एनआरएनलाई डलर खाता खोल्न दिनेबारे छलफल हुँदैछः अर्थमन्त्री शर्मा «

एनआरएनलाई डलर खाता खोल्न दिनेबारे छलफल हुँदैछः अर्थमन्त्री शर्मा


अर्थमन्त्री जनार्दन शर्माले गैरआवासीय नेपाली (एनआरएन)लाई डलर खाता खोल्न दिनेबारे छलफल भइरहेको बताएका छन् ।
उनले सञ्चितिको अवस्थालाई सन्तुलनमा राख्न एनआरनलाई डलर खाता खोल्न दिने बारे छफलफल भइरहेको बताए । “सञ्चितिको अवस्थालाई अलिकति सन्तुलन गर्न एनआरएनहरूले डलर खाता खोल्न पाउने बारे हाम्रो कुरा भइरहेको छ”, मन्त्री शर्माले भने, “उनीहरूले यहाँ पैसा राख्न पाउने, ब्याज पाउने र उता लैजान पाउने सहज खालको वातावरण निर्माण गर्ने बारे छफलफल भइरहेको छ ।”
एनआरएनको पैसा बाहिरै रहेकाले त्यसलाई नेपाल भित्र्याएर लगानी गरी सदुपयोग गर्न सकिने उनले बताए । मन्त्री शर्माले पछिल्लो समय डिजीटल करेन्सीको कुरा भइरहेकाले त्यसका लागि पहिले पूर्णरूपमा डिजिटल कारोबार गर्नुपर्ने बताए ।
“हामी डिजिटल कारोबारमै जान सकेका छैनौं”, उनले भने, “अहिले डिजिटल करेन्सीको कुरा आइरहेको छ । पहिले पूर्णरूपमा डिजिटल कारोबार लागू गर्ने वातावरण बनाऔँ, त्यसपछि डिजिटल करेन्सीमा जान सकिन्छ ।” पूर्णरूपमा डिजिटल कारोबारमा जानलाई आम मानिसलाई वित्तीय साक्षरता भनेझैं डिजिटल साक्षरता आवश्यक हुने पनि उनले बताए । त्यसका लागि राष्ट्र बैंकले सहजीकरण गर्नुपर्नेमा जोड दिए । यस्तै उनले राष्ट्र बैंकका कर्मचारीसँग बैंकहरू डराउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने उनले बताए ।
अझै पनि कर कार्यालयको अधिकृत भन्नेबित्तिकै करदाता डराउने, भन्सारको अधिकृत भनेपछि आयातकर्ताहरू यताउता हुने स्थिति रहेको र राष्ट्र बैंकका अनुगमन कर्मचारी भन्नेबित्तिकै बैंकहरू डराउनुपर्ने अवस्था रहेको भन्दै सहज वातावरण बनाउनुपर्ने बताए ।
सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त गर्न पुँजीगत खर्च बढाउने, पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्ने तथा बन्द उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी रहेको मन्त्री शर्माले जानकारी दिए । उनले आर्थिक वृद्धिमा बेमौसमी वर्षाले रणनीतिक असर पारे पनि लक्ष्यमा पुग्न अन्तिम समयसम्म कार्य गर्नुपर्ने बताए ।
यसैबीच मन्त्री शर्माले वैदेशिक रोजगारीमा रहेकाको सञ्चय कोष व्यवस्था गर्ने विषयमा पनि मन्त्रालयमा छलफल भइरहेको बताए । उनले हुन्डी कारोबारलाई रोक्न सो व्यवस्था गर्नेबारे छफलफल भइरहेको बताएका हुन् ।
“विदेशमा रहेकाको सञ्चय कोष बनाएर केही रकम हामीले यहाँ थपिदिएर औपचारिक माध्यमबाटै सबै पैसा पठाउने वातावरण बनाउने तयारी भइरहेको छ” उनले भने ।

प्रतिक्रिया दिनुहोस्