लघु–घरेलु उद्योगमा सेवा र कृषिपछि उत्पादनमूलक क्षेत्र «

लघु–घरेलु उद्योगमा सेवा र कृषिपछि उत्पादनमूलक क्षेत्र

अर्थतन्त्रको मुख्य आधार मानिएको लघु तथा घरेलु उद्योगमा पनि उत्पादनमूलक क्षेत्रको हिस्सा कमजोर देखिएको छ । उद्योग विभागले प्रकाशित गरेको लघु–घरेलु तथा साना उद्योगको तथ्यांकअनुसार सेवामूलक र कृषि तथा वनजन्य उद्योगको तुलनामा उत्पादनमूलक उद्योगको हिस्सा कम छ ।
विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७-०७८ सम्ममा दर्ता कायम रहेका ४ लाख ८७ हजार ६ सय ४३ उद्योगमध्ये सेवामूलक उद्योगको संख्या सबैभन्दा उच्च १ लाख ७८ हजार ६ सय ६२ संख्यामा रहेको छ । दोस्रो स्थानमा रहेको कृषि तथा वनजन्य उद्योगको दर्ता तथा नवीकरण संख्या १ लाख ३९ हजार १ सय ७६ रहेको छ भने उत्पादनमूलक उद्योग तेस्रो स्थानमा रहेको छ ।
विभागका अनुसार आव २०७७-०७८ सम्ममा दर्ता तथा नवीकरण भएका उत्पादनमूलक उद्योगको संख्या १ लाख ७ हजार ७ सय ७९ रहेको छ । यसबाहेक पर्यटनतर्फ ५० हजार ९ सय ४० तथा निर्माणतर्फ ९ हजार ६ सय ८ उद्योग दर्ता तथा नवीकरण भएका छन् । यस्तै, ऊर्जातर्फ ५ सय ८३ लघु घरेलु उद्योग दर्ता हुँदा खनिजतर्फ ४ सय ८३ र सूचना प्रविधिका क्षेत्रमा ४ सय १२ उद्योग दर्ता र नवीकरणसहित अद्यावधिक भएको तथ्यांक छ ।
वित्तीय क्षेत्र विकास रणनीति, २०७४—२०७७-०७८ अनुसार नेपालमा साना तथा मझौला व्यवसायले कुल गार्हस्थ्य उत्पादनमा २२ प्रतिशत योगदान गरेका छन् । यस्तै, यी उद्योगबाट झन्डै १७ लाख रोजगारी सिर्जना भएको छ । संसारका कतिपय उदीयमान मुलुकहरुमा एसएमईले कुल रोजगारीमा ६० प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा ४० प्रतिशतसम्म योगदान गरेको पाइन्छ ।
उद्योग विभागका महानिर्देशक जीवलाल भुसाल अर्थतन्त्रलाई आत्मनिर्भर र दिगो बनाउन लघु, घरेलु तथा साना उद्योगहरुको महत्वपूर्ण भूमिका रहने भए पनि उत्पादनमूलक उद्योगको संख्या तुलनात्मक रुपमा कम हुनु सोचनीय विषय रहेको बताउँछन् । “स्थानीय स्रोतसाधन, श्रम, सीप र प्रविधिको अधिकतम उपयोग गरी तुलनात्मक लाभका क्षेत्रहरु पहिचान गर्दै नेपालमा उत्पादित वस्तुहरुलाई गुणस्तरीय र प्रतिस्पर्धी बनाई आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनको माध्यमवाट देशको अर्थतन्त्रलाई सुदृढ बनाउन आवश्यक देखिन्छ,” भुसालले भने । उनका अनुसार यसका लागि नेपाल सरकारले आवश्यक नीतिगत, कानुनी, संरचनागत व्यवस्था र समयसापेक्ष सुधार गर्दै आए पनि उत्पादनमूलक उद्योगमा आकर्षण बढाउन निजी क्षेत्रले पनि तदारुकता देखाउनु आवश्यक छ ।
कुल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक उद्योग क्षेत्रको योगदान नगण्य छ । केन्द्रीय तथ्यांक विभागका अनुसार आव २०७७-०७८ मा जीडीपीमा उत्पादनमूलक उद्योगको हिस्सा ५.०८ प्रतिशत रहेको अनुमान छ । यसमध्ये करिब ९० प्रतिशत योगदान घरेलु तथा साना उद्योगहरुको रहेको उद्योग विभागको दाबी छ । नेपालजस्ता विकासोन्मुख देशमा ठूला तथा मझौला उद्योगहरुको तुलनामा लघु, घरेलु तथा साना उद्योग क्षेत्रको महत्वपूर्ण योगदान रहने महानिर्देशक भुसाल बताउँछन् ।
नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष भवानी राणा पनि भुसालको तर्कसँग सहमत छन् । भन्छिन्, “नेपालमा उत्पादित वस्तुहरुलाई बढी गुणस्तरीय बनाई प्रतिस्पर्धाको माध्यमबाट आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनमा जोड दिनको लागि घरेलु तथा साना उद्योगहरुको विकासमा सबैले ध्यान दिनुपर्ने देखिन्छ ।” औद्योगिक क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गरी औद्योगिक पूर्वाधार निर्माण, मौजुदा औद्योगिक पूर्वाधारहरुको अधिकतम उपभोग गर्ने, औद्योगिक क्षेत्र तथा विशेष आर्थिक क्षेत्रहरुमा उद्योग स्थापना तथा सञ्चालनका लागि आवश्यक सम्पूर्ण सुविधाहरु उपलब्ध गराउने लगायतका काम हुनुपर्ने उनको भनाइ छ । स्थानीयस्तरमा स्वेदशमै उपलब्ध कच्चा पदार्थ, श्रम, सीप र प्रविधि प्रयोग हुने भएकाले लघु, घरेलु तथा साना उद्योगको स्थापना र विस्तारमा राज्य सहयोगी हुनुपर्ने राणा बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्