Logo

तीन सय टन बीउ आलु बिक्री गर्दै सहकारी


स्याङजामा उत्पादित आलुको वर्गिकरण गरेर बनाइएको बीउको माग बढेको छ । गल्याङ नगरपालिका ११ स्थित जिमुवामा उत्पादित आलुको बीउ स्याङजालगायत छिमेकी जिल्लाबाट माग बढेपछि निर्यात गर्ने क्रम जारी छ ।
चालु वर्षको हालसम्म २ सय टन आलु बिक्री भइसकेको र केही निर्यात हुने क्रममा रहेको छ । स्थानीय कृषकले ३ सय टन बीउ आलु भण्डारण गरेका थिए । अहिलेसम्म २ सय टन बिक्री भइसकेको कृषक रुमलाल कँडेलले जानकारी दिए । बीउ आलु प्रतिकिलो ६५ देखि ८५ रुपैयाँमा बिक्री हुँदै आएको छ ।
उत्पादित आलुले राम्रो मूल्य र बजार पाएको छ । छोटो समयमै राम्रो र उचित रकम आर्जन गर्न सकिने भएपछि स्थानीय कृषकले वर्षेनि आलुखेती बिस्तार गरेका छन् । जिमुवामा शित भण्डारण गृह सञ्चालनमा आएसँगै कृषक आलु खेतीमा झनै हौसिएका छन् । आलु उत्पादनलाई पनि वर्षेनि दोब्बरका रुपमा बढाउँदै लगेका छन् । व्यक्तिगत, सामुहिक तथा सहकारीमार्फत आलु खेती गर्दै आएका कृषकले चालु आर्थिक वर्षमा एक सय हेक्टरमा आलु लगाउने भएका छन् ।
शित भण्डारमा आफना आलु सुरक्षित र सुनिश्चित भएपछि कृषकले आलु खेती बढाएका हुन् । यस वर्ष २ सय टन बीउ आलु जिमुवामै भण्डारण गरिएको छ भने १ सय टन भैरहवामा भण्डारण गरिएको हो । शित भण्डारमा अभावमा बीउ आलु भैरहवाका शित भण्डारमा पु¥याउनु पर्ने बाध्यता थियो । आफ्नै गाउँमा शित भण्डार बनेपछि कृषकले चाहेजति आलु लगाउन पाएको स्थानीय कृषक चन्द्रकान्त डुम्रेले बताए ।
स्याङजाको दक्षिण भेग जिमुवाका कृषकले झण्डै १२ वर्षदेखि क्लष्टर प्रणाली, सामुहिक र व्यक्तिगत रुपमा आलु खेती गर्दे आएका छन् । व्यावसायिकरुपमा उनीहरुले जनकदवे आलुको बीउ उत्पादन केन्द्र नै बनाइसकेका छन् । जनकदेव, खुमल रातो, खुमल उज्वल, एमएस ४२ लगायत जातका खान र बीउ उत्पादन हुँदै आएको आलु उत्पादक किसान रुमलाल कँडेलले बताए । स्थानीय बीउ आलु अर्घाखाँची, गुल्मी, पाल्पा, तनहुँ, पर्वत, स्याङजामा निर्यात हुँदै आएको छ ।
आँधीखोला बहुउद्देश्यीय पानी उपभोक्ता संस्था (आक्वा) र सिंचाई तथा जलस्रोत व्यवस्थापन समितिको साझेदारीमा बीउ आलु भण्डारणका लागि शित भण्डार गृह बनेको हो । तत्कालिन कृषि विकास कार्यालय स्याङजाको समन्वय तथा राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रको सहयोगमा जिमुवालाई आलु उत्पादन केन्द्र बनाइएको हो । २०६६ सालमा जिमुवालाई एकीकृत बाली अन्र्तगत आलु उत्पादन पकेट क्षेत्र छनौट गरिएको हो ।
जिमुवामै साढे दुई रोपनी क्षेत्रफलमा २ तले सुविधासम्पन्न शित भण्डार गृह बनेको छ । १ करोड १७ लाखको ४३ हजारको लागतमा १ सय ५० मेट्रिक टन क्षमताको भण्डार गृह बनाइएको शित भण्डार सहकारी संस्थाका अध्यक्ष एवं किसान रुमलाल कँडेलले जानकारी दिए ।
पहिलो वर्ष २०६६ सालमा १४ हेक्टरबाट सुरु भएको बीउ आलु खेती अब एक सय हेक्टर भन्दा बढी क्षेत्रफलमा लगाउने तयारी भएको कृषकहरुले बताए । भौगोलिक वातावरण मिलेका कारण यहाँ आलुको उत्पादन निकै राम्रो हुन्छ । आलुबाट स्थानीय कृषकले वर्षेनि लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन् । कृषकहरुले आलुबाट वर्षेनि ५ देखि १५ लाखसम्म रुपैयाँ आम्दानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्