मुगुका पुरुषमा स्थायी बन्ध्याकरणको आकर्षण

कुनै बेला बन्ध्याकरण गर्न नमान्ने मुगुका पुरुषहरुमा पछिल्लो समय भने यसप्रति आकर्षण बढेको पाइएको छ । बन्ध्याकरण गर्दा शारीरिक रुपमा कमजोर भइँदैन भन्ने चेतनाका कारण स्थायी बन्ध्याकरण गर्ने पुरुष बढेका हुन् ।
गएको बुधबार जिल्ला स्वास्थ्य कार्यालय ठिनी गमगढीले आयोजना गरेको पुरुष स्थायी बन्ध्याकरण शिविरमा सयौं पुरुष बन्ध्याकरण गर्न आएका थिए । बिहान १० बजेबाट सुरु भएको शिविर बेलुकी ६ बजेसम्म चलेको थियो । शिविरमा २० जना पुरुषको स्थायी बन्ध्याकरण गरिएको डा. ज्ञानेश्वर श्रेष्ठले बताए ।
यस वर्ष मुगुको एक नगरपालिका र तीन गाउँपालिकामा पुरुष स्थायी बन्ध्याकरणको एक–एक दिने शिविर आयोजना गरी एक सय जनालाई सेवा दिने उद्देश्य रहेको उनले जानकारी दिए ।
स्वास्थ कार्यालय मुगु ठिनीका परिवार नियोजन सुपरभाइजर दिपेन्द्र यादवले सेवा लिन आएकालाई २ सय ५० रुपैयाँ यातायात खर्चसमेत दिएको बताए । तीन सन्तान भएपछि भ्यासेक्टोमी गर्न आएका जिल्लाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले भ्यासेक्टोमीले कुनै कमजोरी नहुने थाहा पाएर शिविरमा आएको बताए ।