‘सहर सुरक्षित र बस्न लायक हुन पर्यो’ «

‘सहर सुरक्षित र बस्न लायक हुन पर्यो’

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बस्ने घर तथा सहर सुरक्षित र बस्नलायक हुनुपर्ने बताएकी छन् ।
सोमबार पुल्चोक इन्जिनियरिङ क्याम्पसले आयोजना गरेको रेट्रोफिटिङ परीक्षण कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् । मन्त्री झाँक्रीले नेपाल प्राकृतिक प्रकोप भूकम्प, बाढी पहिरोजस्ता समस्याले जोखिममा रहेको बताइन् ।
उनले अहिले पनि नेपालको जनसंख्याको ठूलो हिसा भूुकम्पजस्ता प्राकृतिक प्रकोपको जोखिम स्थानमा बसोबास गरिरहेको बताइन् । शिक्षालयहरूले जोखिम न्यूनीकरण गराउने जागरण ल्याउने गरी काम गर्नसके प्राकृतिक विपत्तिबाट हुने क्षतिलाई कम गर्न सकिने उनको भनाइ छ ।
मन्त्री झाँक्रीले भनिन्, “हरेक मानिस बस्ने घर तथा सहर बस्न लायक र सुरक्षित हुनुपर्छ । त्यसका लागि हामी विभिन्न अध्ययनमार्फत भूकम्पबाट जोखिममा परेका मात्रै नभएर सम्भावित जोखिमलाई समेत प्राथमिकता दिएर घर जोगाउने प्रयास जनता र सरकार दुवैले गर्नुपर्छ । जुन पुल्चोक क्याम्पसले गरेको अध्ययनमार्फत गरेको जागरण महत्वपूर्ण छ ।
यस्तै अध्ययनबाट मात्रै प्राकृतिक प्रकोपबाट सुरक्षित हुन सकिन्छ । त्यसका लागि जोखिममा घर भएका जनतालाई सरकारले भूकम्प प्रतिरोधक सुरक्षित घर बनाई दिने कार्य अगाडि बढाएको छ ।”
मन्त्री झाँक्रीले जनतालाई उचित बासस्थान दिन नेपाल सरकारले काम गरिरहेको दाबी गरिन् । सरकारले यस विषयमा योजनाबद्ध विकास आवासको हक सुनिश्चित गर्ने उद्देश्यले सरकारको रहेको बताइन् । २०७२ सालको भूकम्पबाट भत्किएका घर पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको समेत उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्