Logo

एक वर्षमै थपिए फोरजीका ६६ लाख प्रयोगकर्ता

4G Sim Card. Mobile telecommunications technology symbol. Vector illustration.

एक वर्षको अवधिमा फोरजी मोबाइल प्रयोगकर्ताको संख्या ६६ लाखले वृद्धि भएको छ । गत वर्षको भदौ मसान्तमा ५५ लाख १६ हजारको संख्यामा रहेका फोरजी प्रयोगकर्ता चालु वर्षको सोही अबधिमा १ करोड २१ लाख ७० हजार पुगेको छ । फोरजी सेवा नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकम कम्पनीले दिँदै आएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार भदौ मसान्तसम्म नेपाल टेलिकमका ६२ लाख ६८ हजार, एनसेल ५७ लाख २५ हजार तथा स्मार्ट टेलिकम १ लाख ७६ हजार ग्राहक छन् । गत वर्षको सोही अवधिमा टेलिकमका १६ लाख ४ हजार, एनसेलको ३७ लाख २९ हजार र स्मार्टको १ लाख ८२ हजार ग्राहक थिए । एक वर्षको अवधिमा सबैभन्दा धेरै नेपाल टेलिकमले ४६ लाख ६३ हजार र एनसेलले १९ लाख ९६ हजार फोरजी ग्राहक बढाएका छन् । तेस्रो सेवा प्रदायक स्मार्ट टेलिकमका भने ५ हजार ग्राहक घटेको प्रतिवदेनमा उल्लेख छ ।
नेपाल टेलिकमले साउनदेखि भदौ महिनाको अवधिमा मात्रै ९ लाख फोरजी ग्राहक थप गरेको छ । नेपालमा फोरजी सेवा विस्तार गर्ने पहिलो कम्पनी नेपाल टेलिकम भएपनि सेवा विस्तारमा एनसेल आक्रामक थियो । चालु वर्षमा आएर टेलिकमले रणनीतिक योजनासहित प्रतिस्पर्धामा आफूलाई अगाडी पु-याएको छ । प्रतिस्पर्धी कम्पनी एनसेलले साउन महिनामा फोरजी ग्राहक ५५ लाख ११ हजार रहेकोमा २ लाख बृद्धि गर्दै भदौमा ५७ लाख २५ हजार पु-याएको छ ।
भदौ मसान्तसम्म डेटा सेवातर्फ टेलिकमका १ करोड ८० लाख ग्राहक पुगेका छन् । त्यसैगरी गरी एनसेलका ८१ लाख ६१ हजार ग्राहक रहेको प्रतिवेदनमा उल्लेख छ । स्मार्ट टेलिकम १ लाख ७६ हजार, इन्टरनेट सेवा प्रदायकका ७० लाख ७० हजार गरी डेटा सेवाका ग्राहक ३ करोड ४५ लाख ८९ हजार छन् । प्राधिकरणले केन्द्रिय तथ्यांक विभागले गरेको जनसख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा प्राधिकरणले नेपालको कुल जनसख्या ३ करोड ४५ लाख ५४ हजारमा डेटा सेवा पुगको छ । यो केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको जनसंख्या अनुसार ११० प्रतिशत हो ।
एकातर्फ मोवाइलमा थ्रीजी तथा फोरजी सेवाको प्रयोगमा बढावा त छँदै छ भने अर्काेतर्फ सार्वजनिक स्थलमा वाइफाई प्रयोगलाई नियामक निकायले जोड दिएको छ । सगरमाथा आधार शिविर, अन्नपूर्ण सक्रिट, लुम्बिनी परिसर, जानकी मन्दिर परिसर, पाथिभरा, स्वर्गद्वारी, बराहक्षेत्र, मुक्तिनाथ, जोमसोमलगायतका स्थानमा वाइफाइ पुगेको छ । प्राधिकरण अनुसार, सामुदायिक विद्यालयमा सूचना प्रविधिको पहुँच पु-याउन १ हजार सामुदायिक विद्यायलमा आवश्यक पूर्वाधार पुगिसकेको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सामुदायिक तथा अन्य सबै विद्यालयम इन्टरनेटको पहुँच वर्तमान समयका लागि आवश्यक भएकाले त्यसतर्फ काम भएको बताए । विद्यालय तहबाट हुने डिजिटल ग्याप कम गर्न प्राधिकरणले ध्यान दिएको उनको भनाइ छ ।
प्राधिकरणले फोरजी सेवा विस्तारसँगै फाइभजी सेवा परीक्षण गर्ने तयारी गरेको छ । यसका लागि नेपाल टेलिकमले फ्रिक्वेन्सी माग गर्दै प्राधिकरणमा पत्राचार समेत गरिसकेको छ । ‘फाइव जी डेटा फोकस्ड’ सेवा भएकोले आगामी दिनमा इन्टरनेट प्रयोगकर्ता अझै बढ्ने गुणस्तरीय सेवा पाउने विश्वास गर्न सकिन्छ । त्यसैगरी प्राधिकरणले पनि फाइभजी फ्रिक्वेन्सी खुला गर्नका लागि रेडियो फ्रिक्वेन्सी सेवा समितिमा सिफारिस गरिसकेको छ । फाइभजी सेवा सञ्चालन गर्ने सम्बन्धमा फ्रिक्वेन्सी नीति निर्धारण समितिमा पटकपटक छलफल भइकसके पनि टुंगो भने लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्