दूधको मूल्य बढाउने तयारी

सरकारले प्रशोधित दूधको मूल्य बढाउने तयारी गरेको छ । किसानको लागत मूल्य बढ्दै गएको र लामो समयसम्म मूल्य नबढेकाले दूधको मूल्य बढाउने गरी प्रारम्भिक छलफल भएको हो । किसान तथा उद्योगीको माग अनुसार मूल्य बढाउने तयारी राष्ट्रिय दुग्ध विकास बोर्डको छ ।
सरोकारवाला निकायसँग मूल्य बढाउने विषयमा प्रारम्भिक रुपमा छलफल भएको बोर्डले जानकारी दिएको छ । बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले दूधको मूल्य बढाउने गरी प्रारम्भिकरुपमा छलफल भएको जानकारी दिए । “दुग्ध उत्पादक, किसान, उद्योग र विज्ञहरुसँग यस विषयमा छलफल भएको छ,” उनले भने, “यति नै बढाउने भनेर सिफारिस भइसकेको छैन ।” बोर्डको सिफारिसमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूधको मूल्य निर्धारण गर्ने गर्छ । दाना, चोकर, डिजेलको मूल्य बढेकाले दूधको मूल्य बढाउन किसान र उद्योगबाट प्रस्ताव आएको बोर्डको भनाइ छ ।
सरोकारवाला पक्षको प्रस्तावमा बोर्डले प्रतिलिटरमा ८ देखि १० रुपैयाँसम्म वृद्धि गर्ने गृहकार्य गरेको बताइएको छ । बोर्डले किसानको लागत मूल्य कति बढेको छ भनेर अध्ययन गरेको छ । बोर्ड, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ, नेपाल डेरी एसोसिएसन, नेपाल डेरी उद्योग संघ, दुग्ध विकास संस्थान (डीडीसी)को सिफारिसमा दूधको मूल्य प्रस्ताव गरिन्छ ।
डीडीसीका महाप्रबन्धक रुद्र पौडेलले प्रतिलिटरमा ६ देखि १० रुपैयाँ मूल्य बढाउने गरी छलफल भइरहेको जानकारी दिए । पछिल्लो समय दाना, चोकरको मूल्य वृद्धि भएको, बन्दाबन्दीका कारण किसानहरुलाई दूधको बजार नपाएर घाटा व्यहोर्न बाध्य भएको र दूधको लागत खर्च निकै महँगिएर धान्नै नसक्ने अवस्था आइपुगेको भन्दै केन्द्रिय दुग्ध उत्पादक सहकारी संघले पछिल्लो समयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा लबिङ गर्दै आएको थियो । सबै वस्तुको मूल्य वृद्धि भए पनि पछिल्लो ३ वर्षदेखि दूधको मूल्य समायोजन भएको थिएन ।
मन्त्रालयले यो बारेमा दुग्ध विकास बोर्डलाई आवश्यक छलफलका लागि जिम्मा दिएको थियो । किसानहरुले प्रति लिटरमा १० रुपैयाँसम्म वृद्धि गर्न माग गर्दै आएका छन् । सरकारी नियमअनुसार दूधको मूल्य वृद्धि हुँदा वृद्धि हुने रकमबाट ६९ प्रतिशत किसानलाई र बाँकी ३१ प्रतिशत उद्योगलाई जाने व्यवस्था छ । नेपालमा वार्षिक २४ लाख टन दूधको उत्पादन हुन्छ । यसमध्ये औपचारिक क्षेत्रमा १५ देखि १७ प्रतिशत मात्रै दूध आउँछ । बाँकी स्थानीय तहमै खपत हुने गर्छ । पहुँच मार्ग र ढुवानी साधनको अभावका कारण उत्पादित दूध बजारमा आउन सकेको छैन । अहिले किसानले प्रतिलिटर दूधमा ५५ देखि ६० रुपैयाँ पाउने गर्छन् । बजारमा उपभोक्ता मूल्य भने प्रतिलिटर ८० रुपैयाँ छ ।
डीडीसीले किसानको दूध खरिद गरेर रकम भुक्तानी गर्ने गर्छ । लामो समय डीडीसीले दूधको रकम भुक्तानी नगर्दा व्यवसाय सञ्चालन गर्न कठिन भएको किसानको गुनासो छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार प्रतिव्यक्ति प्रतिवर्ष ९१ लिटर आवश्यक पर्नेमा हाल ७९ लिटर उपलब्धता रहेको छ ।