साफ उपविजेता नेपाली टोली स्वदेश फर्कियो

माल्दिभ्समा सम्पन्न १३औं संस्कणको साफ च्याम्पियनसिप प्रतियोगितामा उपविजेता बनेको टोली सोमबार स्वदेश फर्किएको छ । पहिलो पटक फाइनल खेल्दै इतिहास बनाएको उपविजेता टोलीलाई विमानस्थलमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघका पदाधिकारीले स्वागत गरे ।
माल्दिभ्समा सम्पन्न १३औं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाविजेता नेपाली राष्ट्रिय फुटबल टोली सोमबार नेपाल स्वदेश फर्किएको हो । पहिलो पटक फाइनलमा स्थान बनाउँदै इतिहास बनाएको नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी लगायतले भव्य स्वागत गरे । विमानस्थालमा टोलीलाई स्वागत गर्न पुगेका युवा तथा खेलकुद मन्त्री गहतराजले फुटबल अगाडि बढाउनका लागि सरकारले जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए ।
यस अघि राजीनामा दिइसकेका प्रशिक्षक अबदुल्लाह अलमुताइरी भने नेपाल फर्किएनन् । उनी बाहेक फर्किएको टोलीलाई स्वागत गर्न पदाधिकारी बाहेक फुटबल समर्थकहरु समेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनीहरुलाई टोलीलाई हौसला प्रदान गर्दै नारा बाजी समेत गरेका थिए ।
पाँच देशले सहभागिता जनाएको प्रतियोगिता राउन्ड रोबिन लिगको आधारमा सञ्चालन भएको थियो । जसमा नेपालले लिग चरणका चार खेल मध्ये दुई खेलमा जित निकाल्दा एक खेल भारतसँग पराजित भएको थियो भने एक बंगलादेशसँग बराबरी खेल्दै फाइनल प्रवेश गरेर इतिहास बनाएको थियो । विमानस्थलामा ओर्लिएपछि नेपाली टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले फाइनल खेलको दोस्रो हाफमा तालमेल अभाव हुँदा गोल खान पुगेसँगै लक्ष्य पूरा हुन नसकेको बताए । अहिले टोलीमा युवा जोश भएकाले आगामी दिनमा यो टोलीले नेपाली फुटबलमा अझै राम्रो नतिजा निकाल्नेमा आफू विश्वस्त रहेको कप्तान किरणले बताए ।
शनिबार मालेमा भएको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित हुँदा उपविजेतामा चिक्त बुझाएको थियो । लिग चरणमा नेपालले आयोजक माल्दिभ्स र श्रीलंकालाई हराएको थियो ।
यसैबीच, सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेको छ । सोमबारकै मन्त्रिपरिषद् बैठकले उनलाई हटाएको हो । त्यसैगरी राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यष देवराज रोका पनि बर्खास्तीमा परेका छन् ।
ताजकिस्तान जाँदै यु–२३ टोली
अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू–२३ एसियन कप छनोट खेल्ने नेपाली यु–२३ राष्ट्रिय फुटबल टोली मंगलबार ताजकिस्तान प्रस्थान गर्दै छ । सोमबार दशरथ रंगशालामा अन्तिम तयारी गरेको नेपाली टोलीले बलिया टोलीसँग राम्रो प्रदर्शन गरेर अघिल्लो चरणमा स्थान बनाउने लक्ष्य लिएको छ ।
उज्वेकिस्तानमा सन २०२२ मा आयोजना छनोट खेलका लागि राष्ट्रिय टोलीमा अटाएका मनिष डाँगी, सुमन अर्याल, आयुष घलानलाई समेट्दै मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले २३ सदस्सीय नेपाली टिमको घोषणा गरेका छन् । फिफा वरियतामा नेपाल भन्दा माथि रहेका टोलीसँग नेपालले छनोट खेल्दै छ । टोलीमा अहिले युवा खेलाडीको बाहुल्यता रहेको छ भने केही राष्ट्रिय टोलीबाट अनुभव लिएका खेलाडी पनि समावेश भएका छन् । यसै कारण प्रशिक्षक बाल गोपाल महर्जनले छोटो तयारीका बाबजुद पनि नेपाली टोली बलिया टोलीसँग राम्रो नतिजाका लागि खेल्ने बताए ।
प्रशिक्षक बालगोपल महर्जनले भने जस्तै नेपाली टोलीका गोलकिपर अर्पण कार्कीले युवा खेलाडीमा जोश भएकाले बलिया देशविरुद्ध राम्रो नजिताका लागि खेल्ने प्रतिक्रिया दिए । यस्तै युवा स्ट्राइकर अभिसेक रिजालले बलियो टोलीविरुद्ध शतप्रतिशत दिएर खेल्ने बताए ।
छनोट अन्तर्गत नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान समावेश छन ।
ताजिकिस्तानमा हुने छनोट खेल आगामी अक्टोबर २३ देखि ३१ सम्म हुनेछ । नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ ।
यस्तै दोस्रो खेलमा आयोजक ताजकिस्तानसँग अक्टोबर २८ मा प्रतिस्पर्धा गदा अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ । छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्ने मौका पाउनेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन । उज्वेकिस्तानमा नै हुने प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म आयोजना हुने तालिका रहेको छ ।