Logo

ब्याजदर बढ्दा निक्षेप बढ्छ?

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा सीसीडी अनुपात हटाएर सीडी अनुपात कायम गरेसँगै बैंकहरूले पुँजीबाट कर्जा दिन नपाउँदा बैंकमा अहिले तरलताको अभाव भएको छ । बैंकहरूसँग लगानीयोग्य रकमको अभाव भएसँगै त्यसलाई बढाउन बैंकहरू निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा उत्रिए ।
ब्याजदर बढाउने क्रम बढ्दै जाँदा कुनै बैंक १२ प्रतिशतको ब्याजदरसम्म पुगेका थिए । त्यसले बजारमा अस्वस्थकर प्रतिस्पर्धा बढाउने भन्दै राष्ट्र बैंकले हस्तक्षेप गरेको छ । यसलाई राष्ट्र बैंकको अस्वाभाविक हस्तक्षेप भन्ने आरोप लागे पनि बैंकहरूले ब्याजदर बढाउँदा त्यसले कस्तो प्रभाव पार्छ तथा ब्याजदर बढ्दा निक्षेपमा के प्रभाव पर्छ भन्ने विषयमा बैंकरहरूसँग कारोबारकर्मी सुमित सुबेदीले गरिएको कुराकानीको सार :

ब्याजदर बढाउँदैमा शतप्रतिशत निक्षेप बढ्छ भन्ने हुँदैन
शोभनदेव पन्त
बैंकर

ब्याजदर बढाउँदैमा शतप्रतिशत निक्षेप बढ्छ भन्ने त हुँदैन । ब्याजदर बढाएपछि बचत गर्ने बचतकर्ताहरूले अन्य ठाउँमा लगानी गरेको पैसा बैंकमा ल्याएर बचत गर्छन् कि भन्ने मात्र हो । जस्तै अन्य कतै लगानी गरेको मानिसका लागि बैंकले त्योभन्दा बढी रिटर्न दिन्छ, त्यसमाथि बढी सुरक्षित र भरपर्दो पनि छ भने मानिसहरूले बैंकमा बचत गर्छन् कि भन्ने कुरा हो ।
त्यसैले पनि बैंकहरूले ब्याजदर बढाएका होलान् ।
तर, यसमा दुईवटा परिदृश्य हुन्छन् । डेढ–दुई वर्षअगाडि बैंकहरूले डिपोजिटको रेट कम गर्दा पनि निक्षेप निकै नै बढेर ब्याजदर नै घटाउँदै लगेको अवस्था थियो । त्यो समयमा जम्मा ६/७ प्रतिशतको ब्याजदर हुँदा पनि बचत नै धान्न नसकिने अवस्था आयो । अब यसलाई कसरी लिने भन्ने कुरा हो । त्यस्तै ब्याजदर जतिसुकै बढाए पनि स्रोतबाट आउने फ्लो नै कम भएर गयो भने त्यहाँ निक्षेप बढ्ने कुुरा हुँदैन । नेपाली बजारमा मुख्यतया पैसा भित्रिने भनेको रेमिट्यान्सबाट नै हो । रेमिट्यान्सले अर्थतन्त्रको ठूलो हिस्सा धानेको छ । त्यो रेमिट्यान्समा वृद्धि भएन भने ब्याजदर जति बढाए पनि त्यसले निक्षेप बढाउँदैन ।
अर्को, सरकारले करको माध्यमबाट दैनिक रूपमा पैसा उठाइरहेको हुन्छ । त्यो बजारमा आउन नसक्दा पनि तरलताको अभाव भएको हो । अर्थात् सरकारको दैनिक खर्चमा वृद्धि नहुँदा स्रोत बढेन । त्यसैले ब्याजदर बढाउँदैमा निक्षेप बढ्छ भन्ने कुरा त्यति भरपर्दो हो जस्तो मलाई लाग्दैन ।
बजारमा पैसा भएको तर निक्षेपकर्ताहरूले अन्य कुनै ठाउँमा लगानी गरिरहेका छन् भने त्यो पैसालाई बैंकमा तान्न सकिन्छ । ब्याजदर बढाएपछि त्यो पैसा बैंकमा आउनु पनि स्वाभाविक हो । तर, बजारमा पैसा नै छैन भने बैंकको निक्षेप बढ्न सक्दैन ।
