स्थानीय तहमा कानुनविज्ञ जनशक्ति अभाव «

स्थानीय तहमा कानुनविज्ञ जनशक्ति अभाव


स्थानीय तहमा कानुनविज्ञ कर्मचारीको अभाव छ । कानुनविज्ञ जनशक्तिसँंगै स्पष्ट कानुनको अभावले स्थानीय सरकारको सेवाप्रवाह र विकासमा ढिलासुस्ती भएको छ । गण्डकी प्रदेश सरकारको कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयको आयोजनामा बेनी नगरपालिकाको सभाहलमा भएको अन्तरक्रियामा संघ, प्रदेशको स्पष्ट कानुन नहुदाँ न्यायिक समितिलगायतमा स्थानीय सरकारलाई समस्या भएको जनप्रतिनिधिको गुनासो थियो ।
अन्तरक्रियामा जनप्रतिनिधि र कर्मचारीबाट उठेका कानुनसम्बन्धी समस्यालाई समाधान गर्नलाई संघ सरकार र कानुनविदसँंग छलफल गरेर स्पष्ट व्यावहारिक कानुन निर्माणमा ध्यान दिने कानुनमन्त्री विन्दुकुमार थापाले बताए । उनले स्थानीय तहका न्यायिक समितिलाई तालिम आवश्यक भएको बताउँदै तालिमका लािग छलफल गरेर सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए ।
जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले स्थानीय तहको निर्वाचन हुनुभन्दा पहिल्य नै स्पष्ट कानुन बनेर आएको भए स्थानीय सरकार सञ्चालन गर्न जनप्रतिनिधि र कर्मचारीलाई सहज हुनेमा ध्यान नजादाँ स्थानीय सरकार आलोचित हुनुपरेको बताए । संघले स्पष्ट कानुन नपठाउनु, प्रदेश सरकारले समयमै कानुन निर्माणमा ध्यान नदिदाँ स्थानीय सरकारलाई विकास निर्माणलगायतको सेवाप्रवाहमा समस्या भएको जिसस प्रमुख केसीले ध्यानाकर्षण गराए ।
जनप्रतिनिधिले स्पष्ट कानुनको अभावले र स्थानीय तहको कानुन निर्माण तथा कार्यान्वयन गर्ने कानुनविज्ञ कर्मचारीको अभावले पालिकाको न्यायिक समितिलाई प्रक्रियागत मेलमिलापमा समस्या झेल्नुपरेको गुनासो उपमयेर सञ्जु बरुवालले गरिन् । कानुनसम्बन्धी ज्ञान अभावले न्यायमा समस्या भएको उनले बताइन् ।
मन्त्रालयका सचिव धर्मराज कुइँकेलले देशको सबै स्थानीय तहमा कानुनविज्ञ कर्मचारी राख्ने व्यवस्था सरकारले नगर्दा स्थानीय सरकारको मेलमिलाप तथा न्यायिक समितिलाई असहज भएको बताउँदै कानुनको कर्मचारी स्थानीय तहमा राख्ने वातावरण बनाउन संघ सरकारलाई ध्यानाकर्षण गराए पनि सरकार फेरबदलले अल्झिएको जानकारी दिए ।
कानुन पढेको कर्मचारी भएमा न्यायिकसंँगै अन्य क्षेत्रमा कानुन बनाउन सहज हुने जानकारी जनप्रतिनिधि र कर्मचारीलाई गराएका थिए । मेयर हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा वडाध्यक्ष र जनप्रतिनिधिले कानुनसम्बन्धी गुनासा समाधानका लागि प्रदेश सरकारले पहल गर्न माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्