हिमाल सफाइका लागि अन्तर्राष्ट्रिय सम्मेलन «

हिमाल सफाइका लागि अन्तर्राष्ट्रिय सम्मेलन

नेपालको पर्वतीय क्षेत्र तथा उच्च हिमाली क्षेत्रमा रहेको फोहोरको दिगो व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मार्गनिर्देशन बनाउने गरी आगामी जुनमा नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।
कार्यक्रममा हिमालय क्षेत्रका काम गरेका वैज्ञानिक, इन्जिनियर, वातावरण विज्ञ, डाक्टर लगायतको सहभागिता रहनेछ । यसको लागि मोडालिटी तय गर्नका लागि नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी र स्पेनी कम्पनी द नेभररेस्ट प्रोजेक्टका प्रोजेक्ट डाइरेक्ट फेडरिक काउफमेनले हस्ताक्षर गरेका छन् । सम्मेलनमा नेपालका हिमालहरुमा यसअघि नेपाली सेनाले गर्दै आएको हिमाल सरसरफाइ सम्बन्धी तथ्यांकको अध्ययन तथा विश्लेषण गरिनुका साथै विश्वका अन्य देशका पर्वतीय क्षेत्र तथा उच्च हिमाली क्षेत्रमा रहेको फोहोरको दिगो व्यवस्थापनमा भएका मोडालिटीहरुको अध्ययन गरिनेछ । त्यसैगरी विश्वभर नै पर्वतीय क्षेत्र तथा उच्च हिमाली क्षेत्रमा हुने फोहोर व्यवस्थापन तथा सरसफाइको मापदण्ड बनाइने बोर्डका कार्यकारी प्रमुख रेग्मीले जानकारी दिए । यसबाट हिमालको दिगो व्यवस्थापन गर्दै भावी पुस्तालाई स्वच्छ हिमाल हस्तान्तरण गर्न सकिने र विश्व समुदायमा हिमालको महत्व, हिमाल आरोहण गर्दा फोहोर व्यवस्थानका अन्य विषयमा साझा धारणा तय हुने उनले बताएका छन् ।
नेपाली सेनाको संयोजनमा नेपाल सरकारको ‘सफा हिमाल अभियान २०२१’ ले सगरमाथा, ल्होत्से, मकालु, धौलागिरि, पुमोरी र आमादब्लाम लगायत ६ वटा हिमालबाट फोहोर संकलन गरेको थियो । नेपाली सेना, सरकारका विभिन्न तह, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रको संयुक्त आह्वानमा सन् २०१८ देखि हिमाल सफाइ अभियान सञ्चालन हुँदै आएको छ । टोलीले संकलन गरेको फोहोरहरुमा अक्सिजन ट्यांक, परित्याग गरिएका टेन्टहरु, खाद्यान्न कन्टेनर, प्लास्टिक, ग्लास, अलमुनियम, इलेक्ट्रोनिक फोहोरहरु समावेश छन् । यसबाहेक पहिले दुर्घटना भएको नाइनएन–एसीआर नम्बरको हेलिकोप्टर र पर्वतारोहण गियरसहित दुई मानव अवशेष पनि धौलागिरि टोलीले ‘रिट्राइभ’ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्