बजारलाई हेर्ने हो भने कहिले ब्याजदर घट्दा पनि डिपोजिट बढेको देखिन्छ । कहिले ब्याजदर बढ्दा पनि डिपोजिट बढेको देखिँदैन । त्यसैले एउटा कारणले मात्र यही नतिजा ल्याउँछ भन्नु शतप्रतिशत सही नहुन सक्छ ।
तर, के हो भने ब्याज बढाएपछि कम ब्याजदर भएको बैंकको डिपोजिड अर्को बैंकमा आउने भन्नेचाहिँ हुन्छ । त्यसले बैंकहरूबीच अस्वस्थ प्रतिस्पर्धा बढाउँछ र ब्याजदर झनै उचाइमा पुग्छ ।
त्यसैले पनि होला, राष्ट्र बैंकले केही भिन्न निर्णय ग¥यो । हामीले धेरै अगाडिदेखि नै ब्याज भनेको बजारलाई नै छोड्नुपर्छ भन्दै आएका छाँै । तर, यस पटक राष्ट्र बैंकले त्यसलाई रोक्यो । यसरी रोक्नुलाई नकारात्मक रूपले मात्र हेर्न भने मिल्दैन । बैंकहरूले ब्याजदर बढाएर १३/१४ प्रतिशत पुग्यो भने भोलि गएर ऋणको ब्याजदर पनि सोही हिसाबले बढ्दैै जान्छ ।
अहिले ७÷८ प्रतिशतको दरमा पनि कतिपय उद्योगधन्दाहरूले उद्योग सञ्चालन गर्न नसकेको अवस्था छ । त्यो बढेर दोहोरो अंकमा पुग्दा त त्यसले निकै नै असर गर्छ । त्यसैले निक्षेपको ब्याजदर बढाएपछि बैंकहरूले कर्जाको ब्याज पनि बढाउँछन् भन्ने ध्येयले राष्ट्र बैंकले केही नियन्त्रण गरेको देखिन्छ । त्यो बढेर १५/१६ प्रतिशत भइदियो भने त अर्थन्त्रको अवस्था भयावह हुन सक्छ । सोही कन्सर्नबाट राष्ट्र बैंकले एउटा स्टेप लिएको हो । त्यसलाई नकारात्मक रूपले लिनुपर्छ जस्तो लाग्दैन ।

तरलता अभाव हुँदा निक्षेपमा ब्याज बढाउनु स्वाभाविक हो
तिलक रावल
पूर्वगभर्नर
खासगरी निक्षेपमा ब्याज बढाएपछि बैंकहरूले कर्जाको ब्याजदर पनि बढाउने प्रयत्न गर्छन् । त्यस्तोमा राष्ट्र बैंकको भूमिका अहम् रहन्छ । अहिले बजारमा तरलताको अभाव खड्किएको छ । वित्तीय संघसंस्थाहरूले त्यसको अनुभव गरिरहेका छन् । यस्तो समयमा उनीहरूले निक्षेपमा ब्याज बढाएर आफूप्रति निक्षेप आकर्षित गर्नु स्वाभाविक कुरा हो । तर, त्यो भन्दै गर्दा अस्वस्थ प्रतिस्पर्धा भने हुनु हुँदैन । एउटा वित्तीय संस्थामा राखेको पैसा अर्को वित्तीय संस्थाले केही बढी ब्याज दियो भनेर अर्को वित्तीय संस्थातर्फ मात्र जाने काम भयो भने त्यो राम्रो हुँदैन । त्यो एउटा खल्तीबाट अर्को खल्तीमा पैसा सारेको जस्तो मात्र हुन्छ । तर, बाहिर रहेको रकम राम्रो ब्याजदर पाएको खण्डमा बैंकभित्र भित्रिन्छ भने त्यो सकारात्मक कुरा हो ।
