कार्ड, एंगिस्ट र इम्बेन्सलाई अर्थशास्त्रमा २०२१ को नोबेल पुरस्कार «

कार्ड, एंगिस्ट र इम्बेन्सलाई अर्थशास्त्रमा २०२१ को नोबेल पुरस्कार


अमेरिकी अर्थशास्त्रीत्रय डेभिड कार्ड, जोस्ह्वा एंगिस्ट र गुइडो इम्बेन्सले संयुक्त रूपमा यस वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाएका छन् ।
नोबेल पुरस्कारका विभिन्न विधामध्ये प्रमुख मानिने अर्थशास्त्रतर्फको यस वर्षको पुरस्कार तीन जना अर्थशास्त्रीलाई दुईवटा सोधका लागि दिइएको पुरस्कार छनौट समितिले जनाएको छ । जसमध्ये डेभिड कार्डलाई उनको श्रम अर्थशास्त्रमा यसअघि उजागर नभएको अनुभवजन्य योगदान (इम्पेरिकल कन्ट्रिब्युसन टु लेबर इकोनोमिक्स) का लागि दिइएको समितिले जनाएको छ ।
यस्तै अन्य दुई अर्थशास्त्री एङ्ग्रिस्ट र इम्बेन्सलाई सम्बन्धित दुई घटनामा कारण तथा प्रभावको सम्बन्धबारे विश्लेषण (मेथोडोलोजिकल कन्ट्रिब्युसन टु द एनालाइसिस अफ कजल रिलेसनसिप्स) का लागि पद्दतीगत योगदानका लागि यस वर्षको अर्थशास्त्रमा नोबेलबाट सम्मानित गरिएको हो ।
एक करोड स्विडिस क्रोनार बराबरको पुरस्कार राशी रहेकोमा यसको आधा हिस्सा डेभिड कार्डलाई तथा बाँकी एंगिस्ट र इम्बेन्सलाई आधा÷आधा जाने स्वीडिस एकेडेमी अफ साइन्सले जनाएको छ ।
सन् १९६९ मा स्थापना गरिएको यो पुरस्कार अहिलेसम्म ५२ पटक दिइसकिएको छ ।
नोबेल बिजेतामध्येका डेभिड कार्ड क्यालिफोर्निया विश्वविद्यालयका हुन् भने जोस्ह्वा एंगिस्ट म्यासाच्युसेट्स इन्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) का र गुइडो इम्बेन्स स्ट्यान्फोर्ड विश्वविद्यालयका हुन् ।
द रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले अर्थतन्त्र विज्ञानमा यी तीनै जना अनुसन्धानकर्ताले प्रमाणमा आधारित कामलाई पूर्णरुपमा नयाँ आकार दिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्