नेपालमै पुनर्बिमा गर्नुपर्ने समितिको निर्देशन विवादमा «

नेपालमै पुनर्बिमा गर्नुपर्ने समितिको निर्देशन विवादमा


बिमा कम्पनीहरुले देशभित्रै पुनर्बिमा गर्नुपर्ने बिमा समितिको निर्णय विवादमा परेको छ । समितिको निर्देशन बिमाको सिद्धान्तविपरीत भएको भन्दै बिमकहरुले विरोध गरेपछि समिति अप्ठेरोमा परेको हो ।
समितिले गत बिहीबार कम्पनीहरुलाई आन्तरिक रुपमा पत्र पठाएर सम्पूर्ण पुनर्बिमा नेपालमै गर्न निर्देशन दिएको थियो । तर देशभित्र पुनर्बिमा गर्दा जोखिम एकै ठाउँमा केन्द्रित हुने र प्राकृतिक प्रकोपलगायतका कारण एकैपटक दावी भुक्तानी दिनुपर्ने अवस्था आएमा बिमा क्षेत्र नै समस्या पर्ने भन्दै बिमकहरुले विरोध गरेका हुन् ।
नेपाल बिमक संघ र नेपाल जीवन बिमक संघको छुट्टाछुट्टै बसेको बैठकले देशभित्र सम्पूर्ण बिमा गर्नुपर्ने बिमा समितिको निर्देशन बिमाको सिद्धान्त विपरीत भएको भन्दै सच्याउन समितिमा पत्र पठाउने निर्णय गरिसकेका छन् । तर, अध्यक्ष सूर्य प्रसाद सिलवालको समय नपाएपछि ज्ञापनपत्र भने बुझाउन पाएका छैनन् ।
“इन्स्योरेन्समा प्रिमियम भन्दा पनि जोखिम हेर्ने हो । जति धेरै जोखिम हस्तान्तरण भयो, त्यति धेरै दावी भुक्तानी गर्न सजिलो हुन्छ,” नेपाल बिमक संघका महासचिव चंकी श्रेष्ठले भने, “एउटै ठाउँमा पुनर्बिमा गर्दा भोली कुनै महाविपत्ति आउँदा कम्पनी र राष्ट्रका लागि पनि राम्रो हुँदैन”
संघले बिमाको सिद्धान्त, देशभित्रै पुनर्बिमा गर्दाका फाइदा/घाटा र इन्स्योरेन्स कम्पनीलाई पर्ने प्रभावबारे खुलाएरै समितिमा ज्ञापनपत्र बुझाउने तयारी गरेको छ ।
समितिले भने पुनर्बिमाका रुपमा बाहिर जाने पैसा रोक्नका लागि देशभित्रै पुनर्बिमा गर्न निर्देशन दिएको स्पष्ट पारेको छ । देशमै दुईवटा कम्पनी सञ्चालनमा रहेको र देशको वैदेशिक मुद्रा सञ्चिती घट्दै गएको अवस्थामा यस्तो व्यवस्था गरेको समितिले जनाएको छ ।
तर, समितिले नै जारी गरेको पुनर्बिमा निर्देशिका २०७८ मा भने बिमकले पुनर्बिमा गर्दा पर्याप्त जोखिम विविधकीरण हुने गरी पुनर्बिमा विविधीकरण गर्नुपर्ने भन्दै मुख्य पुनर्बिमकलाई बढीमा ४० प्रतिशतसम्म र अन्य सहभागी पुनर्बिमकलाई बढीमा २० प्रतिशतसम्म मात्र पुनर्बिमा गर्नुपर्ने व्यवस्था गरिएको छ ।
समितिले भने नेपाली पुनर्बिमाले दायित्व लिन नसकेको खण्डमा मात्र विदेशी कम्पनीमा पुनर्बिमा गर्न भनेको छ । हाल बिमा कम्पनीहरुले कुल दायित्वको २० प्रतिशत पुनर्बिमा देशभित्रकै कम्पनीमा गर्दै आएका छन् । प्रभु लाइफ इन्स्योरेन्सका सञ्चालक समेत रहेका नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले ३९ वटा कम्पनीको दायित्व नेपाली पुनर्बिमा कम्पनीले धान्न नसक्ने बताए । “अमेरिका जस्तो देशमा त अर्को देशको कम्पनीसँग पुनर्बिमा हुन्छ,” उनले भने, “नेपालमा भोलि ठूलो विपत्ति आयो भने खर्बौंको दायित्व नेपाली पुनर्बिमा कम्पनीले कसरी धान्छन् ?”

प्रतिक्रिया दिनुहोस्