लघु–घरेलु उद्योगमा नीतिगत सम्बोधन आवश्यक «

लघु–घरेलु उद्योगमा नीतिगत सम्बोधन आवश्यक

परम्परागत सीपयुक्त व्यवसायमा नयाँ पुस्ताको आकर्षण घट्दै गएका कारण पनि सरकारले ती उद्योग–व्यवसायको संरक्षण गर्न आवश्यक छ ।

कोरोना कहरले विश्वका सबै ठूला उद्योगहरू घराशायी भएका बेला लघु तथा घरेलु उद्योगले रोजगारीमात्र नभएर उत्पादनमा समेत मद्दत गरेका छन् । ठूला उद्योग–व्यवसायहरूमा जोखिम पनि ठूलै हुने भएकाले साना–साना उद्योगमा धेरैको आशा पलाएको पनि पाइन्छ । नेपालजस्तो अल्पविकसित मुलुकमा त झन् अन्य मुलुकका उत्पादनसँग मूल्य तथा गुणस्तरलगायत बजारीकरणका विविध समस्याले प्रतिस्पर्धा गर्ने क्षमता ह्रास हुँदै गएको कारण पनि सरकारले लघु, मध्यम तथा घरेलु उद्योगमा जोड दिँदा स्थानीय रोजगारी पनि सिर्जना हुने तथा परम्परागत सीपयुक्त व्यवासायलाई जोगाउन पनि सकिन्छ । परम्परागत सीपयुक्त व्यवसायमा नयाँ पुस्ताको आकर्षण घट्दै गएका कारण पनि सरकारले ती उद्योग–व्यवसायको संरक्षण गर्न आवश्यक छ । यसबाट नेपालजस्तो सानो अर्थतन्त्रमा ठूलो योगदान पुग्ने देखिएको छ । त्यसैले अर्थतन्त्रको मुख्य आधार मानिएको लघु तथा घरेलु उद्योगमा उत्पादनमूलक क्षेत्रको हिस्सा बढाउन सरकारले नीतिगत तहमा सम्बोधन गर्न आवश्यक छ ।
किनकि उद्योग विभागले प्रकाशित गरेको लघु–घरेलु तथा साना उद्योगको तथ्यांकअनुसार सेवामूलक र कृषि तथा वनजन्य उद्योगको तुलनामा उत्पादनमूलक उद्योगको हिस्सा कम छ । तथ्यांकअनुसार आर्थिक वर्ष २०७७-०७८ सम्ममा दर्ता कायम रहेका ४ लाख ८७ हजार ६ सय ४३ उद्योगमध्ये सेवामूलक उद्योगको संख्या सबैभन्दा उच्च १ लाख ७८ हजार ६ सय ६२ संख्यामा रहेको छ । दोस्रो स्थानमा रहेको कृषि तथा वनजन्य उद्योगको दर्ता तथा नवीकरण संख्या १ लाख ३९ हजार १ सय ७६ रहेको छ । तर, उत्पादनमूलक उद्योग भने तेस्रो स्थानमा रहेको छ । विभागका अनुसार आव २०७७-०७८ सम्ममा दर्ता तथा नवीकरण भएका उत्पादनमूलक उद्योगको संख्या १ लाख ७ हजार ७ सय ७९ रहेको छ । साथै, पर्यटनतर्फ ५० हजार ९ सय ४० तथा निर्माणतर्फ ९ हजार ६ सय ८ उद्योग दर्ता तथा नवीकरण भएका छन् । यस्तै, ऊर्जातर्फ ५ सय ८३ लघु घरेलु उद्योग दर्ता हुँदा खनिजतर्फ ४ सय ८३ र सूचना प्रविधिका क्षेत्रमा ४ सय १२ उद्योग दर्ता र नवीकरणसहित अद्यावधिक भएको तथ्यांक छ । नेपालमा साना तथा मझौला व्यवसायले कुल गार्हस्थ्य उत्पादनमा २२ प्रतिशत योगदान गरेका छन् । जसका कारण यी उद्योगबाट झन्डै १७ लाख रोजगारी पनि सिर्जना भएको छ । अझ विश्वका कतिपय मुलुकमा त साना तथा घरेलु उद्योगले कुल रोजगारीमा ६० प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा ४० प्रतिशतसम्म योगदान गरेका छन् ।
त्यसैले अर्थतन्त्रलाई आत्मनिर्भर र दिगो बनाउन लघु, घरेलु तथा साना उद्योगहरूको महत्वपूर्ण भूमिका छ । नेपालमा उत्पादनमूलक उद्योगभन्दा सेवा उद्योग बढी फस्टाएको भए तापनि सेवा उद्योगलाई उत्पादनमूलक उद्योगले भरथेग गर्न सके यसले स्थानीय उत्पादनको माग बढ्छ तथा आयातीय उत्पादनलाई विस्थापित गर्न सकिन्छ । स्थानीय स्रोतसाधन, श्रम, सीप र प्रविधिको अधिकतम उपयोग गरी तुलनात्मक लाभका क्षेत्रहरू पहिचान गर्दै नेपालमा उत्पादित वस्तुहरूलाई गुणस्तरीय र प्रतिस्पर्धी बनाई आयात प्रतिस्थापन गर्नु सरकारको नीति भए तापनि सरकारले व्यवहारमा भने लागू गर्न गम्भीरता नदेखाएका कारण मुलुकमा आयात बढ्दो छ । आन्तरिक बजारको माग पूर्ति गरेर आयात प्रतिस्थापन गर्न सकेपछि निर्यात प्रवद्र्धनको काम गर्न सकिन्छ ।
तर, स्थानीय उत्पादनले बजारको आन्तरिक माग पूरा गराउनतर्फभन्दा पनि निर्यातका ठूला ठूला भाषण गर्न व्यस्त रहेका कारण पनि स्थानीय साना तथा लघु उद्योगको प्रवद्र्धन हुन नसकेको हो । त्यसैले सरकारले आवश्यक नीतिगत, कानुनी, संरचनागत व्यवस्था र समयसापेक्ष सुधार गरेर पहिला उत्पादनमूलक उद्योगमा आकर्षण बढाउने र आन्तरिक बजारमा माग पूरा गर्नतर्फ ध्यान दिन आवश्यक छ । हाल कुल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक उद्योग क्षेत्रको नगण्य योगदान रहेकोमा आन्तरिक बजारमा माग पूरा गर्न सके उत्पादनमूलक उद्योगको योगदान अर्थतन्त्रमा पनि बढ्छ । त्यसैले सरकारले पहिला आन्तरिक बजारको माग पूरा गर्न सक्ने गरी स्थानीय उत्पादानलाई गुणस्तरीय तथा प्रतिस्पर्धी बनाउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्