धान क्षतिको विवरण संकलन गर्दै स्थानीय तह «

धान क्षतिको विवरण संकलन गर्दै स्थानीय तह


बेमौसमी भारी वर्षाले ४० प्रतिशत धान नोक्सान भएको अनुमान गरिएको कैलालीमा स्थानीय तहहरुले तथ्यांक संकलन गर्न थालेका छन् ।
स्थानीय तहहरुले प्रत्येक किसानको कति धान लगाएको, कति क्षति भएको, क्षति पछि कति बाँकी रहेको र पानी पर्नु भन्दा पहिले कति धान भित्र्याएको थियो भन्ने तथ्यांक लिन थालेका छन् । प्रदेशको कृषि विकास निर्देशनालयले माग गरे अनुसारको लगत संकलन गर्ने निर्णय जिल्ला विपद व्यवस्थापन समितिले गरेपछि स्थानीय तहहरुले तथ्यांक संकलन गर्न थालेका हुन् ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहको अगुवाइमा तथ्यांक संकलन गर्ने निर्णय गरेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताए । उनले स्थानीय तहबाट संकलन भइआएको तथ्यांकको आधारमा किसानलाई राहत दिन प्रदेश र संघ सरकारलाई सिफारिस गर्ने निर्णय पनि भएको बताए ।
जानकी गाउँपालिकाका कृषि शाखा प्रमुख लालविर चौधरीले शुक्रबारदेखि नौ वडामा टोली खटाएको बताए । प्रत्येक किसानको विवरण संकलन गर्ने गरी टोली खटाइएको बताउँदै उनले ३÷४ दिनमा तथ्यांक संकलनको काम गरी सक्ने बताए ।
उनका अनुसार जानकी गाउँपालिकामा १० प्रतिशत जति धान किसानले भित्र्याइसकेका थिए । बाँकी रहेको ९० प्रतिशतमध्ये ३० प्रतिशत धान काट्न बाँकी थियो भने ६० प्रतिशत धान खेतमा काटेर सुकाएको, मुठा पारेको र कुन्यु लगाएको अवस्थामा थियो । कृषि शाखा प्रमुख चौधरीले खडा बाहेकका सबै धान नोक्सान भएको छ । उनले खडा धान पनि हावाहुरी र भारी वर्षाले गर्दा खसेर नोक्सान भएको बताए ।
यसैगरी, कैलारी गाउँपालिकाले पनि सबै वडामा धान क्षतिको तथ्यांक लिन कर्मचारीको टोली खटाएको छ । कैलारीका सूचना अधिकारी यगम कलेलले किसानको घरदैलोमा गएर तथ्यांक संकलन कार्य भइरहेको बताए । उनले तथ्यांक संकलन गरिसकेपछि मात्रै क्षति एकीन हुने बताए । उनले कैलारी गाउँपालिकामा सबै भन्दा बढी धान क्षति भएको दावी गरे ।
कृषि ज्ञान केन्द्र कैलालीले जिल्लामा ३० देखि ४० प्रतिशत धान क्षति भएको अनुमान गरेको छ । केन्द्रका प्रमुख शर्माले एकीन तथ्यांक आइसकेपछि क्षतिको प्रतिशत अझै बढ्न सक्ने बताए । “हामीले अनुमान गरेको भन्दा बढि नै क्षति भएको छ” उनले भने, “क्षतिको प्रतिशत अझै बढ्न सक्छ । पूर्वी क्षेत्रमा ७० प्रतिशत नै क्षति भएको छ । एकदमै कम क्षति भएको ठाउँमा ३० प्रतिशत होला । तर एभरेजमा ४५ प्रतिशत क्षति भएको देखिन्छ ।”
कैलाली जिल्लामा यस वर्ष पनि ७० हजार हेक्टर जमिनमा धान लगाइएको थियो । गत वर्ष छ लाख ७० हजार पाँच सय मेट्रिक टन धान फलेको सुदूरपश्चिममा यसवर्ष ७ प्रतिशत उत्पादन वृद्धि हुने अनुमान गरिएको थियो । गत वर्षको उत्पादन मध्ये कैलालीमा मात्रै तीन लाख ४० र कञ्चानपुरमा एक लाख ८६ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यी दुवै जिल्लामा वर्षाले सबै भन्दा बढी क्षति पुगेको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ ।
वर्षाले नोक्सान गरेको धान स्याहार्दै किसान
यतिबेला भारी वर्षा र बाढी भिजाएर नोक्सान गरेको धान स्याहार्न व्यस्त भएका छन् । गत साता लगातार तीन दिन परेको पानीले भिजेर कुहिएको र उम्रिएको धान ओभानो ठाउँमा सुकाउँदै किसानले स्याहार्न थालेका छन् । कुहिएर र उम्रिएर सकिको भएपनि केही प्रतिशत धान आउने आशमा उनीहरुले स्याहार्न थालेका हुन् ।
कुहिएको धान लायक नभएपनि केहीमा मात्रामा आउने आशमा स्याहारी रहेको भजनी नगरपालिका–७ का किसान जुगराम चौधरीले बताए । उनले खानका लागि केही पनि नबचेको बेला यही धानले भएपनि काम चलाउने आशमा धान स्याहारी रहेको बताए ।
प्रदेश कृषि विकास निर्देशनालयका निर्देशक यज्ञराज जोशीले कुहिएको धान खान योग्य नरहेको बताए । उनले खाएपनि स्वास्थ्यको लागि हितकर बताउँदै किसानलाई कुहिएको धान भएपनि स्याहार्न बाध्यता आइलागेको बताए ।
प्रदेशको अन्न भण्डारको रुपमा रहेको कैलाली कञ्चनपुरमा भारी वर्षले गर्दा धान कुहिएपछि यसपाली सुदूरपश्चिममा धानको अनिकाल लाग्ने संकेत देखिएको छ । “वर्षा भन्दा पहिले नै थ्रेसर लगाएर धान घरभित्र राखिसकेको धान मात्रै राम्रो रहने भयो” प्रदेश कृषि निर्देशक जोशीले भने, “खेतमा रहेको प्रायः सबै धानमा मात्रा र गुणस्तर घट्ने देखिएको छ । यसले गर्दा व्यापारीले धान किन्दा किसानसंग बार्गेनिङ गर्ने र किसानले मूल्य कम पाउने देखिएको छ । गुणस्तर खस्किने भएकाले यस वर्षको धान वर्षभरी भण्डारण गर्न पनि सकिदैन । समयमै सचेत भइएन भने भोकमरी पर्न सक्छ ।”

प्रतिक्रिया दिनुहोस्