जनगणनामा राई किन नलेख्ने ?

१२ औं जनगणनामा विभिन्न जातजाति, भाषाभाषी, धार्मिक समूह, लिंग आदिका अगुवाहरूलाई नै जनगणनासम्बन्धी तालिम दिएर गणकको रूपमा खटाएको भए राम्रो हुन्थ्यो । यस्तो माग आदिवासी जनजाति, विभिन्न भाषाभाषी, धार्मिक समूह, लिंग आदिका अगुवाहरूले राख्दै आएका छन् । विभिन्न जातजाति, भाषाभाषी, धार्मिक समूह आदिका अगुवालाई नै जनगणनासम्बन्धी तालिम दिएर जनगणनामा खटाउन सकेको भए सम्बन्धित जातजाति, भाषाभाषी, धार्मिक समूह आदिको जनसंख्यालगायत अन्य तथ्य–तथ्यांकहरू सही ढंगले आउँथ्यो कि ?
तर, यसपटकको जनगणनामा खटिने अधिकांश जनगणक र सुपरभाइजरहरू सरकारी कर्मचारी (निजामती) हरूकै आफन्त र नातागोताहरू छानिएको भन्ने छ । जस्तो यहाँ एक उदाहरण दिऊँ । इलाम जिल्लाको रोङ गाउँपालिकाको एक वडामा निजामती कर्मचारी (गृह मन्त्रालयमा कार्यरत) राई जातका बान्तवा थरका शाखा अधिकृतकै सहोदर भाइ जनगणक छानिएका छन् । भनिन्छ, तिनै मान्छेका भाइ नै सुपरभाइजरमा पनि परेका छन् । यो कुरो सही हो भने एकै व्यक्ति जनगणक र सुपरभाइजर हुन पाउने व्यवस्था छ ? यही २५ कात्तिकदेखि ९ मंसिरसम्म हुने १२ औं राष्ट्रिय जनगणनाको तथ्य–तथ्यांक विगतका जनगणनाभन्दा पनि गाँजेमाजे ढंगले आउने सम्भावना देखिन्छ ।
जनगणनामा राई किन नलेख्ने ?
विगतमा जानेर वा नजानेर अथवा राई भन्दा, लेख्दा आपूm पनि ‘तालुकदार–जिम्मावाल’ ‘राई’ जस्तै ‘ठूलो राई’ होइन्छ भनेर हामीले राई भन्दै, लेख्दै आएको साँचो हो । तर, राई के हो ? भन्नेबारेमा बुझ्दै जाँदा, सोधखोज गर्दै जाँदा, पढ्दै जाँदा, इतिहास हेर्दा पढ्दा साथै, हाम्रा पिता–पुर्खाहरूले मौखिक रूपमा भन्दै आएको तथ्य कुरो र विगतमा ‘तालुकदारी–जिम्मावाल’ चलाएका मान्छेहरू अनि तिनका जेठा छोरोहरू जिउँदै रहेको अवस्था एवम् उनीहरूले भनेअनुसार, देखेअनुसार पनि राई जात वा जाति होइन-थिएन । त्यसैले हामीले राई नलेखेर अब हामी आपूm जे हौं, त्यही लेखौं, लेखाऊँ भनेका हौं । जस्तै आठपहरिया, कुलुङ, चाम्लिङ, थुलुङ, बान्तवा, मेवाहाङ, बाहिङ, याम्फु आदि लेखौं, लेखाऊँ, हाम्रो असली जातीय स्वपहिचानले चिनिऔं भनेको हो ।
त्यसैले यही २५ कात्तिकदेखि ९ मंसिरसम्म हुने जनगणनामा जातिको महलमा ‘राई’ वा ‘कुलुङ राई’, ‘थुलुङ राई’, ‘चाम्लिङ राई’, ‘याम्फु राई’, ‘बान्तवा राई’ आदि नलेखेर आठपहरिया, कुलुङ, चाम्लिङ, जेरो÷जेरोङ, थुलुङ, बान्तवा, बाहिङ, मेवाहाङ, याम्फु आदि मात्रै लेखौं, लेखाऊँ । अझ सकिन्छ भने बाहुन, छेत्री, ठकुरी, संन्यासी आदिले जस्तै आ–आफ्नो थर पनि (बीचमा) नामपछि लेखौं, लेखाऊँ । जस्तै म कुलुङातिको लोवात्ती ‘पाछा’ (थर) को हुँ । त्यसैले मैले ‘निनाम लोवात्ती कुलुङ’ लेख्दा अझ राम्रो र प्रस्ट हुन्छ । किनभने यसो गर्दा मेरो ‘पाछा’ (थर) पनि आउँछ, जाति पनि आउँछ ।
अझ बाहुन, छेत्री, ठकुरी, संन्यासी आदिले त विगतदेखि नै जनगणनामा मात्रै नभएर नागरिकता, जग्गाधनी पुर्जा, शैक्षिक प्रमाणपत्र, पेन्सनपट्टा, वृद्धभत्ता कार्ड, विद्यार्थी परिचयपत्र आदिमा बाहुन, छेत्री, ठकुरी, संन्यासी आदि नलेखेर पोखरेल, दाहाल, गुरागाईं, बराल, बास्तोला, आचार्य, पौडेल, थापा, बस्नेत, खड्का, कटुवाल, कार्की, शाही, चन्द, मल्ल, गिरी, पुरी, भारती, वन आदि लेख्दै आएका छन् । त्यति मात्रै होइन, बाहुन–छेत्रीहरूले त पोखरेलभित्रको पानी पोखरेल र दूध पोखरेल, कार्कीभित्रको मुडुला कार्की, सुतार कार्की, खड्काभित्रको लकाई खड्का, बस्नेतभित्रको खप्तरी बस्नेत आदिसमेत लेख्न र चिनाउन थालेका छन् ।
जनगणनामा राई नै लेखेमा के हुन्छ त ? पहिलो कुरो राई जात वा जाति नभएकाले गर्दा राई नलेखाऊँ, नलेखौं भनेको हो । अर्को भनेको आफ्नो जातीय स्वपहिचान र अस्तित्व आठपहरिया, कुलुङ, चाम्लिङ, जेरो-जेरोङ, थुलुङ, बान्तवा, बाहिङ, मेवाहाङ, याम्फु आदि हुँदाहुँदै राई लेखेमा जसरी प्रदेश नम्बर १ मा बान्तवा भाषाका वक्ता संख्या १ लाख ३२ हजार चानचुन हुँदाहुँदै पनि प्रदेश नम्बर १ मा त्यहाँको कामकाजी भाषामा सिफारिस हुन सकेन ।
हामी अरू जो बाँकी किरातीहरू छौं, हाम्रो अवस्था पनि त्यस्तै हुन्छ । प्रदेश नम्बर १ मा बान्तवा भाषाले किन प्रदेशको कामकाजी भाषामा सिफारिस भएन भन्दा बान्तवा भाषा १ लाख ३२ हजार चानचुन भए तापनि बान्तवा जातिको जनसंख्या भने केवल ४ हजार ६ सय ४ मात्रै छ । फलतः बाँकी १ लाख २६ हजार चानचुन बान्तवा भाषा कसले बोल्छ, कहाँ बोलिन्छ ? अत्तोपत्तो भएन । त्यसैले बान्तवा भाषा सिफारिस भएन । हुन पनि बाँकी बान्तवा भाषाका वक्ता को हुन्, कहाँ छन् ? टुंगो नलागेसम्म बान्तवा भाषालाई प्रदेशको कामकाजी भाषाका रूपमा स्विकार्ने कुरो पनि भएन ।