तीन सेवा क्षेत्रलाई यस रणनीतिअन्तर्गत राखेको थियो । सन् २०१६ मा सुरु भएको उक्त कार्यक्रम हालसम्म आउँदा पनि सुधार नआउनु एउटा गम्भीर अध्ययनको विषय हो । नेपालमा प्रतिस्पर्धी क्षमता भएका भनिएका कृषिजन्य क्षेत्रतर्फ अलैंची, अदुवा, चिया र औषधिजन्य जडीबुटी, औद्योगिक उत्पादनतर्फ कपडा, छाला, जुत्ता, गलैंचा, पस्मिना तथा सेवा क्षेत्रतर्फ दक्ष र अर्धदक्ष जनशक्ति, सूचना प्रविधि र पर्यटन गरी १२ वटा क्षेत्रलाई मुख्य प्राथमिकता दिइएको रणनीति विकास साझेदारको सक्रिय सहभागितामा सुरु भएको थियो । तर, स्वदेशी वस्तुको निर्यात वृद्धि गरी मुलुकमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित २०१६ मा पाँच वर्षका लागि ल्याइएको रणनीतिको समय सकिएपछि यसलाई पुनरावलोकन गर्नुपर्र्ने आवश्यकता देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा चलायमान रहेको कारण विभिन्न समयमा विभिन्न वस्तुको माग बढ्ने तथा घट्ने भइरहन्छ । त्यसैअनुरूप रणनीतिले पनि नयाँ वस्तु थप गर्ने तथा हटाउने गर्न सकिन्छ । अन्यथा बजारको माग एकातिर तथा आपूर्तिको चक्र अर्कोतिर हुँदा पनि निर्यात प्रवद्र्धनमा समस्या आउँछ । त्यसैले नेपालले आफ्नो उत्पादन बढाउने तथा बजारको खोजी गर्ने कामसँगसँगै लैजान आवश्यक छ । अन्यथा पुराना बजारमा पनि विस्थापित हुने, नयाँ बजार पनि नखोज्ने गर्दा उत्पादन बढाए तापनि निर्यात बढाउन सकिन्न ।
व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रका अनुसार, आव २०७६-०७७ मा १६ करोड ४९ लाख ३६ हजार रुपैयाँबराबरका छालाका कपडा निर्यात भएकोमा आव २०७७-०७८ मा घटेर १४ करोड ७३ लाख ७७ हजार रुपैयाँको मात्र निर्यात भएको छ । यस्तै आव २०७६-०७७ मा ७५ करोड ३९ लाख ४१ हजार रुपैयाँको फुटवेयरका सामान निर्यात भएकोमा आव २०७७-०७८ मा घटेर ७१ करोड ६३ लाख ६६ हजार रुपैयाँमा झरेको छ । यस्तै, आव २०७७-०७८ मा ३७ अर्ब ४४ करोड ८१ लाख ९९ हजार रुपैयाँको एनटीआईएसका उत्पादन निर्यात भएको केन्द्रले जनाएको छ । आव २०७७-०७८ मा नेपालबाट कुल १ खर्ब ४१ अर्ब १२ करोड ४ लाख रुपैयाँको निर्यात भएकोमा जम्मा ३७ अर्ब रुपैयाँका सामान मात्रै एनटीआईएसभित्रका थिए । यसरी कुल निर्यातमा एनटीआईएसका उत्पादनको योगदान २६.३८ प्रतिशत मात्र रहेको छ । विशेष गरी छालाका सामान, फुटवेयर कार्पेटको उत्पादन घटेकाले निर्यात बढ्न नसकेको बताए तापनि अलैंची, अदुवा, चिया, जडीबुटी, पस्मिनाको निर्यात भने केही बढेको देखिन्छ । त्यसैले निर्यात बढेका वस्तुमा ध्यान बढी केन्द्रित गरेर प्रवद्र्धन गर्ने तथा निर्यात घटेका वस्तुको नयाँ बजार खोज्ने वा पुनरावलोकन गर्ने कार्य गर्न आवश्यक छ ।