सिमेन्ट र क्लिंकर आयातमा अत्यधिक गिरावट «

सिमेन्ट र क्लिंकर आयातमा अत्यधिक गिरावट

देशमा ठूला उद्योग स्थापना तथा विकास–निर्माणका कामले अपेक्षित गति लिन नसकेका कारण तयारी सिमेन्ट तथा स्वदेशी सिमेन्ट उद्योगका लागि चाहिने मुख्य कच्चा पदार्थ क्लिंकर आयातमा उच्च गिरावट आएको छ । नेपाल राष्ट्र बैंक र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको छुट्टाछुट्टै तथ्यांकले सिमेन्ट र क्लिंकर आयातमा गिरावट आएको देखाएको छ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा सिमेन्ट आयात ८३.६ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको साउनदेखि असोजसम्ममा १ अर्ब ५१ करोड रुपैयाँबराबरको सिमेन्ट आयात भएकोमा चालू आवको सोही अवधिमा २४ करोड ८५ लाख मात्रैको आयात भएको छ । आव २०७६-०७७ को पहिलो तीन महिनामा भने १ अर्ब २७ करोडको सिमेन्ट आयात भएको थियो ।
यस्तै, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालू आवको पहिलो तीन महिनामा क्लिंकर आयात ५३.१ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको साउनदेखि असोजसम्ममा ३२ करोड ३५ लाख रुपैयाँ मूल्य बराबरको क्लिंकर आयात भएकोमा चालू आवको सोही अवधिमा १५ करोड १६ लाख रुपैयाँ मात्रैको क्लिंकर आयात भएको छ । आव २०७६-०७७ मा भने ३ अर्ब ६० करोड रुपैयाँ बराबरको क्लिंकर आयात भएको केन्द्रको तथ्यांकमा उल्लेख छ ।
नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर भइसके पनि केही ठूला परियोजनामा सिमेन्ट आयात गर्ने क्रम जारी छ । नेपालमा सञ्चालित भारतीय लगानीका जलविद्युत् लगायतका परियोजनामा भारतमै उत्पादित सिमेन्ट प्रयोग हुँदै आएको छ । सरकारले ०७४ सालबाटै सिमेन्ट तथा क्लिंकर आयातमा प्रतिबन्ध लगाउने भने पनि हालसम्म कार्यान्वयनमा आउन सकेको भने छैन । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा अहिले मुलुकको मागको तुलनामा सिमेन्ट तथा क्लिंकर आयात नगण्य रहेको र यो क्रमश घट्दो क्रममा रहेको बताउँछन् । स्वदेशी क्लिंकर उद्योगले अन्य उद्योगलाई क्लिंकर बिक्री गर्ने प्रचलन सुरु नभएसम्म आयातलाई रोक्न नसकिने उनको भनाइ छ । अहिलेको आयात परिमाणलाई हेरेर चिन्ता गर्नु नपर्ने थापाको तर्क छ ।
पछिल्लो समय चिनियाँ लगानीको होङ्सी सिमेन्टले उत्पादन थाल्नु तथा स्वदेशी उद्योगले पनि क्षमता बढाउँदै लैजानु जस्ता कारणले सिमेन्ट आयात निरुत्साहित हुँदै गएको छ । सिमेन्टको मूल्य भारतको तुलनामा उच्च रहेकाले सीमावर्ती क्षेत्रमा आयात नै सस्तो पर्ने भएकाले चोरी पैठारीसमेत हुने गरेको सम्वद्ध व्यवसायीहरु बताउँछन् ।
गत वर्ष नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले पनि मुलुक सिमेन्ट उत्पादनमा आत्मनिर्भर भइसकेको देखाउँछ । मुलुकका ५५ सिमेन्ट उद्योगको कुल जडित उत्पादन क्षमता १ करोड ५० लाख टन रहेको छ भने आन्तरिक बजारमा सिमेन्टको माग ९० लाख ५० हजार टन रहेको केन्द्रीय बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ । सोही अध्ययनअनुसार आन्तरिक रुपमा यी उद्योगहरुबाट ७४ लाख ९० हजार टन सिमेन्ट उत्पादन भएको छ भने १५ लाख ६० हजार टन आयात भएको देखिन्छ । प्रत्यक्ष विदेशी लगानी रहेका उद्योगहरुको औसत क्षमता उपयोग ४५.८१ प्रतिशत रहेको छ भने सरकारी र निजी स्वामित्वका उद्योगहरुको क्रमशः ५०.१२ प्रतिशत र ६३.७८ प्रतिशत रहेको छ । यसरी जडित क्षमताभन्दा कम क्षमतामा सञ्चालन हुँदा यस्तो अवस्था देखिएको संघका अध्यक्ष थापा बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्