गुठीको मर्मअनुसार काम गर्न मन्त्री श्रेष्ठको निर्देशन «

गुठीको मर्मअनुसार काम गर्न मन्त्री श्रेष्ठको निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले गुठी संस्थान स्थापनाको उद्देश्य, मर्म र भावना अनुरुप परिणाम देखिनेगरी काम गर्न निर्देशन दिएकी छन् ।
गुठी संस्थानको केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा मंगलबार संस्थानमार्फत भइरहेका काम र आगामी कार्ययोजनाबारे जानकारी लिँदै मन्त्री श्रेष्ठले देशभर रहेका गुठीको सम्पतिको संरक्षण गर्न कार्ययोजना नै बनाएर अगाडि बढ्न संस्थानका पदाधिकारीलाई निर्देशन दिइन ।
गुठीसम्बन्धी धेरै गुनासा छन् ति गुनासा अन्त्य गर्ने, समस्यालाई जरैदेखि समाधान गर्ने र देशका कतिपय ठाउँमा रहेका गुठीका सम्पतिबारे अझै पनि जानकारी नै नभएको जस्ता समस्या पनि रहेकाले यस्ता समस्या हल गरेर राज्यको सम्पतिको संरक्षण गर्न तत्कालीन र दीर्घकालीन रूपमा समस्या समाधान गर्ने गरी कार्ययोजना बनाएर अगाडि बढ्न आग्रह गर्दै उनले भनिन्, “मन्त्रालय र म व्यक्तिगत तर्फबाट पनि यसका लागि सहयोग गर्न तयार छौं, हाम्रो साथ र सहयोग सधै रहिरहने छ ।”
उनले देशका विभिन्न भागमा रहेका गुठीको जग्गा के भइरहेको छ भनेर अरुले जानकारी दिनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने भन्दै देशभर रहेका गुठीको जग्गाको यकीन तथ्यांक संकलन गर्न पनि निर्देशन दिइन् ।
संविधानले नै गुठीको सम्पति संरक्षणको विषय शुनिश्चित गरेकाले त्यसअनुसार छिटो समस्या समाधान गर्ने गरी संस्थानले आफ्ना कामलाई चुस्त दुरुस्त बनाउन ढिला गर्न नहुनेमा पनि मन्त्री श्रेष्ठले जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस्