खोप अभियानले जनजीवन सहज बन्दै «

खोप अभियानले जनजीवन सहज बन्दै


सरकारले थप २ करोड ६० लाख खोप ल्याउने तयारी गरेसँगै आर्थिक गतिविधि र मानिसको दैनिकी अझ सहज हुने भएको छ । कोरोना विरुद्धको खोप अभियानका कारण संक्रमण नियन्त्रण उन्मुख देखिएपछि सरकारले तत्काल सो संख्यामा थप खोप आयात गर्ने भएको हो ।
हालसम्म देशभर प्रयोग भएको १ करोड ५० लाख मात्राको खोपले संक्रमण दर २५ प्रतिशतबाट घटेर ९ प्रतिशतको हाराहारीमा झरेको पाइएको छ ।
सरकारले संचालन गरेको कोरोना विरुद्धको खोप अभियान अन्तर्गत हालसम्म लगभग १ करोड ५० लाख ८१ हजार भन्दा बढी व्यक्तिले खोप लगाएका छन् । यद्यपि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिम भने कायम नै रहेको जनाउँदै सचेत रहन अनुरोध गर्दै आएको छ ।
यसमध्ये पहिलो मात्राको खोप ८५ लाख ८१ हजार १९५ अर्थात ४३ प्रतिशत जनसंख्याले लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी पूर्ण मात्राको खोप लगाउनेको संख्या ६५ लाख ४६३ अर्थात ३२.६ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । नेपालमा हालसम्म कोभिसिल्ड, भेरोसेल, जे एन्ड जे, एष्ट्राजेनिका सहितका खोप प्रयोग भइरहेका छन् । हाल यो सोप १८ वर्ष भन्दा बढी उमेर समूहलाई खोप लगाइएको हो ।
सरकारले बिहिबारबाट देशका विभिन्न भागमा भेरोसेलको दोस्रो मात्राको खोप लगाउन शुरु गरेको छ । पहिलो मात्राको खोप लगाएका व्यक्ति तोकिएको खोप केन्द्रमा गएर खोप लगाउन समेत सरकारले अनुरोध गरेको छ ।
सरकारले खोप अभियानलाई निरन्तता दिन गाभी, कोभ्याक्स अन्तर्गत खरिद, चिन सरकारबाट अनुदान र सरकारले सोभैm खरिद गरेर केही समय भित्र पुनः २ करोड ६१ लाख ५८ हजार ७६० मात्रा खोप ल्याउने तयारी गरेको छ । यो खोप विभिन्न विभिन्न चरणमा आउने स्वास्थ्य प्रवक्ता पौडेलले जानकारी दिए ।
हालसम्मको खोपको वितरणलाई हेर्ने हो भने नेपालको कुल जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ लाई आधार मान्दा २८.२ ले आंशिक र २१.४ प्रतिशतले पूर्ण मात्राको खोप लगाएको देखिन्छ । यसैगरी १५ वर्ष भन्दा माथिका लक्षित २ करोड १७ लाख ५६ हजार ७६३ जनसंख्या मध्ये ३९ प्रतिशतले आंशिक र २९ प्रतिशतले पूर्ण खोप लगाइसकेको मन्त्रालयले जनाएको छ ।

संक्रमण दर स्थिर
विगत १ हप्तामा ३५ हजार २५० जनाले परिक्षण गराएकोमा ९ प्रतिशत अर्थात् ३ हजार ३१४ मा संक्रमण देखिएको छ । गत २४ घण्टामा ८ हजार ५४९ जनाको पिसिआर र एन्टीजेन परिक्षण गरेकोमा ६.३ प्रतिशत अर्थात ५४५ जनामा कोरोना संक्रमण देखिएको छ । सो अवधिमा ७२६ जना कोरोना मुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।
सो अवधिमा २३ हजार ५६८ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् । बिहिबारसम्म देशभर ११ हजार ३१५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमण भएयता ११ हजार ३२६ जनाको मृत्यु भएको छ ।
हालसम्म कोरोना संक्रमण मुक्त हुने दर ९७.२ प्रतिशत रहेको पाइएको छ । हाल मुगु र मुस्ताङ जिल्लामा संक्रमण संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ । ५०० भन्दा बढी संक्रमित रहेको जिल्ला काठमाडौं र कस्की सहित ४ जिल्ला मात्र रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्