नेपालमा पहिलो पटक वैज्ञानिक सम्मेलन हुने «

नेपालमा पहिलो पटक वैज्ञानिक सम्मेलन हुने

विकासमा वैज्ञानिक पद्धतिको सदुपयोग गर्ने उद्देश्यले नेपालमा सरकारी तहबाट पहिलो पटक वैज्ञानिक सम्मेलन हुने भएको छ । प्रदेश ३ सरकारले काठमाडौंमा आगामी वैशाख र जेठमा सार्क राष्ट्रस्तरीय र राष्ट्रियस्तरको वैज्ञानिक सम्मेलन गर्ने जनाएको छ ।
प्रदेश नम्बर ३ को उद्योग, वन पर्यटन तथा वातावरण मन्त्रालयले वार्षिक नीति तथा कार्यक्रममा समेटेको युवा वैज्ञानिक सम्मेलन र सार्कस्तरीय वैज्ञानिक सम्मेलनका लागि त्रिभुवन विश्वविद्यालयसँग शुक्रबार समझदारी गरेको छ । समझदारीअनुसार आगामी वैशाख १० र ११ गते काठमाडौंमा राष्ट्रियस्तरको युवा वैज्ञानिक सम्मेलन हुनेछ भने जेठ २२ र २३ गते काठमाडौंमा सार्क राष्ट्रका वैज्ञानिकहरूको सम्मेलन हुनेछ । युवा वैज्ञानिक सम्मेलनका लागि त्रिवि व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) र प्रदेश सरकारबीच समझदारी भएको छ भने सार्कस्तरीय वैज्ञानिक सम्मेलनका लागि त्रिवि जल तथा मौसम विज्ञान विभागसँग समझदारी गरिएको छ ।
राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनमा देशभरका करिब एक सय ५० जना वैज्ञानिक सहभागी हुनेछन् भने सार्कस्तरीय वैज्ञानिक सम्मेलनमा सार्क राष्ट्रका करिब ६० जना वैज्ञानिकको सहभागिता रहनेछ । रिकास्टका कार्यकारी निर्देशक रामेश्वर अधिकारी, त्रिवि जल तथा मौसम विज्ञान विभागका डा. दीपक अर्याल र उद्योग पर्यटन वन तथा वातावारण मन्त्रालयबीच सम्मेलन गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
युवा वैज्ञानिकका आवश्यकता पहिचान र विकासमा वैज्ञानिक पद्धति सदुपयोगका लागि सम्मेलनको आयोजना गर्न लागिएको मन्त्री अरुण नेपालले जानकारी दिए । दुईवटा सम्मेलनका लागि मन्त्रालयले ८० लाख रुपैयाँ छुट्याएको छ ।
दक्षिण एसियाका युवा वैज्ञानिकलाई नेपालका युवा वैज्ञानिकसँग एउटै कार्यक्रममा सहभागी गराई विश्वमा विकसित विज्ञान तथा प्रविधि क्षेत्रका नविनतम ज्ञानका बारेमा जानकारी गराउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको जनाइएको छ । विश्वमा विकसित विज्ञान प्रविधिका बारेमा जानकारी लिई त्यसको उपयोग गरी देशलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइने मन्त्री नेपालको भनाइ थियो ।
युवा वैज्ञानिक सम्मेलनमा भने २० देखि २५ वर्ष उमेर समूहका र २५ देखि ४५ वर्ष उमेर समूहका युवा वैज्ञानिकबीच भिन्नभिन्न कार्यक्रम हुनेछ । सम्मेलनले नेपालभित्र भएका विज्ञान तथा प्रविधि क्षेत्रका नवप्रतिभालाई थप प्रोत्साहन तथा हौसला बढाउने विश्वास लिइएको छ ।
सम्झौतापत्रमा हस्ताक्षरपछि बोल्दै ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपालको सबै क्षेत्रको तीव्र विकासका लागि आधुनिक विज्ञानको उपयोग गर्न वैज्ञानिक सम्मेलनले ऊर्जा मिल्ने दाबी गरे । वैज्ञानिकहरूको खोज तथा अनुसन्धानको व्यावहारिक रूपमा प्रयोग गर्ने अवसर सरकारले प्राप्त हुने उनले बताए । सम्मेलनले देशको तीव्र आर्थिक, भौतिक तथा सामाजिक विकासमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्