एनसीएचएलको नेसनल पेमेन्ट स्वीचमा हिमालयन बैंक आबद्ध «

एनसीएचएलको नेसनल पेमेन्ट स्वीचमा हिमालयन बैंक आबद्ध

हिमालयन बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच नेसनल पेमेन्ट स्वीच अन्तर्गतको नेपाल पे क्यूआर सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।
एनसीएचएलले सञ्चालनमा ल्याएको नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई प्रथम चरणमा नेपाल पे क्युआर सञ्चालन गरी ग्राहकलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा सुविधा उपलब्ध गराउन हिमालयन बैंकसँग सम्झौता भएको हो ।
हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर राणा र नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा हस्ताक्षर गर्ने पहिलो बैंक हिमालयन भएको छ । नेशनल पेमेन्ट स्वीचले ल्याएको नयाँ सुविधाले भुक्तानी प्रणालीलाई थप सहज बनाई विभिन्न बैंकिङ कारोबार पूरा गर्न सकिने बैंकले जनाएको छ ।
ग्राहकले नेपाल पे क्युआर उपलब्ध भई सञ्चालनमा ल्याउने सबै मर्चेन्टहरुबाट सहज र सरलरुपमा खरिद गरिएका वस्तु तथा सेवाहरुको क्युआरमार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन् । यसका साथै बैंकले नेशनल पेमेन्ट स्वीचमार्फत एनसीएचएलले उपलब्ध गराउने अन्य सेवाहरु पनि क्रमिकरूपमा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
नेशनल पेमेन्ट स्वीचमा आबद्ध भई सञ्चालनमा आएको नेपाल पे क्युआर उत्कृष्ट तथा सुरक्षित भुक्तानी प्रणाली भएकाले बैंकका ग्राहकहरु प्रत्यक्षरूपमा लाभान्वित हुने विज्ञप्तिमा जनाइएको छ । यो प्रणालीमा आबद्ध भएपछि ग्राहकले नगदै भुक्तानी गर्नु पर्ने झन्झटबाट मुक्त हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्