तर, तरलताको समस्या एउटा बैंकबाट अर्को बैंकमा निक्षेप सारेर समाधान हुँदैन । जस्तै, दुईवटा संस्थामा एउटा बैंकले ९ प्रतिशत ब्याजदर दिएको छ र अर्को बैंकले ९.५ प्रतिशत ब्याजदर दिएको छ भने ब्याजको लोभमा ९ प्रतिशतबाट झिकेर ल्याएर ९.५ मा राख्न थालिन्छ । त्यहाँ अस्वस्थ प्रतिस्पर्धा हुन्छ, जसले सकारात्मक उपलब्धि दिँदैन ।
यस्तो अवस्थामा राष्ट्र बैंकले महŒवपूर्ण भूमिका खेल्नुपर्छ । ‘तँलाई कारबाही गर्छु’ भन्नुभन्दा पनि उत्प्रेरक खालका नीति–नियमहरू ल्याउनुपर्छ । अन्यथा यसले समस्यालाई झनै बल्झाउँछ जस्तो लाग्छ । बैंकहरूले पनि यस्तो समयमा निक्षेपको ब्याजदर त्यो मात्रामा बढाउनु हुँदैन, जुन कर्जाको ब्याजदरमा प्रतिविम्बित हुन्छ ।
अर्थात् कर्जाको ब्याजदरलाई समेत प्रभावित पार्ने तरिकाले कुनै पनि बैंकले ब्याजदर बढाउनु हुँदैन । त्यसलाई राष्ट्र बैंकले हेर्नुपर्ने हुन्छ । त्यसैले केही हदसम्म निक्षेपमा ब्याज बढाउनु राम्रो कुरा हो । तर, बढाएको शतप्रतिशत नै ऋण ब्याजदरमा नझल्कियोस् भन्नका लागि राष्ट्र बैंकले निर्देशन गर्नुका साथै राष्ट्र बैंकले तरलता छोड्ने कामहरू पनि गर्नुपर्छ । अहिले सीडी रेसियो बढाउने विषयमा पनि कुरा भइरहेको छ । यसमा राष्ट्र बैंकले केही भूमिका खेल्छ जस्तो लाग्छ ।
साथसाथै नेपाल सरकारले पनि आफ्नो बजेटमा भएका रकमहरू खर्च गर्न थाल्यो भने बजारमा सकारात्मक प्रभाव ल्याउँछ । अहिले तरलताको अभावमा असहज स्थिति पैदा भएको छ । यसको अन्त्य चाँडै नै हुन्छ जस्तो लाग्छ । यसमा वित्तीय संघसंस्था नेपाल राष्ट्र बैंक र नेपाल सरकारले समझदारीपूर्ण तौरतरिकारले काम गर्नुपर्छ जस्तो मलाई लाग्छ ।
अन्यथा तरलताको अभावले निकै नै गाह्रो अवस्था निम्त्याउन सक्छ । किनभने अहिले देशको अर्थतन्त्र नै असहज अवस्थामा रहेको छ । अहिले बाढीले धान बालीमा ठूलो नोक्सानी गरेको छ । त्यसले आर्थिक वृद्धिदरमा करिब २ प्रतिशत कमी ल्याउने आकलन भइराखेका छन् । यस्तो समयमा सबैले मिलेर काम गर्नुपर्छ । जस्तै धानबालीपछि आउने हिउँदे बालीहरूलाई प्रोत्साहन गरेर त्यताबाट यताको क्षतिलाई परिपूर्ति गर्ने काम हुनुपर्छ । त्यसका लागि नेपाल सरकार वित्तीय संघसंस्थाहरूले पनि मिलेर काम गर्नुपर्छ । राष्ट्र बैंकको त यसमा अहम् भूमिका नै रहन्छ ।

राष्ट्र बैंकको हस्तक्षेपलाई नकारात्मक भन्न मिल्दैन
कृष्णप्रसाद शर्मा
बैंकर
बजारमा सबैले एकै पटक ब्याजदर बढाउँदा त्यसले प्रतिस्पर्धा मात्र गराउँछ । ब्याजदर नै बढाएका कारणले निक्षेप बढ्छ भन्ने हुँदैन । तर, समग्र प्रणालीमा निक्षेप नबढेसम्म बैंकको निक्षेप बढ्दैन । ब्याजदर बढाउँदा कम ब्याजदर भएको बैंकको निक्षेप बढी ब्याजदर भएको बैंकमा ट्रान्सफर हुने मात्र हो । यसले अवस्थामा अस्वस्थकर प्रतिस्पर्धा मात्र हुन्छ ।
