Logo

राष्ट्रिय वाणिज्य बैंकले निगमका कर्मचारीलाई बिना धितो कर्जा दिने

राष्ट्रिय वाणिज्य बैंक र नेपाल आयल निगमबीच तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहले हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँग्ै निगममा न्यूनतम दुई वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई निगमकोे सिफारिसमा अधिकतम १५ लाख रुपैयाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले बिना धितो पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने छ ।
बैंकले आधार दरमा दुई प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ । हाल बैंकको आधार दर ५.४१ प्रतिशत रहेको छ । सम्झौता अनुसार निगमका कर्मचारीहरुको तलबी खाता बैंकले सञ्चालन गर्नेछ । यस सम्झौता पश्चात दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ ।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, मुख्य शाखा कार्यालयकी शाखा प्रबन्धक दुर्गाकुमारी छत्कुल्ली कँडेल, विभागीय प्रमुख सरोज बस्नेत, सहायक शाखा प्रबन्धक हेमराज खरेल, निगमका निमित्त निर्देशक सुषमाकुमारी कर्णलगायत उपस्थित थिए । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५६ वटा शाखा कार्यालय, २१८ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ सेवा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्