Logo

ब्याजदर घटाउन राष्ट्र बैंक सकारात्मक

विराटनगर- नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले ब्याजदर घटाउन राष्ट्रबैंक सकारात्मक रहेको बताएका छन् । विराटनगरमा आयोजित समसामयिक आर्थिक तथा बैंकिङ गतिविधि विषयक कार्यशालामा सिवाकोटीले राष्ट्र बैंक ब्याजदर घटाउनुपर्ने उद्योगीहरूको मागप्रति सकारात्मक रहेको बताए । “उद्योगीले उठाएका माग सम्बोधन गर्न राष्ट्र बैंक तयार छ,” उनले भने, “त्यसका लागि छलफल भइरहेको छ ।”
बैंकहरूले थाम्नै नसक्ने गरी ब्याजदर बढाएको भन्दै उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको नेतृत्वमा मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगीहरू आन्दोलित भएका थिए । माघ मसान्तभित्र माग सम्बोधन गराउन प्रदेश सरकार संघीय सरकारसँग पहल गर्न तयार भएपछि उद्योगीहरूले आन्दोलन स्थगित गरेका थिए । उद्योगीहरूले माघ मसान्तभित्र माग पूरा नभए घोषित आन्दोलन पुनः सुरु गर्ने चेतावनी दिँदै आएका छन् ।
शिवाकोटीले खुल्ला बजार अर्थनीतिअनुसार माग र आपूर्तिको आधारमा ब्याजदर निर्धारण हुने स्पष्ट पारे । उनका अनुसार राष्ट्र बैंकले ब्याजदर तोक्ने पुरानो परम्परातर्फ फर्कन नसक्ने भए पनि ब्याजदर नियन्त्रणका औजारहरू परिचालन गरेर घटाउने प्रयास भइरहेको बताए । राष्ट्र बैंकले निर्धारण गरेको स्प्रेडदर नमान्नेलाई कारबाही गरिने उनको भनाइ थियो ।
राष्ट्र बैंकले सीसीडी रेसियो ८० प्रतिशतको सीमा नघाउने तीनवटा बैंकलाई कारबाही पनि गरिसकेको शिवाकोटीले जानकारी दिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहोराले देशको आर्थिक अवस्था सकारात्मक नभएको बताए । उनले बजारमा पूँजीको अभाव भएकाले पर्याप्त लगानी गर्ने स्थिति नभएको बताए । ब्याजदर बढाउने प्रतिस्पर्धाले झन् समस्या थपिइरहेको उनको भनाइ थियो । कार्यक्रममा मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीलगायतले उद्योगीले उठाउँदै आएका माग सम्बोधन गर्न राष्ट्र बैंकलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्