गैरआवासीय नेपालीलाई थप निक्षेप गर्न प्रोत्साहन «

गैरआवासीय नेपालीलाई थप निक्षेप गर्न प्रोत्साहन

केन्द्रीय बैंकले जापानी र चिनियाँ मुद्रामा समेत खाता खोल्न सकिने सुविधा थप गरिदिएको छ ।

नेपाल राष्ट्र बैंकले गैरआवासीय नेपालीबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न वाणिज्य बैंकहरूलाई लचिलो व्यवस्था गरेरक गैरआवासीय नेपालीको धेरै समय अगाडिदेखिको माग सुनुवाइ गरेको छ । चालू आर्थिक वर्ष २०७७-०७८ को मौद्रिक नीतिको त्रैमासिक समीक्षामा गरिएको घोषणाअनुसार केन्द्रीय बैंकले निर्देशन जारी गर्दै निक्षेप संकलनको व्यवस्था सहज बनाइदिएको हो । गैरआवासीय नेपालीले लामो समयदेखि सरकारसँग मुद्दती खाताको समय कम गर्न तथा बचत खाता पनि खोल्न पाउनुपर्ने माग गर्दै आएका थिए । जसलाई सम्बोधन गर्दै केन्द्रीय बैंकले वाणिज्य बैंकहरूले गैरआवासीय नेपालीबाट अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलर वा क्यानेडियन डलर, जापानी येन र चिनियाँ युआनमा एकवर्षे अवधिको मुद्दती निक्षेप खाता खोल्न पाउने जनाएको छ ।
यसअघि दुई वर्ष अवधिको मात्र मुद्दती खाता खोल्न सकिने व्यवस्था भएकोमा यसपटक गैरआवासीय नेपालीको मागअनुरूप समय घटाइएको हो । यसैगरी केन्द्रीय बैंकले जापानी र चिनियाँ मुद्रामा समेत खाता खोल्न सकिने सुविधा थप गरिदिएको छ । मुद्दती खातामा रकम प्राप्ति र फिर्ता बैंकिङ प्रणालीबाट गर्नुपर्ने निर्देशनमा व्यवस्था गरिएको भए तापनि समय घटाएर दुई वर्षबाट एक वर्षमात्रको मुद्दती खाता खोल्न पाउने बनाएर केन्द्रीय बैंकले गैरआवासीय नेपालीको माग सुनुवाइ गर्दा उनीहरू नेपालका खातामा निक्षेप गर्न प्रोत्साहित हुने आकलन छ । विश्वभर रहेका नेपालीले आफ्नो वार्षिक कारोबारको १० प्रतिशत पनि नेपालमा खाता खोलेर निक्षेप गर्न प्रोत्साहन भए यसबाट नेपालले फाइदा लिन सक्छ । साथै, केन्द्रीय बैंकले मुद्दती खातामा राख्नुपर्ने न्यूनतम रकममा पनि घटाइदिएको छ ।
यसअघि न्यूनतम १० हजार डलर निक्षेप राख्नुपर्ने प्रावधान रहेकोमा केन्द्रीय बैंकले घटाएर ५ हजार डलर कायम गरिदिएको छ । साथै, विदेशी मुद्रामा खाता खोल्ने ग्राहकको पहिचान अनलाइन माध्यमबाट समेत गर्न सकिने निर्देशन दिएर गैरआवासीय नेपालीलाई नेपालमा निक्षेप गर्न प्रोत्साहित गर्दा यसले नेपाललाई पनि फाइदा हुने देखिन्छ । यसबाट अल्पकालमा बैंकिङ प्रणालीमा तरलता अभाव भएसँगै निक्षेप बढाउनका लागि राष्ट्र बैंकले गैरआवासीय नेपालीबाट विदेशी मुद्रामा निक्षेप ल्याउने प्रावधानलाई लचिलो बनाएको मानिए तापनि दीर्घकालमा गैरआवासीय नेपालीले नेपालमा खाता खोली आफ्नो निक्षेप राख्दा नेपालमा विकासका लागि चाहिने स्रोतको व्यवस्थापन पनि गर्न सकिने सम्भावना हुन्छ । किनकि राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थाले दीर्घकालमा गैरआवासीय नेपालीको ४–५ अर्ब डलर नेपाल भित्रिन सक्ने सम्भावना छ । साथै, यसले नेपालमा लगानीको वातावरण बनेको सन्देश पनि दिन्छ ।
केन्द्रीय बैंकले आयात बढ्दै गएर विदेशी मुद्रा सञ्चितिमा दबाब बढेको कारण देखाएर चाँदी आयात तथा बिक्रीमा पनि कडाइ गरेको छ । राष्ट्र बैंकको निर्देशनअनुसार आयातित चाँदी व्यवसायीले गरगहना बनाई बिक्री गर्न पाउनेछन् भने हस्तकलालगायत सामान बनाई बिक्री गर्न र त्यस्ता सामान निर्यात गर्ने प्रयोजनका लागि आयात गर्न पाउनेछन् । तर, एकपटकमा ३५ हजार डलरसम्मको मात्र चाँदी आयात गर्नका लागि सटही सुविधा लिन सक्छन् । पछिल्ला महिनामा सुन तथा चाँदीको आयात अत्यन्तै बढेको कारण केन्द्रीय बैंकले कडाइ गरेको हो । अर्थमन्त्रालयले पनि अति विलासी वस्तुको आयातमा कडाइ गर्न गृहकार्य सुरु गरेको छ ।
कोरोना कहरपछि आयात ह्वात्तै बढेका कारण विदेशी मुद्रा सञ्चितिमा दबाब परेको छ, जसका कारण आयातमा नियन्त्रण गर्ने सरकारी नीति दखिन्छ । तर, आयात नियन्त्रण गर्नुभन्दा नियमन मात्र गर्नुपर्छ । अन्यथा भन्सार छलेर हुने व्यापारले सरकारको राजस्वमा पनि असर पार्छ । तसर्थ, सरकारले आयात नियन्त्रणको नीति बनाउँदा यसले औपचारिक व्यापार घटेर अनौपचारिक व्यापार बढ्न नदिन पनि सचेत हुनु आवश्यक हुन्छ । किनकि औपचारिक व्यापार घटेर सरकारलाई राजस्व घाटा पनि हुने तथा औपचारिक व्यापार बढेर आयात पनि निकयन्त्रण हुन नसक्ने स्थिति उत्पन्न हुनु अर्थतन्त्रका लागि घातक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्