कात्तिकमा श्रमस्वीकृति लिनेको संख्या उत्साहजनक «

कात्तिकमा श्रमस्वीकृति लिनेको संख्या उत्साहजनक


कोरोना संक्रमणदर घट्दै गएपछि वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिने श्रमिकको संख्या बढ्दो क्रममा छ । गएको कात्तिकमा मात्रै ५५ हजार जनाले श्रमस्वीकृति लिएका छन् ।
साउनपछि यो संख्या क्रमशः बढदो छ । विगत २ वर्षदेखि वैदेशिक रोजगारीमा मन्दी आएको हो । कोरोना संक्रमणअघि मासिक ४० हजारको हाराहारीमा युवा वैदेशिक रोजगार जाने गरेका थिए । त्यसयता घट्दो क्रममा रहेको श्रमस्वीकृति यो कात्तिकमा भने बढेको हो । वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहचलले असोजको अन्तिम हप्तासम्म वैदेशिक रोजगारीमा जान ३६ हजार पुरुष र ४ हजार महिलाले श्रम स्वीकृती लिएको जनाएको छ । कार्यालयकी कार्यवाहक प्रमुख मुक्ता बास्कोटाले वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य बढेको कारोबारलाई बताइन् । दसैं र तिहारको लामो बिदाका कारण अहिले श्रम स्वीकृति लिनेको संख्या ह्वात्तै बढेको हो ।
कोरोना संक्रमणअघिको सामान्य अवस्थामा मासिक करिब ४० हजार युवा वैदेशिक रोजगारीमा जाने गरेका थिए । चालु आवको असोजमा समेत वैदेशिक रोजगारीमा जानेको संख्या विगतको सामान्य अवस्थामा जस्तै पुगेको थियो भने कात्तिकमा भने १५ हजारले बढेर ५५ हजार पुगेको छ । गत आर्थिक वर्षभर १ लाख ६६ हजार जना वैदेशिक रोजगारीमा गएकोमा चालु आर्थिक वर्षको ४ महिनामा यो संख्या १ लाख ३६ हजार पुगेको छ ।
चालु आर्थिक वर्षको साउन र भदौमा श्रम स्वीकृति लिनेको संख्या ४१ हजार ८ सय २८ पुगेको थियो । तर असोज एक महिनामा नै साउन र भदौमा लिएको श्रम स्वीकृति संख्या ४० हजार पुगेको थियो । यसैगरी गत वर्षको असोजमा श्रम स्वीकृति लिनेको ८ हजार ९७ रहेको थियो । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको साउनमा २५ हजार ४ सय २८ र भदौको तेस्रो हप्तासम्म १६ हजार ४ सय र असोजमा ४० हजारले श्रम स्वीकृति लिएका छन् । यो संख्या गत आर्थिक वर्षको शुरुको ३ महिनाको भन्दा दोब्बर हो । गत वर्षको कात्तिकमा ७ हजार ७ सयले श्रम स्वीकृति लिएका थिए ।
सरकारले वैदेशिक रोजगारीमा जाने युवाका लागि कोरोनाविरुद्धको खोप व्यवस्थापन गरेपछि पछिल्लो समय करार रद्द गरेर आएका श्रमिक पनि पुनः जाने प्रवृत्ति बढदै गइरहेको छ । नेपाल र नेपाली युवाको प्रमुख आयस्रोतको रुपमा रहेको वैदेशिक रोजगार विगत ३ वर्षमा घटेको देखिएपनि अबका दिनमा भने यसले गति लिने विज्ञको भनाइ छ । अघिल्लो आवमा ३ लाख ६८ हजार ४ सय १३ वैदेशिक रोजगारीमा गएकोमा गत आर्थिक वर्षमा सो संख्या १ लाख ६६ हजार ३ सय ५ मा सीमित भएको छ । ३ वर्ष अघि यो संख्या ५ लाख ७ हजार ८ सय १७ थियो । विश्वव्यापी कोराना संकटका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवसम्म रोजगारीका लागि विदेश जाने नेपाली युवाको संख्यामा कमी आए पनि रेमिट्यान्स भने घटेको छैन ।

प्रतिक्रिया दिनुहोस्