मनाङको अपराजित यात्रा
![](https://www.karobardaily.com/wp-content/uploads/2021/03/football.jpg)
दुई पटकपछि सम्हालिएको प्रदर्शन गरेर पोखरेली टोली मनाङ–मस्र्याङ्दीले संकटा क्लबसँग बराबरी खेल्दा च्यासल युथ क्लब र न्युरोड टिम (एनआरटी) ले पनि बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङले दुई पटक पछि परेको अवस्थाबाट संकटाले २–२ गोलको बराबरी खेल्दै अंक खोस्दा दिनको दोस्रो खेलमा च्यासल युथ क्लब र एनआरटीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
पुनरागमनमा अंक खोसेको मनाङ लिग तालिकाको शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । यससँगै जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङले आफ्नो अपराजि यात्रा तेस्रो खेलमा पनि निरन्तरता दिएको छ भने मनाङको विजयी यात्रामा पूर्णविराम पनि लागेको छ । २–२ को बराबरी खेल्दै अंक बाँड्ने क्रममा संकटाका लागि निरज बस्नेत र उत्तम राईले एक-एक गोल गर्दा मनाङका दयानन्द सिंह र फ्रान्कलिन क्वेटाले एक एक गोल गरे ।
कीर्तिमानी ८ पटकको च्याम्पियन मनाङविरुद्ध ३० औं मिनेटमा निरजले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए । लक्ष्मण रुचालको फ्रिकिकमा निरजले हेडरमार्फत जाली चुमाउन सफल भएका थिए । तर, खेलको ३५ औं मिनेटमा दयानन्दले गोल गर्दै मनाङलाई १–१ गोलको बराबरीमा फर्काए । पुजन उपरकोटीको फ्रिकिकमा फ्रान्कलिन क्वेटाको पासमा भारतीय मिडफिल्डर दयानन्दले हेडरमार्फत गोल गरेका हुन । त्यसपछिको पहिलो हाफमा दुवै टोलीबाट थप गोल हुन सकेन ।
दोस्रो हाफमा दुबै टोलीले आक्रामक खेल देखाए । खेलको ७० औं मिनेटमा उत्तमले गोल गर्दै संकटालाई २–१ को अग्रता दिलाए । बैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका उत्तमले फोडे फोफानाको पासमा जाली चुमाउन सफल भएका थिए । त्यसपछि दबाबमा परेको आठ पटकको च्याम्पियन मनाङका लागि इन्जुरी समयमा फ्रान्कलिनले गोल गर्दै मनाङलाई २–२ गोलको बराबरीमा ल्याउँदै टोलीलाई हारबाट जोगाए ।
यस बराबरीसँगै मनाङले ३ खेलमा ७ अंक जोडेको छ । मनाङ दोस्रो स्थानमा यथावत रहेको छ । संकटा भने ५ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । खेलमा संकटका टाम्पी अर्नेस्ट म्यान अफ दि म्याच चुनिँदा संकटाकै जय गुरुङ इमर्जिङ प्लेयर घोषित भए ।
प्रतिस्पर्धात्मक बनेको लिगको दोस्रो खेलमा च्यासलले लिएको सुरुआती अग्रता जोगाउन नसक्दा एनआरटीसँग अंक बाड्न पुगेको हो । ४३ औं मिनेटमा रुमेशले गोल गर्दै च्यासललाई १–० को अग्रता दिलाएका थिए । कमल श्रेष्ठको कर्नरमा एनआरटीका मेसौकेले हेडरमार्फत क्लियर गरेको बलमा पेनाल्टी एरिया भित्र रहेका रुमेशले भली गोल गर्दै टोलीको अग्रता निकालेका हुन ।
त्यसपछि खेलको ७८ औं मिनेटमा एनआरटीका दिपेश दृश्यले गोल गर्दै खेल बराबरीमा ल्याए । बैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका दिपेशले गोल गर्दै एनआरटीलाई बराबरीको अवस्थामा ल्याएका हुन । त्यसपछि दुवै टोली गोलका लागि निकै संघर्ष गरे पनि थप गोल गर्न सकेनन र खेल बराबरीमा सकियो ।
यस बराबरीसँगै च्यासलले ३ खेलमा ४ अंक जोडेको छ । एनआरटीले ३ खेलमा २ अंक जोडेको छ । खेलमा च्यासलका बिराज महर्जन म्यान अफ दि म्याच चुनिए भने इमर्जिङ प्लेयरको अवार्ड च्यासलकै रुमेश बर्तौलाले बाजी मारे ।