व्यवसायीमैत्री ऐन नियम जारी नभए महासंघ संघर्षमा उत्रन बाध्य हुनेछ : अध्यक्ष सिंह

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले व्यवसायीमैत्री ऐन नियम जारी नभए महासंघ संघर्षमा उत्रने बताएका छन् । महासंघ एसोसिएट सदस्य समन्वय कार्यसमितिको १०औं साधारण भेलालाई राजधानीमा सम्बोधन गर्दै अध्यक्ष सिंहले व्यवसायीमैत्री ऐन नियमको अभावमा निर्माण उद्योगमा धेरै चुनौती थपिएको बताए ।
खरिद ऐन संशोधनको अन्तिम प्रक्रियामा रहेको अवस्थामा त्यसलाई पूर्ण व्यवसायीमैत्री बनाउन महासंघ नेतृत्वले इमान्दार प्रयास गरिरहेको अध्यक्ष सिंहले बताए । महासंघका सल्लाहकार तथा पूर्वअध्यक्ष रमेश शर्माले निर्माण उद्योगलाई मर्यादित तथा व्यवस्थित बनाउन सबैको इमान्दार प्रयास आवश्यक भएको धारणा राखे ।
लो बिडिङका कारण निर्माण उद्योगमा धेरै समस्या देखिएको भन्दै उनले नीतिगत रूपमै लो बिडिङ अन्त्य हुनुपर्ने बताए । महासंघका अर्का सल्लाहकार तथा पूर्वअध्यक्ष सुकुन्तलाल हिराचनले निर्माण उद्योगमा धेरै चुनौती देखिएको अहिलेको अवस्थामा पेशागत हकहितका लागि सबै एक हुनुपर्ने धारणा राखे । महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले विभिन्न समस्यासँग जध्दै भए पनि नेपालका निर्माण व्यवसायीले उत्कृष्ट काम गरिरहेको दाबी गरे ।
महासंघ एसोसिएट सदस्य समन्वय कार्य समितिका संयोजकसमेत रहेका महासंघका उपाध्यक्ष आङ दोर्जी लामा (एडी) ले महासंघको विकास विस्तारमा एसोसिएट सदस्यहरूको महत्वपूर्ण भूमिका रहेको बताए । महासंघका महासचिव रोशन दाहालले एसोसिएट सदस्यहरू महासंघको ‘मुटु’ भएको बताए । एसोसिएट सहसंयोजक रामजी पन्त ‘मुकेश’ ले व्यावसायिक एकता आजको आवश्यकता भएको बताए ।
जिल्ला निर्माण व्यवसायी संघ काभ्रेका अध्यक्ष उपेन्द्र घिसिङ, महासंघका पूर्व सल्लाहकार अमरबहादुर श्रेष्ठले सम्मान पाएर आपूmलाई खुसी लागेको र महासंघका संस्थापक सदस्य आईपी प्रधानलगायतले निर्माण व्यवसायीहरूले भोग्नुपरेका विविध समस्या बारे चर्चा गरेका थिए ।
भेलामा एसोसिएट सचिव नवराज श्रेष्ठ तथ कोषाध्यक्ष शिव भट्टराई ले आ–आफ्नो वार्षिक प्रतिवेदन पेस गरेका थिए ।
नेपालको निर्माण उद्योगमा विशिष्ट योगदान दिने अग्रज एसोसिएट सदस्य निर्माण व्यवसायीलाई भेलामा सम्मान गरिएको थियो । सोही भेलामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव एवं कार्यान्वयन समितिका अध्यक्ष इन्जिनियर केशवकुमार शर्माले बोलपत्रमा लो–बिड तथा बिमा विज्ञ इन्जिनियर जगन्नाथ गौतमले निर्माण उद्योगमा बीमाका सम्बन्धमा आफ्नो प्रस्तुति धारणा राखेका थिए ।