थलिएका विकास आयोजना गतिदिन जिल्ला सभाको निर्देशन

म्याग्दीमा थलिएका ठूला विकास आयोजनालाई गति दिन निर्माण व्यवसायी र सम्बन्धित कार्यालयलाई ताकेता गर्ने छैटौँ जिल्ला सभाले निर्देशन गरेको छ । जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा भएको जिल्ला सभामा ठूला आयोजनालाई समयमै सम्पन्न गराउनका लागि निर्माण व्यवसायी र सम्बन्धित कार्यालयलाई ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
जिल्लामा ठूला विकास आयोजनालाई समयमै सम्पन्न गराउन स्थानीय तहले समन्वयात्मक भूमिकाबाट अनुगमन, निरीक्षण र सम्बन्धित निर्माण व्यवसायीलाई ताकेता गर्नुपर्नेमा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले जोड दिएका थिए ।
सभामा धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुन, अन्नपुर्ण गाउँपालिका उपाध्यक्ष केशमाया मगरले तीन तहको सरकार मिलेर बाढीपहिरो पीडितको घर पुनर्निर्माण समयमा नहुनुमा आलोचना बढेको धारणा राखेएका थिए ।
पटक–पटक म्याद थप गरिएका बेनी–जोमसोम सडकको म्याग्दी खण्ड, बेनी–दरवाङ, रत्नेचौर–बेनी, गलेश्वर–पिप्ले–भगवती सडक, पोखरेबगर–चित्रे सडक, राहुघाट जलविद्युत आयोजना, बेनी अस्पतालको निर्माणाधीन भवन, कालिगण्डकी, रघुगंगा र म्याग्दी नदीमा बन्दै गरेको पुल, खानेपानी आयोजनालगायतका पूर्वाधार निर्माणमा भएको ढिलासुस्ती हटाउन निर्माण व्यवसायी र सम्बन्धित कार्यालयलाई ताकेता गर्ने निर्णय गरिएको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताए ।
स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, जिसस सदस्यहरूको उपस्थितिमा भएको छ्रैटौं जिल्ला सभामा सो निर्णय भएको होे । “ठूला विकास आयोजनामा भएको ढिलासुस्तीप्रति निर्माण व्यवसायीले पर्याप्त जनशक्ति, र उपकरण परिचालन नगरेका कारण विकास आयोजना ढिलासुस्ती भएको निष्कर्ष जिल्ला सभाले निकालेको छ,” उनले भने ।
जिससका लागि संघ र प्रदेशबाट प्राप्त बजेट जिल्ला सभाले स्वीकृत गरेको छ । दुखुखोला र स्वाँता खोलाको पुलको संरक्षणमा आवश्यक बजेट विनियोजनका लागि सम्बन्धित मन्त्रालयमा ध्यानाकर्षण गराउने निर्णयसमेत सभाले गरेको छ ।
प्रजिअ चिरञ्जीवी रानाले जिल्लाको शान्ति सुरक्षा, कोभिड नियन्त्रण र मेलापर्वलाई ब्यवस्थित गराउनमा प्रशासनसँंगै स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी जिम्मेवार बनेर सहयोग गर्न आग्रह गरेका थिए ।