चितवनबाट बाघ गणना २०२२ सुुरु «

चितवनबाट बाघ गणना २०२२ सुुरु

राष्ट्रिय बाघ गणना २०२२ चितवनबाट सुुरु भएको छ । चितवनको सौराहामा एक कार्यक्रमबीच वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले बाघ गणनाका लागि जडान हुने क्यामरा अन गरेर राष्ट्रिय बाघ सर्वेक्षण २०२२ सुरु गरेका छन् । बाघ सर्वेक्षण उद्घाटन गर्दै मन्त्री यादवले सन् २०२२ भित्र नेपालमा बाघको संख्या दोब्बर बनाउने अन्तर्राष्ट्रिय प्रतिबद्धता सहजै पूरा हुने बताए ।
नेपालले सन् २०१० मा रसियाको सेन्टपिटर्सबर्गमा भएको अन्तर्राष्ट्रिय बाघ सम्मेलनमा सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो । सन् २०१८ मा बाघको संख्या २ सय ३५ रहेकोले अब १५ वटा मात्रै बाघको संख्या बढे प्रतिबद्धता पूरा हुने भन्दै मन्त्री यादवले बाघको संख्या २ सय ५० पुग्नेमा विश्वस्त रहेको बताए ।
नेपालको तर्फबाट तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएका थिए । सन् २००९ मा नेपालमा १२१ वटा बाघ रहेको अनुमान गरिएको थियो । प्रतिबद्धताअनुसार सन् २०२२ मा बाघको संख्या २५० पुग्नुपर्ने हुन्छ ।
बाघको बासस्थान विस्तार गरेको, बाघको आहार प्रजाति बढाइएको, वन्यजन्तुको संरक्षणमा आमजनताको सहयोग, सुरक्षका लागि नेपाली सेना निकुञ्ज र आरक्ष क्षेत्रमा खटिएकालगायतको कारणले बाघको संख्या नेपालमा बढ्दै गएको वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कंँडेलले बताए ।
बाघ सर्वेक्षणमा नेपाल सरकार, डब्लूडब्लूएफ नेपाल, जेडएसएल नेपाल र राष्ट्रिय प्रकृति संरक्षण कोषबाट आर्थिक तथा प्राविधिक सहयोग रहेको छ । बाघ सर्वेक्षण २०२२ का लागि करिब तीन करोड ७० लाख खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्