Logo

स्वच्छ प्रतिस्पर्धाले प्रणालीगत जोखिम ल्याउँदैन

स्वच्छ प्रतिस्पर्धा हुँदा बैंक तथा वित्तीय संस्थामात्र नभएर करोडौं निक्षेपकर्ता, लाखौं लगानीकर्ता तथा मुलुकको पनि फाइदा हुन्छ ।

बजारमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्छ । बैंक तथा वित्तीय संस्थाजस्ता अर्थतन्त्रका अन्य क्षेत्रभन्दा तुलनात्मक रूपमा पारदर्शी तथा नियामक निकायको सुपरिवेक्षणमा रहेको क्षेत्रमा पनि प्रतिस्पर्धा हुन्छ नै । तर, पछिल्लो केही समयदेखि बैंक तथा वित्तीय क्षेत्रमा नियमनकारी निकायको आँखा छल्ने प्रवृत्ति मौलाउन थालेको देखिन्छ । व्यापार बढाउन आक्रामक लगानी गर्ने तथा नियामक निकायको निर्देशनमा पनि प्वाल खोज्ने प्रवृत्ति पनि देखिएको छ । यसरी केही बैंक तथा वित्तीय संस्थाले गर्दा समग्र बैंक तथा वित्तीय क्षेत्रको बदनाम हुने स्थिति आएकोमा केन्द्रीय बैंक पनि सजग नै छ । त्यसैले केन्द्रीय बैंकका गभर्नरले नेपाल बैंकर्स संघको साधारणसभामा नरम भाषामा बैंकहरूलाई सचेत पनि गराए । बजारमा प्रतिस्पर्धाको नाममा अपारदर्शी तथा गलत प्रवृत्ति भित्र्याउँदा कालान्तरमा समग्र क्षेत्रमा नै समस्या आउने खतरा रहन्छ । त्यतिमात्र नभएर केहीको कारणले प्रणाली नै जोखिममा पर्ने खतरा पनि रहन्छ ।
तसर्थ बैंक तथा वित्तीय संस्थाहरूले सजग भएर आफ्नो व्यापार गर्नुपर्छ । अन्य मुलुकमा झैं नभएर नेपालमा समग्र अर्थतन्त्र नै बैंक तथा वित्तीय क्षेत्रले धानिदिएका छन् । त्यसैले पनि केही बैंक तथा वित्तीय संस्थाका कारण प्रणालीमा समस्या आउँदा समग्र अर्थतन्त्रमा नै धक्का लाग्ने जोखिम पनि छ । स्वच्छ प्रतिस्पर्धा गर्नु बजारको चरित्र हो । स्वच्छ प्रतिस्पर्धा हुँदा बैंक तथा वित्तीय संस्थामात्र नभएर करोडौं निक्षेपकर्ता, लाखौं लगानीकर्ता तथा मुलुकको पनि फाइदा हुन्छ । अस्वस्थ प्रतिस्पर्धा गर्दा केही समय त फाइदा देखिएला, तर कालान्तरमा भने यसले प्रणालीगत जोखिम बढाउँछ । पछिल्ला दुई वर्षमा यसै पनि कोरोना महामारीका कारण बैंक तथा वित्तीय संस्थाको लगानीमा आउने प्रतिफल घटिरहेका बेला जबर्जस्ती रूपमा आफ्नो प्रतिफल बढाउन प्रतिस्पर्धा गर्दा अर्थतन्त्रले कत्तिको साथ दिन्छ, त्यो पनि हेर्नुपर्ने हुन्छ । अन्यथा प्रणालीगत जोखिम निम्त्याएर अरूलाई पनि बिगार्ने प्रकारको अस्वस्थ प्रतिस्पर्धाले अर्थतन्त्रलाई हानि गर्छ ।
हुन त बैंक तथा वित्तीय संस्थाको पहिलो त्रैमासिकको प्रतिवेदनले समग्र अवस्था देखाउँदैन, तर पनि पहिलो त्रैमासको प्रतिवेदन हेर्दा बैंक तथा वित्तीय संस्थाहरूको तीव्र प्रतिस्पर्धाका कारण निक्षेपमा दिने र कर्जामा लिने औसत ब्याजको अन्तर (स्पे्रडदर) घट्न थालेको देखिन्छ, जसको कारण बैंक तथा वित्तीय संस्थाले चालू आर्थिक वर्षको कमाइबाट हुने नाफामा असर गर्छ र अन्त्यमा लगानीकर्तालाई दिने लाभांशमा असर पर्दछ । केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरूका लागि ४.४ प्रतिशतभन्दा बढी स्प्रेड कायम गर्न नपाइने व्यवस्था गरेको छ । यसैगरी विकास बैंक र फाइनान्स कम्पनीहरूले भने ५ प्रतिशतसम्म स्पे्रड कायम गर्न पाउने व्यवस्था छ । तर, प्रतिस्पर्धाका कारण चालू आर्थिक वर्षको असोजमा अधिकांश वाणिज्य बैंकले तोकिएको सीमाभन्दा कम स्प्रेड कायम गरेका छन् । कोरोना महामारीका कारण लामो समयदेखि बजारमा कर्जाको माग नहुँदा आफ्नो लगानी बढाउन नसकेका बैंकहरू महामारी कम भएसँगै कर्जा विस्तारमा आक्रामक हुन थालेको कारण पनि कर्जाका ग्राहकहरू आकर्षित गर्न ऋणको ब्याजदर घटाएसँगै स्पे्रडदर पनि घटेको देखिन्छ । एक वर्ष अवधिमा वाणिज्य बैंकहरूको औसत स्प्रेडदर १ प्रतिशत बिन्दुभन्दा पनि बढीले गिरावट आएको छ ।
२०७७ असोजमा वाणिज्य बैंकहरूको औसत स्प्रेडदर ४.३५ प्रतिशत रहेकोमा २०७८ असारमा ३.३८ प्रतिशत र २०७८ असोजसम्म आइपुग्दा ३.२४ प्रतिशतमा झरेको छ । यसरी बैंक तथा वित्तीय संस्थाको व्यवसाय विस्तारका लागि तीव्र प्रतिस्पर्धाका कारण स्प्रेडदर घट्दो क्रममा रहनु अर्थतन्त्रका लागि ठीक हो । किनकि यसबाट कर्जाको ब्याजदर सस्तो भई ऋणीहरूलाई फाइदा हुन्छ । तर, असोजसम्म घटेको स्प्रेड कात्तिकबाट भने तरलता अभावका कारण बैंकहरूले निक्षेपको ब्याजदर वृद्धि गरेकाले बढ्ने देखिएको छ । तरलता अभावमा केन्द्रीय बैंकले केही सहजीकरण गरिरहेको भए तापनि सरकारले विकास खर्च नबढाएसम्म बैंक तथा वित्तीय संस्थाहरूलाई सहज भने देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्