Logo

नाम मात्रैको सुपथ मूल्य पसल


साल्ट ट्रेडिङ कर्पोरेशनले सञ्चालन गरेको चाडपर्व लक्षित सुपथ मूल्य पसलको साइन बोर्डमै नुनको मूल्य १८ र चिनीको मूल्य ७९ रुपैयाँ प्रति किलो लेखिएको छ ।
बजार मूल्य भन्दा ११ रुपैयाँ सस्तोमा चिनी किन्न पाउने आशमा उपभोक्ता साल्ट ट्रेडिङको पसलमा पुग्छन्, तर चिनी नै पाइदैन । आवश्यक भए नुन मात्रै लिएर फर्किनु पर्छ । साल्ट ट्रेडिङ धनगढीका सूचना अधिकारी रामचन्द्र जोशीले यसवर्ष चिनी नै आएको बताए । “चिनी नआउनुको कारण त मलाई थाहा छैन” उनले भने, “हाकिम सापलाई नै सोध्नुपर्छ तर मैले सुनेको नेपाल सरकारले भन्सार छुट नदिएकाले साल्ट ट्रेडिङले खरिद नै गरेन ।”
सीमाना क्षेत्रका नेपाली उपभोक्ताहरुले नेपाली बजारमा चिनीको मूल्य ९० रुपैयाँ पर्ने भएकाले चिनी किन्नका लागि भारतीय सीमावर्ती बजारहरुमा जाने गरेका छन् । त्यहाँ उनीहरुले ७०÷७५ रुपैयाँ प्रति किलोको दरमा किन्न पाएपनि तौलमा ठगिने गरेको उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमकी सदस्य सीता कोइरालाले बताइन् । उनका अनुसारमा दिपावलीमा मिठाइका परिकार बनाइने भएकाले चिनी बढी आवश्यक पर्छ । उनले सुपथ मूल्य पसलमा सबै सामान किन्न पाउने व्यवस्था गरिनुपर्ने बताइन् ।
सुपथ मूल्य पसलमा चिनी नपाएपछि भारतको वन गाउँ पुगेर चिनी ल्याएका धनगढीका अमर रानाले मूल्य कम परेपनि राम्रो चिनी नरहेको र तौल पनि कम रहेको बताए । उनले साल्ट ट्रेडिङले बोर्डमै चिनीको मूल्य लेखेर उपभोक्तालाई झुक्याउने काम गरेको बताए ।
पहिलो पटक सुपथ मूल्य पसलमा नुन, चिनी र चामल सहित मुङ, अरहर, मास र गहतको दाल, फरचुन सनफ्लावर तेल, पिठो, अगरबत्ति, साबुनलगायतका सामान व्यवस्था गरेको जनाएको साल्ट ट्रेडिङले धनगढीको सुपथ मूल्य पसलमा सबै सामान नरहेको एक कर्मचारीले जनाए ।
यद्दपि, बजार मूल्य भन्दा ५ देखि १० रुपैयाँ कम मूल्यमा बिक्री गरिरहेका सूचना अधिकारी जोशीले बताए । उनले दसैं, तिहार, छठ पर्व लक्षित सुपथ मूल्य पसल हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्ने बताएपनि चार बजे नै बन्द हुने गरेको छ । सुपथ मूल्य पसल भएपछि दिनभरी नै पसल खुल्नु पर्ने उपभोक्ताको माग छ ।

प्रतिक्रिया दिनुहोस्