डिजिटल फाइनान्सियल सर्भिसलाई बेवास्ता गरेर अघि बढ्न सकिन्नः महाप्रसाद अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल फाइनान्सियल सर्भिसलाई बेवास्ता गरेर अघि बढ्न नसकिने बताए ।
बिहीबार नक्सालमा रहेको भाटभटेनी सुपरमार्केटमा क्यूआर कोडबाट गरिने कारोबारको शुभारम्भ गर्दै गभर्नर अधिकारीले अबको समयमा डिजिटल फाइनान्सियल सर्भिसलाई आत्मसात गरेर अगाडि बढ्नुपर्ने बताए । उनले विद्युतीय माध्यमको फाइदा धेरै भएकोले डिजिटल प्रविधिलाई समयसँगै अघि बढाउनु पर्ने बताए । क्यूआर कोर्डमार्फत भुक्तानी गर्दा समयको बचतसँगै पैसा लेनदेनसम्बन्धी अनेकन झन्झटबाट मुक्त हुने पनि उनले बताए ।
गभर्नर अधिकारीले भने, ‘आज हामीले क्यूआरको उद्घाटन गरिरहेका छौँ, विद्युतीय माध्यमको फाइदा धेरै छ, अझ क्यूआरको फाइदा धेरै छ, समयको बचत छ, काउण्टरमा बस्ने व्यक्तिलाई पैसा दिइराख्दा पैसा गन्नुपर्छ, च्यातिएको छ कि छैन हेर्नुपर्छ, एउटा ट्रान्जेक्सन सेटल हुन समय लाग्छ, क्यूआरबाट किन्यौँ, केही झन्झट नै छैन, क्यासको कारोबारमा बैंकसम्म पुग्नुपरेन, एक जनासँग कारोबार गर्दा क्यूआरबाट पाँच जनासँग कारोबार गर्न सकिन्छ, डिजिटल फाइनान्सियल सर्भिसलाई इग्नोर गरेमा कहिल्यै पनि अघि बढ्न सम्भव हुँदैन ।
गभर्नर अधिकारीले डिजिटल नेपालको अभियानलाई चाँडै सफल बनाउन सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए । उनले क्यूआर कोडको महत्व नेपालको राष्ट्रिय हीतको सन्दर्भमा विशेष रहेको बताउँदै सबैले आन्तरिक लाभ लिन सकिने र यसका लागि नेपाल राष्ट्र बैंकले प्रोत्साहित गरिरहेको बताए ।