जस्तै एउटा बैंकको भन्दा अर्को बैंकमा १ प्रतिशत मात्रै भए पनि बढी ब्याजदर भयो भने १ अर्ब जम्मा गर्दा करोड रुपैयाँ फाइदा हुन्छ । १ करोड जम्मा गर्दा १ लाख रुपैयाँ फाइदा हुन्छ । अनि मानिसहरू एउटा संस्थाबाट पैसा झिकेर अर्को बैंकमा जम्मा गर्न लैजाने गर्छन् । जुन बैंकले अर्को बैंकको निक्षेप तान्यो त्यो बैंकमा तरलता बढ्छ भने जसको पैसा तानिन्छ त्यसमा पुनः तरलताको संकट पर्छ ।
उसले फेरि तरलता बढाउन ब्याजदर बढाउँछ । त्यसो गर्दागर्दै ब्याजदर पिकमा पुग्छ । यता निक्षेपको ब्याज बढ्दा उता कर्जाको ब्याजसमेत बढ्छ । उद्योगहरूले समेत ब्याज तिर्न सक्दैनन् । जस्तै मेरो आम्दानीले ८ प्रतिशतको ब्याजदर धानेको हुन्छ भने मैले घर कर्जा, गाडी कर्जा लिएको हुन्छु । अब ब्याजदर बढेर १२ प्रतिशतमा पुग्यो भने त मेरो आम्दानीले किस्ता तिर्न पुग्दैन । म डिफल्ट हुन्छु । त्यसैले बजारलाई स्वतन्त्र हुन त दिनुपर्छ तर नियालिरहनुपर्छ ।
अहिले हाम्रो प्रणालीमा डिपोजिट बढेको छैन, रेमिट्यान्स त्यति धेरै बढेको अवस्था छैन । त्यसले बैंकमा निक्षेप बढाउन मुस्किल हुने देखिन्छ । अहिले राष्ट्र बैंकको निर्देशनपछि सबै बैंकहरूको ब्याजदर नजिक–नजिक आएको छ । त्यसैले अहिलेको अवस्थामा भने त्यति प्रतिस्पर्धा हुन्छ जस्तो लाग्दैन ।
अहिले बैंकहरूमा तरलता अभावको अवस्था निम्तिएको छ । यसको वास्तविक कारण निक्षेप संकलनभन्दा कर्जा वितरण बढी हो । केही दिनअघिको तथ्यांक हेर्दा मात्रै २ खर्ब कर्जा प्रवाह गर्दा मात्र ६०/७० अर्बको हाराहारीमा निक्षेप संकलन भएको छ, जसका कारणले बैंकहरूसँग निक्षेप घट्दै गएको हो । त्यसमा पनि बैंकहरूले नयाँ लगानी बढाएका हुन् या पुरानो प्रतिबद्धता पूरा गरेका हुन्, त्यो भने हेर्न बाँकी नै छ । बैंकहरूले ब्याज बढाए पनि राष्ट्र बैंकले जुन हस्तक्षेप ग¥यो त्यो त्यति नकारात्मक छैन । हुन त खुला बजारमा हस्तक्षेप गर्नु राम्रो होइन ।
तर, हाम्रो बजार अहिले पनि अपरिपक्व छ । यो पर्फेक्ट बजार होइन । त्यसले गर्दा ब्याजदर बजारले मात्र निर्धारण गर्न सक्दैन । त्यसैले बजारलाई सहज रूपले खेल्न पनि दिने र त्यसलाई राम्रो रेफ्री भएर नियमनकारी निकायले हेर्ने सन्तुलित व्यवस्थामा लैजानुपर्छ ।
विकसित बजार जस्तै अमेरिका, युरोपमा पनि केन्द्रीय बैंकले केही हस्तक्षेप गर्ने गर्छन् । खेल्ने मान्छेले सीमा पनि मिचिरहेको हुन्छ, थाहा पाउँदैन । तर, बाहिरबाट हेर्ने मान्छेले सीमाभित्र रहेर खेलोस् भन्ने सिद्धान्त हो । यताउति नजाऊ भन्ने कुरा हो ।
