उद्योगका शाखाले पनि दर्ता गराउनुपर्ने «

उद्योगका शाखाले पनि दर्ता गराउनुपर्ने

उद्योगहरुले शाखाका रुपमा विभिन्न स्थानमा स्थापना गरेका एउटै प्रकृतिका उद्योगले पनि भिन्न उद्योगसरह सञ्चालन अनुमति लिनुपर्ने भएको छ । विगतका कानुनले उद्योगलाई शाखा खोल्ने र सो शाखाको कारोबार सम्बन्धी विवरण मुख्य कार्यालयबाटै सञ्चालनको अनुमति दिएपनि औद्योगिक व्यवसाय ऐनको पछिल्लो संशोधनले यसलाई खारेज गरेसँगै सबै उद्योगका शाखाले छुट्टै उद्योगसरह अनुमति लिन थालेका छन् ।
औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ३ को उपदफा (३) मा ऐन प्रारम्भ हुनुअघि शाखा उद्योगको रूपमा स्थापना भएका उद्योगले ऐन बमोजिमको प्रकृया पूरा गरी छुट्टै उद्योगको रूपमा दर्ता गराउनु पर्ने व्यवस्था गरेको छ । जसका कारण कतिपय उद्योगले शाखालाई छुट्टै उद्योगका रुपमा दर्ता गराएपनि कतिपयले भने शाखा नै खारेज गरेको उद्योगी व्यवसायीहरुको भनाइ छ । सोही दफाको उपदफा (४) मा कुनै उद्योगले आफ्नो उत्पादन वा त्यसको कुनै भाग साविकमा उद्योग रहेको स्थानभन्दा फरक स्थानवाट उत्पादन गर्न चाहेमा पनि दर्ताबाहेक सबै प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ ।
ऐनको उपदफा (३) बमोजिमको म्यादभित्र छुट्टै उद्योगको रूपमा दर्ता हुन नचाहने उद्योगले त्यस्तो शाखा उद्योगलाई इकाइ उद्योगको रूपमा स्थापना गरी सञ्चालन गर्न सक्ने व्यवस्था गरिए पनि त्यसमा समेत उद्योगहरुले रुची देखाएका छैनन् । उद्योगको इकाइको स्थापना गर्दा यस ऐन बमोजिम दर्ताबाहेक नयाँ उद्योग स्थापना गरे सरहको प्रकृया पूरा गर्नु पर्नेछ भन्ने व्यवस्था भएकाले व्यवसायीले यसलाई झन्झटिलो मानेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले उत्पादन गर्ने लक्ष्यले शाखा विस्तार भएमा पुनः लाइसेन्स लिनुपर्ने तर बिक्री केन्द्रका रुपमा शाखा राख्ने भएमा भने लाइनसेन्स नचाहिने गरेको जानकारी दिए । सरकारी प्रक्रिया झन्झटिलो हुँदा व्यवसायीहरु मन खोलेर लगानीका लागि अग्रसर हुन नसकेको उनको अनुभव छ ।
उद्योग विभागका महानिर्देशक जीवलाल भुसालका अनुसार यो व्यवस्था गत वर्ष नै कार्यान्वयनमा आइसके पनि कोभिड महामारीका कारण अझै पनि सबैखाले उद्योगका शाखा दर्ताका लागि आइसकेका छैनन् । ऐनले परिकल्पना गरेको व्यवस्था अनुसार यसरी सबै एकाइलाई छुट्टै दर्ता गराउने व्यवस्थाले औद्योगिक तथ्यांक र अभिलेखीकरणमा सहज भएपनि कोभिड महामारीका कारण लक्ष्य पूरा हुन सकेको छैन ।
ऐनअनुसार यस्ता इकाइबाट हुने उत्पादन तथा कारोबारको अभिलेख सम्बन्धित इकाइले तयार पारी राख्नुपर्ने तथा यस्तो अभिलेख मुख्य कार्यालयमा समेत राख्नुपर्ने व्यवस्था गरिएको छ । यस्तै ऐनको अर्को व्यवस्थाअनुसार उद्योग स्थानान्तरणको लागि स्वीकृति लिनुपर्ने अनिवार्य गरिएको छ । जसमा कुनै एक ठाउँमा सञ्चालन गर्ने गरी दर्ता भएको उद्योग कुनै कारणले अन्यत्र स्थानान्तरण गर्नुपर्ने भएमा सोको कारण खुलाई उद्योग दर्ता गर्ने निकाय समक्ष तोकिए बमोजिमको ढाँचामा निवेदन दिनु पर्ने जनाइएको छ ।
एक प्रदेशबाट अर्को प्रदेशमा स्थानान्तरण गर्नुपर्ने भएमा विभागको स्वीकृति लिनुपर्ने जनाइएको छ । यसरी प्राप्त हुने निवेदन माथि उद्योग दर्ता गर्ने निकायले स्थानान्तरण भई जाने सम्बन्धित स्थानीय तहको सिफारिसमा उद्योग स्थानान्तरणको स्वीकृति दिन सक्ने औद्योगिक व्यवसाय ऐनमा उल्लेख छ । उद्योग स्थानान्तरणका लागि स्वीकृति प्रदान गरिएको जानकारी सम्बन्धित प्रदेशको उद्योग हेर्ने मन्त्रालय र स्थानीय निकायलाई समेत दिनुपर्ने कानुनी प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्