चाडपर्वमा मूल्यवृद्धि गलत : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चाडपर्वको बेला जनतामा मारमा पार्नेगरी मूल्यवृद्धि गरेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।
नेता सिंहले जनतालाई राहत दिने बेलामा ग्याँस, पेट्रोल, डिजेलसहितका दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गरेको उल्लेख गर्दै तत्काल मूल्यवृद्धि नियन्त्रण गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।
नेपाली कांग्रेस सुनसरी–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा गरेको एक कार्यक्रममा उनले निर्वाचनमा जाने बेलामा मूल्य वृद्धि गराएर आफ्नै पार्टी नेतृत्वको सरकारले जनतालाई जवाफ दिन सक्ने अवस्था समेत नबनाएको बताए । नेता सिंहले सरकारले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने, जनतालाई राहत दिने काममा विशेष ध्यान दिन जरुरी रहेको पनि बताए ।
उनले १४ औं महाधिवेशनमा पूरानै नेतृत्वलाई निरन्तरता दिएर पार्टीलाई झनै कमजोर बनाउने गल्ती नगर्न नेता, कार्यकर्तालाई आग्रह समेत गरे ।