ब्याजमा यति प्रतिशतभन्दा माथि नजाऊ भन्नु खुला अर्थतन्त्र त नमानिएला तर हाम्रो जस्तो अविकसित बजारमा सतर्क गराउनु राम्रो कुरा हो । बजार नै बिगार्नुभन्दा केही हस्तक्षेप गर्नु राम्रो हुन्छ । त्यसैले राष्ट्र बैंकको हस्तक्षेप ठीकै छ जस्तो लाग्छ । यसले ब्याजदरमा पनि केही हदसम्म समानता ल्याएको छ ।
अर्कातिर तरलताको अभाव भइरहेको समयमा बैंकहरू नै अनुशासित हुनु आवश्यक छ । त्यसका लागि बैंकहरूले निक्षेपको ८० प्रतिशत मात्र लगानी गर्नुप¥यो । अहिले निक्षेपजति आफंैले स्वीकृत गर्ने, भविष्यमा निक्षेप संकलन गरेर कर्जा वितरण गर्छु भन्ने प्लान नै गल्ती हो । आज आफूसँग ढुकुटीमा जति पैसा छ, त्यसको ८० प्रतिशत ननाघ्ने गरी उनीहरूले कर्जा लगानी गर्नुप¥यो । अर्कातर्फ करबाट सरकारको ढुकुटीमा पैसा गइरहेको छ । तर, उनीहरूले खर्च गर्दैनन् बजारमा पैसा जाँदैन । त्यसैले सरकारको बजेट खर्च गर्ने क्षमतालाई पनि बढाउनुपर्छ । राष्ट्र बैंकले गर्ने काम त गरि नै रहेको छ ।

अहिले नै आत्तिएर ब्याजदर बढाइहाल्नुपर्छ जस्तो लाग्दैन
वर्षा श्रेष्ठ
बैंकर
अहिले बैंकहरूले निक्षेप संकलन गर्ने लक्ष्यका साथ ब्याजदर बढाएका छन् । तर, ब्याजदर बढाउँदैमा कुनै पनि बैंकको निक्षेप बढ्छ जस्तो लाग्दैन । ब्याजदर बढाउँदैमा साना–साना डिपोजिट बढ्छन् जस्तो लाग्दैन । तर, ठूला–ठूला संस्थाहरूलाई भने यसले फाइदा हुन्छ जस्तो लाग्छ । ठूलो–ठूलो रकम बचत गर्ने बचतकर्ताहरूले जुन बैंकको निक्षेप धेरै छ त्यस्तो बैंकमा पैसा जम्मा गर्छन् । तर, अरू साधारण बचतकर्ताहरूबाट ब्याजदर बढाउँदैमा निक्षेप आउँछ भन्ने कुरामा म निकै कम विश्वस्त छु । उल्टै ब्याजदर बढाउँदा त्यसले बैंकहरूलाई नै नोक्सानी बढाउँछ जस्तो लाग्छ ।
अहिले बैंकहरूले निकै नै एग्रेसिभ तरिकाले कर्जा दिइरहेका छन् । बैंकहरूको टार्गेट हुन्छ, उनीहरूलाई नाफा बढाउनुपरेको छ । गैरब्याजदर आय कम भएका कारण उनीहरूले कर्जाबाट नै नाफा कमाउनुपर्ने हुन्छ । त्यसले गर्दा नै तरलताको अभाव भएको हो जस्तो देखिन्छ । तर, यी सबै कुराहरू क्षणिक हुन् । केही समयमा तरलता अभावको समस्या समाधान हुन्छ जस्तो लाग्छ ।
जस्तै यो दसैंमा ३० अर्बबराबरको नयाँ नोट साटियो भन्ने सुनिएको थियो । नयाँ नोट साटियो भनेपछि त्यो नोट बैंकमा छैन । बैंकबाट सबैका घरघरमा गएका छन् । दसैंमा सबै कर्मचारीहरूले बोनस पाउँछन् ।
त्यस्ता धेरै पैसाहरू बैंकबाट बाहिर निस्किएका छन् । दसैंको समयमा बैंकहरूबाट धेरै रकम बाहिर गएको हुन्छ, केही समयमा त्यो पैसा पुनः बैंकमा आउँछ । अब मानिसहरूले तिहारपछि खर्च गर्न बाँकी रहेको पैसा बैंकमा ल्याएर राख्छन् जस्तो लाग्छ । सुन्दा यो सानो कुरा हो, तर त्यसले ठूलो भूमिका खेल्छ ।
