सामान्य स्वास्थ्य उपचार अब पालिकाबाटै «

सामान्य स्वास्थ्य उपचार अब पालिकाबाटै


रोल्पाको त्रिवेणी गाउँपालिकाले स्वास्थ्यमा फड्को मारेको छ । सामान्य स्वास्थ्य उपचारका लागि समेत दाङ झर्नुपर्ने झन्झट बेहोर्दै आएका पालिकाबासीले गाउँपालिकाबाटै स्वास्थ्य सेवा लिइरहेका छन् । गाउँपालिकाले उपचार सेवाका लागि डाक्टर र अत्याधुनिक एक्स रे सेवासमेत सुरु गरेसँंगै त्रिवेणीबासीको जिल्लाबाहिर गएर उपचार गर्नुपर्ने समस्या टरेको हो ।
गाउँपालिकाले १ जना एमबीबीएस डक्टर नियुक्त गरी सेवा प्रवाह गरिरहेको छ । यसका साथै डीआर सिस्टमको एक्स रे सेवा उपलब्ध गराएको छ । गाउँपालिकाले नुवागाउँ र नेर्पामा ल्याब सेवासमेत सञ्चालनमा ल्याएको छ ।
गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको लगानीले स्थानीय लाभान्वित भएको स्थानीय खुसीराम केसीले बताए । “सामान्य एक्स रे र ल्याव सेवाका लागि पनि दाङ झर्नुपर्ने समस्या थियो अब आफ्नै घर आँगनबाट यो सुविधा पाएका छौ केसीले भने । घर नजिक आएको सुविधाले समय र पैसाको वचत भएको छ,” केसीले भने ।
गाउँपालिकाले महिला स्वास्थ्य स्वयमसेविकाको सेवा अझै गुणस्तरीय र भरपर्दो बनाउन उनीहरूको सेवा सुविधा पनि थप गरेको छ । नेपाल सरकारले उपलब्ध गराउँदै आएको भत्तामा वार्षिक १२ हजार थप गरेको छ । “संस्थागत प्रसूतिलाई प्रोत्साहन गर्न स्वास्थ्य संस्थामा प्रसूति गराउन आउने आमालाई यातायात स्वरुप नेपाल सरकारले उपलव्ध गराएको भत्तामा एक हजार थप गरेका छौ,” गाउँपालिकाका स्वास्थ्य संयोजक पूर्ण बुढाले भने । महिला स्वास्थ्य स्वयमसेविकालाई उपलब्ध गराएको प्रोत्साहन भत्ता र स्वास्थ्य संस्थामा प्रसूति गर्न आउनेलाई दिइने थप यातायात सुविधाले गाउँपालिकाको स्वास्थ्य सूचकमा परिवर्तन आएको देखिन्छ संयोजक बुढाले भने ।
गाउँपालिकामा आर्थिक वर्ष २०७६÷०७७ मा संस्थागत सुत्केरी संख्या ४५.४ प्रतिशतमात्रै रहेकोमा आर्थिक वर्ष २०७७÷०७८ मा यो संख्या वढेर ५६ प्रतिशत पुगेको थियो । यसका साथै गर्भजाँच गर्नेको संख्या आर्थिक वर्ष २०७६÷०७७ मा ४६.७ प्रतिशत रहेकोमा आर्थिक वर्ष ०७७÷०७८ मा यो संख्या बढेर ६४ प्रतिशत पुगेको थियो । घरमा हुने प्रसूतिलाई शून्यमा झार्ने गरी काम भइरहेको छ गाउँपालिकाका स्वास्थ्य संयोजक बुढाले भने ।

प्रतिक्रिया दिनुहोस्