गुणस्तरीय शिक्षामा समस्या

प्यूठान- शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोख्रेलले सामुदायिक शिक्षालयहरुमा स्वामित्व र अपनत्वको अभावले शैक्षिक गुणस्तर खस्कँदै गएको बताएका छन् । शिक्षाको विकास बिना मुलुकको समृद्धि अगाडि नबढ्ने प्रस्टाउँदै उनले सामुदायिक विद्यालयको पठनपाठन सुधारका लागि सरकार प्रतिवद्ध रुपमा लागेको बताए ।
मंगलबार प्यूठान जुम्रीमा आयोजित पत्रकार सम्मेलनमा उनले संघीय संरचनाले शिक्षा क्षेत्रको अपनत्व र शैक्षिक गुणस्तरमा टेवा पु-याउने बताए । गुणस्तरीय शिक्षक बिना शैक्षिक गुणस्तर सुधार नहुने बताउँदै उनले व्यवस्थापन समितिको समेत निगरानी प्रभावकारी नहँुदा शैक्षिक गुणस्तर सोचेजति अगाडि बढ्न नसकेको आंैल्याए । “शैक्षिक गुणस्तरका लागि प्रअको धेरै भूमिका हुने गरी शिक्षा नीति निर्माण कार्य अगाडि बढाएका छौं,” उनले भने, “यसको निगरानी व्यवस्थापन समितिले गर्नु अपरिहार्य छ ।” संसद्मा नयाँ शिक्षा नीति विधेयक पेश भएकोले त्यसको पूर्णतापछि शैक्षिक सुधारका धेरै कुरा अगाडि बढ्ने उनको भनाइ छ । वैशाख महिनादेखि नयाँ शैक्षिक सत्र सुरु हुने हुँदा चैत महिनाभित्र स्ववियू निर्वाचन सम्पन्न गरी नयाँ शैक्षिक सत्रमा प्रवेश गर्नुपर्ने उनको भनाइ छ ।