अर्को कुरा, अहिले सरकारले बजेट खर्च गरिरहेको छैन । सरकारले चालू तथा पुँजीगत खर्चहरूको भुक्तानी बढाएपछि पैसा पुनः बजारमा आउँछ । त्यहाँबाट घुम्दै पुनः बैंकमा पुग्छ ।
त्यस्तै अहिले पुँजीबजार पनि घट्दै गइरहेको छ । अब पुँजीबजारका लागि लिइएको कर्जा पनि भुक्तानी हुँदै जान्छ । अन्य कर्जाहरू पनि भुक्तानी हुँदै जान्छन्, त्यसले समस्यालाई समाधान गर्छ । त्यसले बैंकहरू अहिले नै आत्तिएर ब्याजदर बढाइहाल्नुपर्छ जस्तो लाग्दैन । तरलताको अभाव भएपछि राष्ट्र बैंकले पनि तरलता छोड्न थालेको छ । केही समयमा समस्या आफैँ समाधान हुन्छ जस्तो लाग्छ ।
एउटा कुरा के भने यदि बजारमा केही तरलता रहेछ भने ब्याजदर बढाउँदा बैंकमा भित्रिन्छ कि भन्नेचाहिँ हुन्छ । कर्जा जहाँबाट लिए पनि हुन्छ । तर, डिपोजिड राख्दा मेरो पैसा के हुन्छ भन्ने डर सबैलाई हुन्छ । जस्तै सहकारीमा राखेको रेटमा बैंकले ब्याज दिन्छ भने त्यस्तो अवस्थामा बैंकमा पैसा आउन सक्ने सम्भावना भने रहन्छ । तर, ब्याजदर बढाउँदा त्यसले अर्थतन्त्रका अन्य आयामहरूमा नकारात्मक प्रभाव पार्ने भएकाले ब्याजदर बढाउनु त्यति उचित भने हुँदैन ।

केही समयका लागि क्रेडिट फ्लो नियन्त्रण गर्नुपर्छ
सुरेन्द्र भण्डारी
बैंकर
अहिले तरलता संकट भइरहेको छ । तरलता अभाव भएको यस्तो समयमा बैंकको निक्षेप बढ्दैन । जुन निक्षेप बजारमा रहेको छ, त्यही निक्षेप पानी बगेजस्तै जता बढी ब्याजदर छ त्यतै बग्ने हो । त्यसैले जबसम्म तरलतामा सुधार आउँदैन तबसम्म निक्षेप बढ्ने कुनै सम्भावना हुँदैन ।
त्यसैले बैंकहरूले ब्याजदर बढाउँदैमा बजारबाट ह्वात्तै निक्षेप आउँछ भन्न सकिँदैन ।
राष्ट्र बैंकको नियन्त्रणपछि सामान्यतया सबै बैंकहरूको ब्याजदर उस्तै–उस्तै भएका कारण अहिलै एक बैंकबाट अर्को बैंकमा निक्षेप ट्रान्सफर भइहाल्ने अवस्था पनि छैन । बैंकहरूसँग कतिपय निक्षेप मुद्दतीमा हुने भएकाले बचतकर्ताले त्यो रकम म्याचुअर भएपछि मात्र बाहिर निकाल्न पाउँछन् । त्यसकारण पनि ब्याजदरमा केही यताउता हुँदैमा खासै असर पार्छ जस्तो लाग्दैन । बरु राम्रो डिपोजिट पाएको समयमा बचतमा राखेको पैसालाई मुद्दतीमा लैजान खोज्छन् ।
रफ्तारमा कर्जा प्रवाह भइरहेका कारण तरलताको अभाव भएको हो । यस्तो समयमा तरलतालाई कसरी सहजीकरण गर्ने भन्ने रोल राष्ट्र बैंकको हुनुपर्छ । केही समयका लागि क्रेडिट फ्लोलाई नियन्त्रण गर्नुपर्छ जस्तो लाग्छ । त्यसपछि बिस्तारै सहज हुने र सामान्य अवस्थामा आउँदै जान्छ ।

प्रतिक्रिया दिनुहोस्