मेसिन बिग्रिँदा गुठिचौरका चार गाउँ अन्धकार «

मेसिन बिग्रिँदा गुठिचौरका चार गाउँ अन्धकार

जुम्लाको गुठिचौर गाउँपालिका–५ कुम्डीमा रहेको नौमुले लघुजलविद्युत आयोजनाको मेसिन बिग्रिँदा चार गाउँ अन्धकार भएका छन् । गत मंगलबार दिउँसो १ बजेदेखि विद्युतगृहमा समस्या आउँदा उक्त वडाका चार गाउँ अन्धकार भएका भएका हुन् ।
नौमुले लघुजलविद्युत गृहमा जडान गरिएको फित्ता चँुडिएपछि विद्युत उत्पादन बन्द हुँदा चार गाउँ अन्धकार भएको व्यवस्थापक गणेशराज गिरिले जानकारी दिए ।
विगत एक हप्तादेखि उपभोक्ताहरू अँध्यारोमा बस्न बाध्य भएका छन् । गुठिचौर गाउँपालिका–५ भित्रका कुम्डी, फोई, देपालगाउँ र धिता गाउँका उपभोक्ता अँध्यारोमा बस्न बाध्य भएका हुन् । विद्युत सप्लाइ गर्न अझै एक हप्ता लाग्ने गिरिले बताए । फित्ता बाहिरबाट ल्याउनु पर्ने भएकाले पहल भइरहेको छ । उनले भने, “विद्युतको फित्ता आउने बित्तिकै सुचारु हुन्छ । गुठिचौर–५ का करिब ५ सय ५० घरधुरीका उपभोक्ता अँध्यारोमा बस्न बाध्य छन् । हामी चाँडै बत्ती बाल्ने गरी पहलमा जुटेका छौं केही दिन यताबाट उपभोक्ताले अन्य वैकल्पिक सोलार, टुकीमारा र स्थानीय वनजंगलमा पाइने झरो बाली बस्नुपरेको छ ।”
फित्ता भारतबाट ल्याउनु पर्ने भएकाले आउन समय लाग्ने देखिएको छ । गुणस्तरीय फित्ता ल्याउनुपर्ने स्थानीयको माग छ । विद्युत अवरोध भएपछि सरकारी र गैरसरकारी निकायका कामकाज प्रभावित भएका छन् भने रेडियो गुठिचौर तथा मिल सञ्चालनमा समेत समस्या आएको गुठिचौर रेडियोका संचारकर्मी रामप्रकाश विकले बताए । २०६९ सालदेखि सञ्चालनमा आएको ७६ किलोवाटको नौमुले लघुजलविद्युत आयोजनामा विगतमा बेला बेला समस्या आउने गरे पनि छिटै बत्ती बल्थ्यो । तर यसापालि भारतबाट फित्ता नआएसम्म बत्ती बाल्न सम्भव छैन ।

प्रतिक्रिया दिनुहोस्