पर्यटकलाई तिलिचो र थोरङ्ला जान रोक «

पर्यटकलाई तिलिचो र थोरङ्ला जान रोक


जिल्ला प्रशासन कार्यालय मनाङले प्रसिद्ध अन्नपूर्ण पदमार्गअन्तर्गत थोरङ्ला र संसारकै सबैभन्दा उचाइमा रहेको तिलिचो ताल जान रोक लगाएको छ । निरन्तर वर्षा र हिमपातका कारण जोखिम बढेको भन्दै मौसम सफा नहुँदासम्मका लागि पर्यटकलाई त्यसतर्फ जान रोक लगाएको हो ।
केही दित यता निरन्तर वर्षा भइरहेको र उच्चहिमाली क्षेत्रमा हिमपातसमेत भएकाले जुनसुकै बेला पनि दुर्घटना हुनसक्ने भन्दै तत्कालका लागि पर्यटकलाई हिँड्न नदिएको मनाङका प्रुमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए ।
अहिले अन्नपूर्ण पदमार्गअन्तर्गत थोरङ्ला पास गर्ने र गन्तव्य तिलिचो ताल बनाएर आउने पर्यटकले मनाङका होटल भरिभराउ भएको भन्दै खराब मौसमका कारण केही दिनका लागि मात्रै कोही कतै नहिँड्न आग्रह गरिएको प्रजिअ आचार्यले बताए । “अहिले मनाङमा थुप्रै आन्तरिक र बाह्य पर्यटक आएका छन्, तर मौसम खराब भएकाले जोखिम क्षेत्रमा नजान भनेका छौँ,” प्रजिअ आचार्यले भने, “उच्च पहाडमा कुनै दुुर्घटना भयो भने उद्धार गर्न पनि कठिन हुन्छ, त्यसैले जहाँ रहनुभएको छ त्यही बस्नुहोस् भनेका छौं ।”
प्रजिअ आचार्यका अनुसार मौसम सुधार नभए सम्मका लागि पर्यटकलाई माथिल्लो मनाङभन्दा माथिल्लो भागमा जान रोक लगाइएको छ । त्यसभन्दा माथि भएका पर्यटकलाई पनि जो जहाँ जस्तो अवस्थामा छ सोही अवस्थामा रहन आग्रह गरिएको प्रजिअ आचार्यले बताए ।
पर्यटकले आफ्नो समय निर्धारण गरेर घुम्नका लागि आएको बेला प्राकृतिक विपत्तिले समस्या पार्दा निराशा हुने भन्दै सम्बन्धित क्षेत्रका होटल व्यवसायीलाई सौहार्दपूर्ण व्यवहार गर्नसमेत आग्रह गरिएको प्रजिअ आचार्यको भनाइ छ । “निर्धारित समय र खर्चका कारण कतिपय मानिसमा निराशा हुनसक्छ,” प्रजिअ आचार्यले भने, “यस्तो अवस्थामा पर्यटकसँग सौहार्द व्यवहार गर्न व्यवसायीलाई आग्रह गरेका छौं ।”
सिजन सुरु भएसँगै मनाङमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ । छोटो समय निर्धारण गरेका केही पर्यटक भने फर्कन थालेका छन् । विदेशीसँगै यतिबेला दसंै बिदाको सदुपयोग गर्दै अधिकाँश आन्तरिक पर्यटक गन्तव्य तिलिचो बनाएर मनाङ पुगेका छन् । प्रायः विदेशी पर्यटक मौसम पूर्वानुमान गर्दै यात्रा गर्ने गरेको पाइए पनि आन्तरिक पर्यटक हतारमा यात्रा गर्ने हुनाले जोखिम बढी हुने प्रजिअ आचार्यको भनाइ छ ।
कोरोना भाइरसको उच्च जोखिमसँगै लामो समय बन्द रहेको अन्नपुर्ण पदमार्गमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन हुन थालेसँगै पर्यटन व्यवसायी उत्साहित भएका थिए । तर यसवर्ष कोभिड–१९ को प्रभाव कम हुँदै गए पनि भारी वर्षासँगै बाढी र पहिरोले मनाङको पर्यटन व्यवसायमा थप निराशा बनाएको छ ।

बाढी र पहिरोले पुनः सडक अवरुद्ध
मनाङ जोड्ने एकमात्र सडक पुनः अवरुद्ध भएको छ । आइतबारदेखिको निरन्तर वर्षासँगै बाढी र पहिरोका कारण पुनः सडक अवरुद्ध भएको हो ।
करिव चार महिनापछि नियमित यातायात सञ्चालन भएको सडक दुई साता नबित्दै पुनः अवरुद्ध भएको मनाङ प्रशासनले जनाएको छ । यसअघि गत असार १ गतेको भारी वर्षा र पहिरोले करिब चार महिना सडक अवरुद्ध बनेको थियो । करिब ४० दिनसम्म लगातार प्रयासपछि सडकमा यातायात सुचारु भएको थियो ।
हाल मनाङको नासोङ गाउँपालिकाअन्तर्गत खोत्रोदेखि चामे गाउँपालिकाको तलेखुसम्म दर्जनौं ठाउँमा पहिरोले सडक अवरुद्ध बनाएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए । प्रजिअ आचार्यका अनुसार मनाङको खोत्रोदेखि धारापानी, बगरछाप, दानाक्यु, तिमाङ लगायतका ठाउँमा बाढी र पहिरोले क्षति पु¥याएको छ । वर्षासँगै तिमाङ खोलामा आएको बाढीले सवारी साधन गुड्ने काठको अस्थायी पुलमा समेत क्षति पु¥याएको प्रजिअ आचार्यले बताए ।
मनाङ प्रशासनका अनुसार तत्कालका लागि क्षतिग्रस्त सडकमा सेना र प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा पैदल हिँड्न र दुईपांग्रे सवारी चल्न सक्ने बनाइएको भए पनि चारपांग्रे सवारी साधन चल्न नसक्ने भएको छ । अहिले पनि मनाङमा वर्षात् भइरहेको कारण तत्कालै सडकमा यातायात सञ्चालन गर्न कठिनाइ भएको मनाङ प्रशासनले जनाएको छ । यद्यपि सडक मर्मत गरी यातायात सञ्चालन गर्न जिल्लाको ठाउँठाउँमा एक्साभेटर तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरी बल मनाङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक अर्जुन पौडेलले बताए ।
मनाङ सडकअन्तर्गत यसअघि खोत्रो, धारापानी, बगरछाप, तिमाङ, भार्ताङ लगायतका ठाउँमा ठूलो पहिरो गएपछि लामो समय यातायात सञ्चालन हुन सकेको थिएन । पहिरोले सडक भास्सिने तथा बगाएको भएपछि कतिपय स्थानमा अस्थायी वैकल्पिक सडक बनाएर दसंै अघिमात्रै यातायात सुचारु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्